तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतीय सेनापति भन्छन्, "नेपालसँगको सम्बन्ध सधैँ बलियो रहनेछ"
भारतको सेनाप्रमुख जनरल मनोज मुकुन्द नरवणेले नेपालसँग भारतको सम्बन्ध सधैँ बलियो रहेको र बलियो रहिरहने टिप्पणी गरेका छन्।
भारतको देहरादूनमा नेपालसँगको जारी विवादबारे बोल्दै उनले शनिवार उक्त टिप्पणी गरेका हुन्।
यसअघि उनले नेपालले अरूकै इशारामा सीमा विवाद उचालेको सङ्केत गरेको अभिव्यक्ति विवादास्पद बनेको थियो।
नेपालको संसद्को तल्लो सदनले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापको अङ्ग बनाउनेसम्बन्धी संविधान संशोधन पारित गर्ने प्रक्रिया थाल्नु केही घण्टा अगाडि आएको उनको पछिल्लो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
भारतको विदेश मन्त्रालयले नेपालको नयाँ नक्सा प्रकाशनसम्बन्धी क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेको थियो।
भारतले असन्तुष्टि जनाउँदै यस विषयमा नेपालसँग कुराकानी गर्नबाट समेत तर्किरहेको विदेश मामिला विज्ञहरू ठान्दछन्।
के भने भारतीय सेनापतिले?
"नेपालसँग हाम्रो सधैँ बलियो सम्बन्ध छ। हामीबीच भौगोलिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्बन्ध छ।"
"नेपाल र भारतका मानिसबीच पनि बलियो सम्बन्ध छ। उनीहरूसँग हाम्रो सम्बन्ध सधैँ बलियो रहेको छ र भविष्यमा पनि बलियो रहिरहनेछ," शनिवार भारतीय सेनापतिले भनेका छन्।
झन्डै एकमहिना अगाडि कालापानी सीमा विवादलाई लिएर सेनापति नरवणेले सार्वजनिक रूपमै नेपालले "यो विषय अरूकै इशारामा उचालेको हुनसक्ने" टिप्पणी गरेका थिए।
उनको अप्रत्यक्ष सङ्केत सम्भावित चिनियाँ हस्तक्षेपप्रति रहेको ठानिएको थियो।
उनको सो टिप्पणी नेपालका लागि अपमानजनक भएको नेपालका रक्षामन्त्रीले सञ्चारमाध्यमलाई बताएका थिए।