कोरोना भाइरस: अमेरिकापछि कोभिड-१९ को सबैभन्दा धेरै मृत्यु ब्राजिलमा

ब्राजिलमा कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या विश्वमै दोस्रो धेरै अर्थात् ४१ हजार नाघेको छ।

यसअघि ब्रिटेनले सबैभन्दा धेरै भाइरससँग जोडिएका मृत्युका घटना रहेको अमेरिकालाई पछ्याइरहेको थियो।

उत्तर एवम् दक्षिण अमेरिकी देशहरूमा मात्र यतिखेर विश्वभर पुष्टि भएका सङ्क्रमितको आधा सङ्ख्या छ।

केन्द्रविन्दुको केन्द्रमा

ल्याटिन अमेरिकी देश ब्राजिल यतिखेर भाइरसको केन्द्रविन्दू रहेको उक्त क्षेत्रको पनि केन्द्रमा छ।

तर त्यहाँका राष्ट्रपति जइर बोल्सोनारूले त्यसको बेवास्ता गरिरहेकोजस्तो देखिन्छन्।

अथवा उनले आफूलाई त्यस्तो देखाउन खोजेको पनि हुनसक्छ।

सुरुमा उनले यस भाइरसलाई कम आँक्दै टेलिभिजन मार्फत् यो सामान्य भाइरस भएको र सञ्चारमाध्यमहरूले मानिसहरूलाई तर्साएको आरोप लगाएका थिए।

उनले भाइरसको आर्थिक असरलाई बढ्ता चिन्ताको बिषय बताउने गरेका छन्।

उत्कर्ष नजिक

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले त्यहाँ ८ लाख २८ हजारभन्दा बढी सङ्क्रमित छन्।

उक्त सङ्ख्या पर्याप्त परीक्षणका अभावमा अझै बढी हुनसक्ने ठानिएको छ।

त्यहाँको सङ्क्रमणको विन्दू उत्कर्षमा पुग्नका लागि अब केही साता मात्र पर रहेको ठानिएको छ।

ल्याटिन अमेरिकाकै पहिलो सङ्क्रमण ब्राजिलमा २६ फेब्रुअरीमा पाइएको थियो।

तर केही अध्ययनहरूले त्यहाँ ज्यानुअरी महिनातिरै सङ्क्रमण फैलिएको सङ्केत गर्ने बताएका छन्।

त्यसयता भाइरस दक्षिण अमेरिकाको त्यस क्षेत्रका सबै देशमा फैलिसकेको छ।