तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस भारतः हतारमा कोभिड-१९ को खोप ल्याउने योजनाविरुद्ध वैज्ञानिकहरूको चेतावनी
भारतमा कोभिड-१९ विरुद्ध निर्माण भइरहेको खोप सर्वसाधारणमा प्रयोग गर्नेगरी ल्याउन निर्धारित समयसीमा अपत्यारिलो भएको भन्दै वैज्ञानिकहरूको एउटा समूहले त्यसो गर्न सम्भव नहुने बताएका छन्।
भारतीय विज्ञान प्रतिष्ठानले "हतारमा पूर्ण वैज्ञानिक प्रक्रिया तथा मापदण्डमा सम्झौता हुने खालको उपाय" विरुद्ध चेतावनी दिएको छ।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले अगस्ट १५ तारिखका दिन कोभिड-१९ विरुद्धको खोप मानिसहरूमा प्रयोगमा ल्याउने आफूले परिकल्पना गरेको जनाएको थियो। अगस्ट १५ तारिखमा भारतको स्वतन्त्रता दिवस पर्छ।
तर पछि आईसीएमआरले आफूले “समयसीमा” निर्धारण नगरेको बताएको छ।
विवाद कसरी सुरु भयो?
मानवमा कोभ्याक्सीन नामक खोपको परीक्षणका लागि १२ वटा संस्थालाई चयन गरिएको भन्दै आईसीएमआरका प्रमुख बलराम भार्गवले लेखेको पत्र सार्वजनिक भएपछि विवाद सुरु भएको हो।
सामाजिक सञ्जालमा उक्त पत्रबारे व्यापक चर्चा भएको थियो।
अगस्ट १५ तारिखका दिन प्रयोगमा ल्याउन सुरु गर्न सकियोस् भन्दै अनुमोदनसम्बन्धी सबै प्रक्रियाहरू द्रुत गतिमा पूरा गरी मानवमाथिको परीक्षणलाई तीव्र बनाउन पत्रमा भनिएको थियो।
निर्देशनको अवज्ञा गरेको खण्डमा त्यसलाई “गम्भीर रूप”मा लिइने भनिएको थियो।
त्यसमा झन् द्विविधा थप्दै भारतको विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघिको वक्तव्यबाट एउटा वाक्य हटायो।
त्यो वाक्यमा भनिएको थियोः विकासको क्रममा रहेका कोभ्याक्सीनसहित कुनै पनि खोप सन् २०२१ अघि सर्वसाधारण मानसिमा प्रयोगमा जाने देखिँदैन।
त्यो कुराले व्यापक विरोध र आलोचना निम्त्यायो। धेरैले अगस्ट १५ तारिखको समयसीमा देखावटी भएको र त्यसले भारतप्रतिको विश्वसनीयतामा गम्भीर असर पुर्याउने बताए।
भारतीय विज्ञान प्रतिष्ठानका प्रमुखले आईसीएमआरले खोप परीक्षणका लागि घोषणा गरेको समयलाई “नसुनिएको” स्थानीय सञ्चारमाध्यमलाई बताए।
स्पष्टीकरण
यद्यपि त्यसयता आईसीएमआरले आफ्ना भनाइबारे स्पष्ट पार्दै अगस्ट १५ तारिख समयसीमा नभएको जनाएको छ।
भारतीय पत्रिका मिन्टले आईसीएमआरका एक अधिकारीलाई उद्धृत गर्दै प्रारम्भिक कुरालाई गलत रूपमा बुझिएको जनाएको छ।
एउटा खोपको विकासमा सामान्यतया यदि दशकौँ होइन भने वर्षौँ लाग्न सक्छ।
यद्यपि अनुसन्धानकर्ताहरूले त्यति काम केही महिनाभित्रै गरिसक्ने प्रयास गर्दैछन्।
अधिकांश विज्ञहरूलाई लाग्छ कोभिड-१९ विरुद्धको खोप सन् २०२१ को मध्यसम्ममा उपलब्ध हुन सक्छ।
त्यो भनेको नयाँ कोरोनाभाइरस पहिलो पटक देखिएको समयदेखि १२-१८ महिनाको अन्तराल हुन्छ।
यदि त्यसो भयो भने त्यो ठूलो वैज्ञानिक उपलब्धि हुनसक्छ। तर त्यसले काम गर्छ भन्ने कुराको निश्चित छैन।
यो पनि हेर्नुहोस्