तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बबई नदीको भाले घडियाल नारायणीमा
बबई नदीबाट शनिवार एउटा भाले घडियाल ल्याएर चितवन राष्ट्रिय निकुञ्ज नजिकैको नदीमा छाडिएको अधिकारीहरुले बताएका छन्।
चितवन राष्ट्रिय निकुञ्जका नारायणी र राप्ती नदी गत वर्षदेखि भाले घडियाल विहीन हुन पुगेका थिए।
त्यहाँको प्राकृतिक बासस्थानमा नभएपछि भाले घडियाल ल्याएर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र कंडेलले बताए।
उनले भने, "भएको पनि एउटा भाले गोही मरेकोले र अहिले प्रजनन गर्ने समय भएकोले पनि हामीले बबईबाट ल्याएर छाडेका हौँ।"
बासस्थान
उक्त गोही नारायणी नदी र राप्ती नदीको दोभानभन्दा केही तल खोरिया मुहान क्षेत्रमा छाडिएको उनले जनाए।
बाघ र गैंडाभन्दा अति संकटापन्न अवस्थामा रहेको घडियालको भाले नहुँदा गोही नै लोप हुने हो कि भन्ने संरक्षणवादीहरुमा चिन्ता छ।
प्राकृतिक बासस्थानमा घडियालको भाले नभएपछि भारतबाट ल्याउन अध्ययन भइरहेको वार्डेन कंडेलले बताए।
उनले भने, "यसले आनुवंशिक विविधता कायम गर्नका लागि पनि मद्दत गर्छ र हामी त्यो प्रयासमा लाग्नेछौँ।"
घडियालको बासस्थान वरपर मानव चाप बढ्दै जानु, नदी प्रदूषित हुँदै जानु र नदीमा अनधिकृत रुपमा माछा मार्न महाजालको प्रयोग गरिनु तथा नेपाल-भारत सिमानामा पर्ने नदीमा बनाइएका बाँधका कारण गोही संकटमा पर्दै गएको संरक्षणकर्मीहरु बताउँछन्।
नेपालका नारायणी, राप्ती, बबई र कर्णाली नदीमा मात्र पाइने घडीयालको संख्या १ सय ९८ वटा रहेको छ।
तीमध्ये चितवनमा १ सय ६५ वटा पोथी घडीयाल रहेको अधिकारीहरुले बताएका छन्।