कोरोना भाइरस नेपालः पर्सामा पाँच थुनुवासहित देशभरि १३३ सङ्क्रमित थपिए, एक वृद्धाको मृत्यु

तस्बिर स्रोत, Getty Images
नेपालमा थप १३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक व्यक्तिको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
यससँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,३७४ पुगेको छ। अहिलेसम्म ४४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
मन्त्रालयका अनुसार कोभिड-१९ पुष्टि भएका मानिसमध्ये अहिलेसम्म १२,९४७ रोगमुक्त भएका छन्।
अधिकांश सङ्क्रमितमा रोगको लक्षण नै नदेखिएको तर पीसीआर परीक्षणमा कोरोनाभाइरस पाइएको सरकारको भनाइ छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले सङ्क्रमण भएका कुल ५,३८३ व्यक्ति देशभरि आइसोलेशनमा छन्। केही स्थानमा सङ्क्रमितहरूलाई घरमै अलग्ग बस्ने अनुमति पनि दिइएको छ।
गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।
मन्त्रालयले मङ्गलवार १५०, बुधवार १०० र बिहीवार १४७ जनामा सङ्क्रमण पुष्टि भएको विवरण दिएको थियो।
केही सातादेखि भारतबाट घर फर्किने मानिसको सङ्ख्या ह्वात्तै घटेको बताइन्छ। त्यसो हुँदा क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या कम हुँदा सङ्क्रमित फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।

को हुन् मृतक?
शुक्रवार बिहान मृत्यु भएकी व्यक्ति पर्साकी ८५ वर्षीया महिला भएको मन्त्रालयले जनाएको छ।
मुटुको समस्याबाट पीडित ती वृद्धामा स्वास्थ्यसम्बन्धी अरू समस्या देखिएपछि केही दिनअघि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो।
उपचारका क्रममा कोरोनाभाइरस सङ्क्रमणको लक्षण देखिएको र नमुना सङ्कलन गरी परीक्षण गर्दा उनमा कोभिड-१९ पुष्टि भएको गण्डकस्थित अस्थायी कोभिड अस्पतालका डा. उदय नारायण सिंहले बताएका छन्।
उनलाई बुधवार आइसोलेशनमा राख्न उक्त अस्पतालमा सारिएको थियो। उनमा निमोनिया पनि देखिएको थियो।
को हुन् सङ्क्रमित?
अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्ला हुन्।
तीमध्ये पर्सा जिल्लामा ३२ जना छन्।
पर्साको स्थिति के छ?
वीरगन्जस्थित बीबीसी संवाददाता माधुरी महतोका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि हुनेमध्ये प्रहरी हिरासतमा रहेका पाँच थुनुवा पनि छन्।
थुनुवामा सङ्क्रमण देखिएपछि वडा प्रहरी कार्यालय श्रीपुर सील गरिएको छ।
यसअघि बुधवार एक वृद्धमा मरणोपरान्त र दुई चिकित्सकसहित १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
जिल्लामा सङ्क्रमित थपिने क्रम नरोकिएकाले जिल्ला प्रशासन कार्यालयले शनिवार बिहान ५ बजेदेखि पर्सामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

अरू तथ्याङ्क के छ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ३,९८७ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा १०७ जना कोरोनाभाइरसमुक्त प्रमाणित भएका छन्।
अहिले देशभरिका क्वारन्टीनमा १९,४४४ जना छन्।
नेपालमा पुष्टि भएका अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।
तीमध्ये पनि २०-४० वर्ष उमेर समूहका व्यक्ति सर्वाधिक भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको कुल सङ्ख्या ४,००० नाघेको छ।








