कोरोना भाइरस यूकेः घरपालुवा बिरालोलाई पनि सङ्क्रमण

तस्बिर स्रोत, Getty Images
यूकेको एउटा घरपालुवा बिरालोमा परीक्षणका क्रममा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।
विज्ञहरूका अनुसार यूकेमा घरपालुवा जनावरमा कोरोनाभाइरस पुष्टि भएको यो पहिलो पटक हो।
यद्यपि यसको अर्थ घरपालुवा जनावरबाट मानिसहरूमा सङ्क्रमण फैलिरहेको भन्ने नभएको उनीहरूको भनाइ छ।
उक्त बिरालोमा त्यसका मालिकबाट सङ्क्रमण सरेको ठानिएको छ।
सुझाव
बिरालोका मालिकमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। अहिले दुवै निको भइसकेका छन्।
स्वास्थ्य अधिकारीहरूले यो एकदमै विरल घटना भएको र चिन्ताको विषय नभएको बताएका छन्।
यूकेकी प्रमुख भेटेरिनरी अधिकारी क्रिस्टिन मिडलमिसले भनिन्, "यो एकदमै विरल घटना हो। सङ्क्रमित घरपालुवा जनावरमा हल्का खालका लक्षण देखिएका थिए र केही दिनभित्र निको भयो।"
"घरपालुवा जनावरले मानवमा सिधै सङ्क्रमण सार्छन् भन्ने प्रमाण देखिएको छैन।"
"हामीले यसलाई नजिकबाट नियालिरहेका छौँ र स्थितिमा बदलाव देखिएमा हामीले घरपालुवा जनावर राख्नेहरूको हकमा आवश्यक निर्देशिका अद्यावधिक गर्नेछौँ,"उनले थपिन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

पब्लिक हेल्थ इङ्ग्ल्यान्डका स्वास्थ्य सुरक्षा निर्देशक इभान डोयल जनावरलाई छोएपछि र छुनुअघि नियमित रूपमा हात सफा गर्न मानिसहरूलाई सुझाउँछन्।
सङ्क्रमित व्यक्तिको सम्पर्कमा आउने घरपालुवा जनावरको रौँमा भाइरस रहिरहन सक्छ।
युरोप, उत्तर अमेरिका तथा एशियामा एकदमै कम सङ्ख्यामा घरपालुवा जनावरहरूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका छन्।
ब्रिटिश भेटेरिनरी एसोशिएशनकी अध्यक्ष ड्यानिएला डोस सान्तोस भन्छिन्, "कोभिड १९ भएका वा आइसोलेशनमा बसिरहेका घरपालुका जनावरका धनीहरूलाई हामी तिनीहरूसँग घुलमिल नगर्न तथा नियमित रूपमा हात धुने जस्ता सुरक्षाका उपाय अपनाउनका निम्ति आह्वान गर्छौँ।"
यदि बिरालाहरू घरभित्रै खुशी रहन सक्छन् भने भित्रै राख्न उनको सुझाव छ।
गत एप्रिल महिनामा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो।
चार वर्ष उमेर पुगेकी उक्त बघिनीबाट सङ्कलित नमुनामा भाइरस भेटिएको आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको थियो।








