तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेकपा विवाद: सामाजिक सञ्जालमा नेताहरू कटाक्षदेखि सहमतिको आह्वानसम्म गर्दै
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विवाद शीर्ष नेताहरूबीच विवाद चुलिएपछि दल विभाजित हुने आशङ्का बढेको छ। त्यही परिप्रेक्ष्यमा उक्त दलका नेताहरूले सामाजिक सञ्जालबाट आफ्नो धारणा व्यक्त गरिहेका छन्।
विभिन्न गुटहरू भएको मानिएको उक्त दलका नेताहरू फेसबुक र ट्विटरमा विभिन्न ढङ्गमा प्रस्तुत भएका छन्।
अधिकांश नेताहरूले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा एकजुट भएरै अघि बढ्नुपर्ने मत राखेका छन् भने अन्य केहीले सामाजिक सञ्जालको प्रयोग एकअर्का प्रति कटाक्ष गर्न प्रयोग गरेका छन्।
कतिपयले भने आ-आफ्नो गुट र नेताको प्रतिरक्षा गर्न वा साङ्केतिक रूपमा विभिन्न विषयमा आफ्नो मत राख्न पनि ट्विटर र फेसबुकको प्रयोग गरिरहेको देखिन्छ।
पैँतालीस सदस्य रहेका नेकपा स्थायी समितिमा अधिकांशले प्रधानमन्त्री तथा दुईमध्येका एक अध्यक्ष केपी शर्मा ओलीले दुवै वा कुनै एउटा पदबाट राजीनामा गर्नुपर्ने माग गरेसँगै फेरिएको राजनीतिक परिदृश्य पेचिलो बन्दै गएको छ।
विवाद चर्किँदै गएका बेला बिहीबार ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएर सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गराएका थिए।
लगत्तै राष्ट्रपति विद्या भण्डारीले संसद्को दुवै सदनको अधिवेशन अन्त्य भएको घोषणा गरेकी थिइन्।
उक्त कदमले विवाद झन् चुलिँदै गएको भनिएको सत्तारूढ दल फुटको सँघारमा पुगेको हुन सक्ने अड्कलबाजीलाई बल दिएको जानकारहरूले बताइरहेको छन्।
पार्टी एकतामा खतरा देखिएको भन्दै शीर्ष नेताहरूबीच राजनीतिक सहमति जुटाउने प्रयासमा उक्त दलको स्थायी कमिटीको बैठकलाई शनिवार बिहानसम्म स्थगित गरिएको छ।
विभिन्न तहका नेताहरू सक्रिय बैठकको चाप बढेको विवरणहरू चर्चामा आइरहेका छन्।
नेकपाको नौ-सदस्यीय सचिवालयमा पनि भएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो फेसबुकमा पार्टीमा पद्धतिको सीमा मिचेर आमजनताको मत अमिलो पार्ने काम भएको उल्लेख गरेका छन्।
पोखरेल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली निकटस्थ मानिन्छन्।
अर्का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको अन्तर्सङ्घर्ष कुनै व्यक्ति वा व्यक्तिहरूको स्वार्थमा केन्द्रित हुनु नहुने टिप्पणी गर्दै रूपान्तरणमुखी बहसमा सहभागी हुन आह्वान गरेका छन्।
शुक्रवार दिउँसो गरेको ट्वीटमा उनले लेखेका छन्, "छातीमा हात राखौँ र सोचौँ।"
यसअघि बिहीवार राति गरेको ट्वीटमा दुई पार्टीको एकता 'ऐतिहासिक महत्त्वको महान् कार्य' रहेको उल्लेख गर्दै प्रतिक्रियावादी शक्तिको चाहना पूरा गर्नेगरी र पार्टीको विघटन गर्ने कार्य स्वीकार्य हुन नसक्ने उल्लेख गरेका छन्।
श्रेष्ठलाई नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल निकटस्थ मानिन्छन्।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री पनि रहेका अर्का पार्टी नेता शङ्कर पोखरेलले पार्टी एकताको रक्षा गर्नु दुवै अध्यक्षको कर्तव्य रहेको टिप्पणी गरेका छन्।
पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले दुई अध्यक्षको सहमतिका आधारमा नेकपा बनेको र विधानले सहमति भनेका कारण महाधिवेशनबाट निर्णय लिइनुपर्ने आशय व्यक्त गर्दै ट्वीट गरेका छन्।
बास्कोटा र पौडेल दुवै ओली निकट मानिन्छन्।
नेत्री शान्ता चौधरीले हस्तान्तरण नै विकल्प भए पुस्तान्तरण गरौँ भन्दै ट्वीट गरेकी छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालनजिक मानिने विष्णु रिजालले भने एकता तोड्नेले नै विदेशी शक्तिको सेवा गरेको ठहर्ने भन्दै ट्वीट गरेका छन्।
पार्टी एकतामा देखिएको समस्याकाबीच सामाजिक सञ्जालमा केही नेकपा नेताहरूले राखेका भनाइहरूलाई यहाँ समेटेका छौँ।
पूर्वमाओवादी नेता बाबुराम भट्टराईले पनि नेकपाको विवादबारे टिप्पणी गरेका छन्।