नेपाल मौसमः आइतवारसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान, पहाडी जिल्लाहरू बढी प्रभावित हुने

अविरल वर्षासँगै नेपालमा विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको सरकारी निकायहरूले जनाएका छन्।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतवार सम्म कन्काइ, कोशी, कमला, वाग्मती र नारायणी नदी तथा तिनका सहायक नदीमा पानीको बहाव बढ्ने खतरा छ।

त्यस्तै कास्कीको पोखरा, लुम्लेलगायतका धेरै स्थान, लमजुङ, पर्वत, बागलुङ र नजिका क्षेत्रमा ठूलो वर्षा मापन गरिएको र थप वर्षा हुने सम्भावना रहेको बताइएको छ।

ती क्षेत्रका साना खोलामा आकस्मिक बहाव हुनसक्ने सरकारी निकायहरूले जनाएका छन्।

के छ पूर्वानुमान?

"बिहीबारदेखि आइतवारसम्म प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती, प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरिएको छ," प्राधिकरणले बुधवार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

खासगरी प्रदेश नं १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा दिनहरूमा ठूलो बाढी आउन सक्ने हुँदा उक्त क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन सरकारले आग्रह गरेको छ।

त्यस्तै बुधवार राति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा जनधनको क्षति भएको विवरण प्राप्त भएको छ।

नेपालमा पछिल्लो एक महिनामा बाढी, पहिरो र चट्याङका कारण दर्जनौँ मानिसले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ।

बुधवारको तथ्याङ्क अझै प्राप्त सङ्कलन हुन बाँकी भएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन्।

बढी प्रभाव कहाँ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार बिहीवारदेखि चार दिनसम्म पानी पर्ने पूर्वानुमानका आधारमा पहाडी जिल्लाहरू बढी प्रभावित हुने अवस्था छ।

"पानी तराईमा बढी पर्ने देखिन्छ। पहिरोको जोखिम पहाडमा बढी हुँदा त्यहाँ समस्या बढी हुनसक्छ," उनले भने

"२०७२ सालको भूकम्पले जमिन थिलथिलो पारेको र यसपालिको प्रि-मनसुन तथा पछिल्लो २६-२७ दिनदेखि मनसुन सुरु भएपछि औसतभन्दा बढी पानी परेको अवस्था छ।"

त्यसैले पहाडी भूभागमा पहिरोको जोखिम उच्च भएको उनले बताए।

कोशी नदीसँग जोडिएका क्षेत्रमा रहेका स्थानहरूमा अबको चार दिनसम्म जोखिम बढी हुने र त्यसपछिको अवस्थामा भने तराईमा झापादेखि नवलपरासीका होचो क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना रहेको उनले जानकारी दिए।

सिन्धुपाल्चोकमा कैयौँ बेपत्ता

- निराशी थामी

बुधवार रातिको भीषण वर्षासँगै आएको बाढी तथा पहिरोले सिन्धुपाल्चोकको विभिन्न स्थानमा धेरै क्षति भएको बताइएको छ। तर क्षतिको पूर्ण विवरण आइसकेको छैन।

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बाह्रबिसे नगरपालिका-५ को जम्बु भनिने ठाउँको १२ वटा घर र दुईवटा टहरा बगाउँदा एक दर्जनभन्दा बढी मानिस बेपत्ता भएका छन् भने दुई जनाको शव फेला परेको सिन्धुपाल्चोकका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार ३० वर्षीय निकेश बस्नेत र उनकी डेढ वर्षीया छोरी युना बस्नेतको शव फेला परेको छ।

बाढीमा परी बेपत्ता भएका १४ जनाको खोजी भइरहेको र चार घाइतेलाई उपचारका लागि पठाइएको काफ्लेले बताए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

बाह्रबिसे नगरपालिका-३ को खागदलमा स्थानीय खहरे खोलासँगै आएको पहिरोले २० घर बगाएको प्रहरीले बताएको छ। पहिरोले केही सवारीसाधनहरू बताएको छ।

भोटेकाशी गाउँपालिका-५को बुलकोटीमा दुई घर बगाउँदा दुई जना घाइते भएको र चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

विभिन्न ठाउँमा पहिरो आएकाले उद्धार कार्यमा समस्या आएको बताइएको छ।

अहिले विभिन्न ठाउँमा बाटो अवरुद्ध भएकाले घटनास्थलमा हिँडेर जानुपर्ने अवस्था रहेको र टेलिफोनको नेटवर्कले राम्ररी काम नगर्दा सम्पर्क गर्न समस्या भइरहेको बताइएको छ ।

के छ सरकारको तयारी?

जोखिम कम गर्न आफूहरूले खतरा बढी रहेको क्षेत्रका सर्वसाधारणहरूलाई एसएमएस, सामाजिक सञ्जाल तथा विभिन्न भाषामा स्थानीय रेडिओमार्फत् सूचना सम्प्रेषण गरिरहेको अधिकारीहरूको भनाइ छ।

खतराको सम्भावना रहेका सबै जिल्लाका प्रशासन कार्यालयहरूलाई सतर्क गराइएको र तीन तहकै संयन्त्रसँग मिलेर काम अघि बढाइएको बताइएको छ।

प्राधिकरणका अनुसार मौसममा देखिएको परिवर्तनको प्रभाव प्रदेश नं १ देखि गण्डकी प्रदेशसम्म पर्नेछ।

"हामी कुनकुन क्षेत्रमा बढी प्रभाव पर्छ भन्ने विषयमा अध्ययन गर्दैछौँ। आजै साँझसम्म बढी प्रभावित क्षेत्र समेटिएको 'म्यापिङ' सार्वजनिक गर्ने गरी काम गरिरहेका छौँ," उनले भने।

सँगसँगै वर्षाको विपद् र कोभिड महामारी

नेपालमा मनसुनको समयमा बाढी र पहिरोलगायत अन्य विपद्का कारण हुने क्षति न्यूनीकरण गर्नका लागि सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७७ तयार पारेको थियो।

तयारी अवस्थामा रहन आवश्यक भएकाले उक्त योजना तयार पारिएको र त्यसैअनुरूप पछिल्लो समयमा काम कारबाही अघि बढाएको सरकारको भनाइ छ।

योजनामा यस वर्ष बाढी, पहिरो तथा पानीजन्य रोगहरूको समेत सम्भावना आकलन गरी वर्षायाममा ३० लाख विपद्का सम्भावित घटना हुने अनुमान गरिएको छ।

उक्त दस्ताबेजमा साउनको दोस्रो र तेस्रो साता बाढी, पहिरोलगायत पानीजन्य अन्य विपद् एकै पटक खप्टिने सम्भावना देखिएको र कोभिड-१९ सङ्क्रमणको उत्कर्ष पनि त्यसै बेला पुग्ने आकलन गरिएको उल्लेख गरिएको छ।

भारतले सीमावर्ती क्षेत्रमा बनाएका तटबन्ध, बाँध, अग्ला सडक, रेलमार्ग, ब्यारेज र नहर प्रणालीलगायत संरचनाका कारण पनि तराईका बस्ती र खेतबारीमा बाढी, डुबान, कटान तथा पटानको जोखिम उच्च बनाइदिएको उल्लेख गरिएको छ।

बाढी र पहिरोको प्रकोप हुँदा औलो, डेङ्गी, कालाजार, इन्सेफलाइटिस, कमलपित्त र झाडापखाला जस्ता पानीजन्य रोगको जोखिम पनि उच्च हुने उक्त दस्ताबेजमा उल्लेख छ।