तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालको नयाँ नक्साः कालापानी, लिपुलेक र लिम्पियाधुरा समाविष्ट नक्सा अङ्कित निसान छापका लागि संविधान संशोधन गर्न विधेयक पेस
सरकारले जारी गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा अनुसारको निसान छापलाई परिमार्जन गर्न संसद्मा संविधान संशोधन विधेयक पेस भएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले आइतवार प्रतिनिधिसभाको बैठकमा उक्त विधेयक प्रस्तुत गरेकी हुन्।
उनले संसद्मा नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रस्तुत गर्दै भनिन्, "नेपालको संविधान धारा ९ को उपधारा २ मा नेपालको निसान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमाअनुरूपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची ३ को निसान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची ३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन विधेयक सदनसमक्ष पेस गर्दछु।"
आइतवार प्रतिनिधिसभाको बैठकको पहिलो कार्यसूचीमै उक्त प्रस्ताव राखिएको थियो।
उक्त नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समाविष्ट छन्।
पहिलेको प्रयास
गत साता नै उक्त विधेयक संसद्मा पेस हुने अपेक्षा गरिएको थियो।
बुधवार त्यसलाई सम्भावित कार्यसूचीमा राखिएको थियो।
तर प्रतिपक्षी नेपाली काङ्ग्रेसले त्यसबारे केन्द्रीय समितिबाट निर्णय गर्नुपर्ने भन्दै समय माग गरेपछि विधेयक प्रस्तुत हुन सकेन।
शनिवार नेपाली काङ्ग्रेसको केन्द्रीय समितिले संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेपछि आइतवार सो विधेयक संसद्मा पेस भएको हो।
संसद्मा उक्त विधेयक जेठ ९ गते दर्ता गरिएको थियो।
यही जेठ ७ गते सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।
उक्त नक्सालाई लिएर नेपाल र भारतबीच कूटनीतिक तहमै विवाद देखा परेको बताइन्छ।
के भन्छ भारत?
भारतले नक्सा जारी भएकै दिन त्यसलाई अस्वीकार गर्ने बताइसकेको छ।
तर नेपाल र भारत दुवै देशले वार्तामार्फत् नै समस्याको समाधान खोज्नुपर्ने दोहोर्याइरहेका छन्।
शनिवार भारतका रक्षामन्त्री राजनाथ सिंहले "लिपुलेकलाई लिएर नेपाल र भारतबीच भएको समस्या छलफलबाटै समाधान हुने" बताएका थिए।
भारतीय टेलिभिजन च्यानल आजतकलाई दिएको अन्तर्वार्ताका क्रममा उनले नेपाल र भारतबीच पारिवारिक सम्बन्ध रहेको पनि बताए।
उनले दुई देशबीचको सम्बन्ध अहिले पनि नियन्त्रणमा रहेको र केही समस्या भए वार्ताबाटै समाधान खोजिने बताएका थिए।