केपी शर्मा ओली: बेसारसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे चिकित्सक र सर्वसाधारण के भन्छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता यसका बारेमा दिएका सुझावहरूलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणीहरू हुने गरेका छन्।

प्रधानमन्त्रीमा कतिपय भनाइमा आमनागरिक र चिकित्सकहरूले आपत्ति जनाएर आफ्ना धारणा राख्ने गरेका छन्।

बिहीवार संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा बोल्ने क्रममा प्रधानमन्त्रीले बेसारबारे बोलेका कुरा अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

उनले भनेका थिए, "कोरोनाभाइरस भनेको एउटा रुघाखोकी जस्तो हो। लागिहाल्यो भने हाँच्छियु साँच्छियु गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ।"

कोरोनाभाइरसको महामारीको बेला प्रधानमन्त्रीको पदमा बसेर हल्का र आफ्नो विज्ञता नभएको विषयमा टिप्पणी गरेको भन्दै उनको आलोचना भएका छन्।

बिहीवार नै उनले भनेका थिए, "बेसार पनि कुनै-कुनै अवस्थामा खान हुँदैन। जन्डिस लागेको छ भने रक्तअल्पत्ता भएको छ भने बेसार खानु हुँदैन।"

"गर्भवती र सुत्केरी महिलाले बेसार खान हुँदैन। आइरन र ब्लडको कमी छ भने बेसार खानु हुँदैन।"

उनको यो अभिव्यक्तिपछि वीर अस्पतालका प्रा. डा. सुधांशु केसीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई 'गलत सूचना' भन्दै ट्वीट गरेका छन्।

डा. केसीले बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै त्यस्तो गलत सूचना प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहेको मानिसले दिँदा त्यसले जनमानसमा गलत सन्देश जाने बताएका छन्।

उनले भने,"जण्डिस लागेका बेला बेसार खानुहुँदैन भन्ने कुरा सरासर गलत हो।"

"हामीले तरकारी पकाउँदा बेसारको प्रयोग गर्ने हो, त्यो सुत्केरीले पनि खान हुन्छ, शल्यक्रियाभन्दा अगाडि पनि खान हुन्छ।"

'हचुवामा बोल्नु हुँदैन'

प्रधानमन्त्री ओलीले बेसारले रगत पातलो बनाउँछ भन्दै शल्यक्रिया गर्नुभन्दा दुई-तीन दिनअघि देखि खान नहुने बताएका थिए।

बेसार खाएकै कारण कुनै बिरामीको शल्यक्रिया नै रोकिएको भन्ने आफूले अहिलेसम्म नसुनेको पनि डा. केसीले बताए।

"धेरै मात्रा भए खान नहुने हो। हामीकहाँ त्यस्तो छैन। प्रधानमन्त्रीले भनेको कुरा आममानिसलाई विद्यालयमा शिक्षकको कुरामात्रै बालबालिकाले मानेजस्तो हो।"

"गुगलमा लेखिएको वा पढेको कुरा कति आधिकारिक हो भनी नजाँची हचुवामा बोल्नु हुँदैन।"

सांसदमाथि प्रश्न

पत्रकार विजयकुमार पाण्डेले आफ्नो ट्वीटमा प्रधानमन्त्रीले बोलेको विषयमा सांसद्हरूले कुरा उठाउनुपर्ने बताएका छन्।

उनले लेखेका छन्, "माननीय सांसदहरू, हास्यचेत र मूर्खता फरक कुरा हुन्। पत्र-पत्र गरेर नेपालका संस्थाहरू पत्रु हुँदैछन।"

"ईम्युनिटी र बेसार पानीबारे संसद्‌मा त्यति लामो प्रवचन भइराख्दा, तपाईँको मनमा आएन कि सिटबाट उठेर भनौँ 'प्रमज्यू, यो न मजाकको विषय हो, न मजाकको थलो हो'।"

सञ्जारमाध्यममा विभिन्न विषयमा कलम चलाउँदै आएकी साबित्री गौतमले पनि यस विषयमा संसद्‌मा प्रश्न नउठेको भन्दै ट्वीट गरेकी छन्।

मीरा ढकालले पनि प्रधानमन्त्रीले बोलेका विषयलाई लिएर सांसदहरूप्रति टिप्पणी गरेकी छन्।

उनले लेखेकी छन्, "के हो भनेर प्रवचन दिने प्रधानमन्त्री, प्रधानमन्त्रीको वाहियात बेसार पुराणमा ताली/टेबल ठोक्ने सांसद। महामारीलाई मजाक बनाउने प्रधानमन्त्री र मजाक अनुमोदन गर्ने सांसदहरू।"

'मेडिकल काउन्सिल बोल्नुपर्छ'

अर्का चिकित्सक रामेश कोइरालाले प्रधानमन्त्रीको यो भनाइबारे नेपाल मेडिकल काउन्सिलले विज्ञप्ति निकाल्नुपर्ने बताएका छन्।

करिब दुई महिनाअघि प्रधानमन्त्रीले तातोपानी खाँदा वा बाफ लिँदा कोभिड-१९ को सङ्क्रमण नहुने बताएका थिए।

त्यतिबेला पनि प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो।

डा. कोइरालाले अर्को ट्वीटमा कोरोनाभाइरसबारे भ्रम फैलाएको कसुरमा कति वर्ष कैद सजाय हुन्छ भनेर ट्वीट गरेका छन्।

कोरोनाभाइरसबारे सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना फैलाउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने भन्दै नेपाल प्रहरीले वैशाखको पहिलो साता तीन जनालाई पक्राउ गरेको र एक जना पत्रकारलाई कारबाही गर्न प्रेस काउन्सिललाई सिफारिस गरेको थियो।

भ्रामक सूचना फैलाउनेलाई कारबाही

मुलुकी अपराधसंहितामा झुटा अफवाह फैलाए एक वर्षसम्म कैद वा १०,००० रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ता निरोज पौडेलले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय सही भए पनि सन्देश भ्रमपूर्ण भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, "सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईँले जनताको मनोबल उच्च बनाउने नियतले बोल्न खोज्नुभएको होला। तर, अहँ हुँदै भएन। गलत भयो।"

"नजानेको विषयमा कि त विज्ञलाई बोल्न लगाउनूस् कि त विज्ञलाई भाषण लेख्न लगाएर खर्रर्र पढ्नुहोस् कि त बोल्दै नबोल्नुहोस्।"