कोरोना भाइरस नेपाल: जनप्रतिनिधिको गुनासो - "सङ्क्रमितको 'कन्ट्याक्ट ट्रेसिङ' चुनौतीपूर्ण"

तस्बिर स्रोत, RSS
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
काठमाण्ठू उपत्यकामा कोरोनाभाइरस सङ्क्रमित भेटिएको क्षेत्रका जनप्रतिनिधिहरूले सङ्क्रमितहरूको सम्पर्कमा रहेका सबै व्यक्तिहरूमा सङ्क्रमण छ कि छैन भन्ने पत्ता लगाउने कार्य "निकै चुनौतिपूर्ण देखिएको" बताएका छन्।
कतिपय सङ्क्रमितहरूले 'आफ्नो सम्पर्कमा रहेका व्यक्ति र आफ्नो यात्राबारे गलत विवरण दिँदा' तथा परीक्षण किटको अभावले यस्तो अवस्था आएको उनीहरूको भनाइ छ।
सङ्क्रमित भेटिएको क्षेत्रका बासिन्दाले पनि सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी अर्थात् 'कन्ट्याक्ट ट्रेसिङ'प्रति आफूहरू विश्वस्त हुन नसकेको बताएका छन्।
पर्याप्त परीक्षण किट उपलब्ध गराएर कमसेकम सङ्क्रमित भेटिएका क्षेत्रको निश्चित स्थानहरूका सबैको परीक्षण गरिनुपर्ने उनीहरूको माग छ।
पर्याप्त परीक्षण किट छैन
केही दिनअघि एकजनामा कोरोनाभाइरस सङ्क्रमण भेटिएको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर-१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले दुईटा समस्याका कारण सङ्क्रमितको 'कन्ट्याक्ट ट्रेसिङ' गर्न चुनौती देखापरेको बताए।
उनले भने, "एउटा त सङ्क्रमित र उनको परिवारले यकिन विवरण नदिने रहेछन्। त्यसले अरू मानिसहरूबारे जानकारी पाउन समस्या भएको छ।"
"अर्को चाहिँ पर्याप्त परीक्षण किट पाइएको छैन। जस्तो हजार मागेको छ भने तीन/चार सय मात्र आउँदो रहेछ।"
"मेरो वडामा ३,५०० घरधुरी छ। त्यसमा कम्तीमा एक घर एक परीक्षण हुनुपर्छ भन्ने माग छ। तर किट पाउने भनेको सीमित रहेछ। त्यसले तुरुन्तै परीक्षण गराउन गाह्रै रहेछ।"

तस्बिर स्रोत, RSS
उनले उक्त क्षेत्रमा सङ्क्रमितको परिवार बाहेक उनीहरूको सम्पर्कमा आएका ठानिएका व्यक्तिहरूको भने आरडीटी परीक्षण गरिएको तर त्यो पनि पर्याप्त हुन नसकेको जानकारी दिए।
पूर्वस्वास्थ्यमन्त्री गगन थापाले पनि त्यस क्षेत्रसहित काठमाण्डूकै मैतिदेवी र नक्सालमा भइरहेको सङ्क्रमितको 'कन्ट्याक्ट ट्रेसिङ'प्रति प्रश्न उठाएका छन्।
प्रतिपक्षी नेपाली काङ्ग्रेसका सांसदले गत बिहीवार ट्वीटरमार्फत् त्यस विषयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण पनि गराएका थिए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त

वैशाख अन्तिममा एकजनामा सङ्क्रमण देखिएको भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राजेश खड्काले पनि सीमित किटका कारण स्थानीयवासीको माग अनुसार परीक्षण गर्न नसकिएको बताए।
उनले भने, "किटको अभावले गर्दा हामीले कतिपय घरमा हामीले एकजनाको मात्र परीक्षण गरायौँ।"
"जनताहरूले मानेका छैनन्, सबैको गर्नुपर्छ भन्ने आवाज आइरहेको छ।"
तर सङ्क्रमित भेटिएकै टोलको केही घरमा भने सबैको आरडीटी परीक्षण गरिएको र सङ्क्रमितका परिवारका सदस्यको चाहिँ पीसीआर परीक्षण नै गरिएको उनले जानकारी दिए।

तस्बिर स्रोत, RSS
सबैको परीक्षण भए ढुक्क
चाँगुनारायण नगरपालिकामा भेटिएका सङ्क्रमितका एक छिमेकी खगेन्द्रप्रसाद पौडेलले सुरुमा एउटा घरका एकजनाको मात्र परीक्षण गर्ने तयारी भएकोमा आफूहरूले निकै दबाव दिएपछि मात्र सबैको आरडीटी परीक्षण भएको बताए।
उनले भने, "सबैको परीक्षण नगर्ने भन्ने कुरा चाहिँ भएको थियो तर हामी गर्नुपर्छ भनेर भन्यौँ। ३१/३२ जना मात्र हुनुहुँदो रहेछ तपाईँहरू सबैको गराइदिन्छु भनेर मेयरले भन्नुभयो।"
"अनि हाम्रो आरडीटी परीक्षण भयो। सबैको नेगेटिभ आएको छ।"
बूढानीलकण्ठमा सङ्क्रमित भेटिएको क्षेत्र नजिकैका बासिन्दा कवि रमेश तुफानले पनि कमसेकम छिमेकीहरूको परिवारका सबैको परीक्षण गरिए ढुक्क हुन सकिने बताए।
उनले भने, "यस क्षेत्रमा पनि कतिपयको घरका एकजनाको मात्र आरडीटी परीक्षण भएको छ। त्यसले परिवारका अन्य सदस्यलाई पनि त्रास हुने रहेछ।"
सरकारी भनाइ
सङ्घीय सरकारले भने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डहरू अनुसार नै सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी गरिने गरेको बताउँदै आएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा पनि यस्तै जानकारी दिइरहेको छ।
अधिकारीहरूले पहिले परीक्षणक किटको अभाव भए पनि अहिले आवश्यक परेका र संवेदनशील क्षेत्रमा परीक्षणका लागि समस्या नभएको बताउने गरेका छन्।
यसै साता कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले परीक्षणलगायतमा समस्या भएका स्थानमा केन्द्र सरकारले पनि काम गरेको बताएका छन्।
उनले भनेका छन्, "कुनै ठाउँमा सङ्क्रमित भए, क्वारन्टीनमा राखिएको भए, यति सामग्री चाहियो भन्नुहुन्छ, तर उहाँहरुले चाहेजति हामीले दिन सक्छौँ कि सक्दैनौँ, मैले भनेको जति भएन भन्ने एङ्गलले पनि कुराहरू उठेका छन्।"
"प्रदेश २ मा पीसीआर मेसिन एउट मात्रै भएको र पूर्ण रूपमा क्षमता कम भएको भनेपछि दुई हजारभन्दा धेरै स्वाब परीक्षण यहीँ ल्याएर गर्यौँ । अन्त पनि समस्या भएको ठाउँमा केन्द्रले नै काम गर्यो।"


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ











