मुम्बईतर्फ आइरहेको शक्तिशाली निसर्ग चक्रवातको प्रभाव नेपालमा पनि, तीन दिनसम्म वर्षा हुनसक्ने

दक्षिण-पूर्वी अरब सागरमा हाल विकास भइरहेको र यसै साता भारतमा प्रवेश गर्ने आकलन गरिएको निसर्ग नामक चक्रवातको प्रभाव नेपालमा पनि देखिने अधिकारीहरूले जनाएका छन्।

तर चक्रवात सिधै नेपालमा प्रवेश नगर्ने भएकाले यहाँ हुने असर आंशिक हुने उनीहरूको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल दक्षिण पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको छ र यसले बुधवार चक्रवातको स्वरूप लिनेछ।

अहिले नेपालमा पश्चिमी वायु र अरब सागरमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखा परिरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा प्रभाव कस्तो

भारतीय सञ्चारमाध्यमहरूले उक्त चक्रवात बुधवार उत्तरी महाराष्ट्र र दक्षिण गुजरातको तटीय क्षेत्रमा प्रवेश गर्ने उल्लेख गरेका छन्।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् मञ्जु बासीका अनुसार भारततर्फ आइरहेको यो चक्रवातले नेपालमा प्रत्यक्ष नभइ आशिंक प्रभाव पार्ने देखिन्छ।

उनी भन्छिन्, “यसले बिहीवार, शुक्रवार र शनिवार अलि बढी नेपालमा प्रभाव पार्ने देखिन्छ। नेपालका अधिकांश भू-भागहरूमा यसले वर्षा गराउन सक्छ साथै उच्च पहाडी तथा हिमाली भूभागमा पनि यसले हिमपात गराउने सम्भावना छ।”

झण्डै दुई साता अघि बङ्गालको खाडीमा विकसित भएको अम्पन नामक शक्तिशाली आँधीका कारण भारत र बाङ्ग्लादेशमा लाखौँ मानिस प्रभावित भएका थिए। उक्त चक्रवातका कारण ती दुई देशमा कम्तीमा ८४ जना मारिएका विवरण आएका थिए।

भारतमा चेतावनी जारी

नयाँ चक्रवात विकास भइरहेका विवरणसँगै भारतको मौसम पूर्वानुमान निकायले दुई दिन भीषण आँधीबेहरी, वर्षा र चट्याङ पर्न सक्ने चेतावनी जारी गरेको छ।

निसर्ग नामक चक्रवात बुधवार अपरान्ह शक्तिशाली आँधीका रूपमा तटीय क्षेत्रमा प्रवेश गर्दा यसको वेग ९० देखि १०५ किलोमिटर प्रतिघण्टासम्म हुने भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले जनाएको छ। निसर्गले सबैभन्दा बढी असर भारतको मुम्बईमा पुर्‌याउन सक्ने भन्दै सावधानी अपनाउन भनिएका विवरणहरू आइरहेका छन्।

सोमवार अपरान्ह नेपालको जल तथा मौसम विज्ञान विभागले उक्त चक्रवातको प्रभावबारे विशेष मौसमी बुलेटिन प्रकाशित गरेको थियो।

मौसमविद् बासी भन्छिन्, “भारतमा चक्रवातको प्रभाव देखिने ठाउँ र नेपाल धेरै टाढा छ। जुन ठाउँ चक्रवातको केन्द्र हुन्छ त्यहाँ धेरै असर देखिन्छ। यसको केन्द्र नेपालतर्फ आइपुग्दैन। सर्दै सर्दै जाँदा आँधी कमजोर हुँदै जान्छ र नेपालमा बाहिरी प्रभाव मात्रै देखिन्छ।”

अम्पन चक्रवातको कारण नेपालमा न्यूनमात्रै वर्षा भएको थियो।

मनसुन

मौसमविद् बासीका अनुसार भारतमा बुधवार प्रवेश गर्ने चक्रवातको प्रभाव अम्पनको तुलनामा नेपालमा बढी देखिनसक्छ।

बिहीवार मध्यम खालको वर्षा हुनसक्ने र शुक्रवार र शनिवार ठूलो वर्षा हुनसक्ने उनी बताउँछिन्।

दक्षिण-पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सर्दा विकास भइरहेका बादल आउने क्रम जारी रहेको उनको भनाइ छ।

नेपालमा जून १० (लगभग जेठ मसान्त) अघि नै मनसुन भनिने बर्खे झरी सुरु हुने बताइन्छ।

मौसमविद् बासीले मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जून महिनाको १० तारिखकै हाराहारीमा नेपालमा पनि प्रवेश गर्ने बताइन्।