कोरोना भाइरस: उच्च जोखिममा बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिक परिवार

गोर्खा
    • Author, भगीरथ योगी
    • Role, लन्डन

७२ वर्षीया दिलमाया थापा भूतपूर्व गोर्खा सैनिक परिवारकी हुन्।

उनी ब्रिटेनको अल्डरशट सहरमा बस्छिन् जहाँ नेपालीहरूको बाक्लो बसोबास रहेको छ।

ब्रिटेनमा कोरोनाभाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि उनीजस्ता हजारौँ भूतपूर्व गोर्खा सैनिकका परिवार चिन्तित बनेका छन्।

"हुलाकीले हामी बसेको घरको ढोकाको प्वालमा एउटा चिठी ल्याएर छोडिदिएको दुई दिन भयो, तर डरले मैले त्यो चिठी भित्र ल्याएकी छैन। फेरि मेरा श्रीमान्‌ले आँखा देख्दैनन्, मलाई पढ्न आउँदैन," उनले भनिन्।

दिलमायाको डेरामा टेलिभिजन छैन। श्रीमान् बिरामी भएकाले उनी नेपालीहरूको कार्यक्रममा पनि जाँदिनन् । उनी फुर्सद भएको बेला रेडियोमा नेपाली समाचार र गीत सुन्छिन्।

"कोरोनाभाइरसबाट कसरी बच्ने भन्ने त थाहा छ। बाहिर गएर आएपछि २० मिनेट साबुन पानीले मिची मिची हात धुनु पर्छ भन्ने सुनेकी छु," उनले भनिन्।

तर विश्व स्वास्थ्य सङ्गठनका अनुसार मिचीमिची हात धुनुपर्ने चाहिँ २० सेकेण्ड मात्रै हो।

ब्रिटेनमा कोरोनाभाइरसको महामारीका कारण मे महिनाको दोश्रो सातासम्ममा ३३ हजारभन्दा बढीको ज्यान गइसकेको छ, जुन युरोपमै सबैभन्दा बढी हो।

लन्डनस्थित नेपाली दूतावासका अनुसार सोही अवधिमा ब्रिटेनमा ६० जनाभन्दा बढी नेपालीहरूको निधन भएको छ। ती मध्ये झन्डै ८० प्रतिशत भूतपूर्व गोर्खा सैनिकहरू छन्।

हस्तवीर थापा र चित्रमाया थापा

तस्बिर स्रोत, KAMALA RANA

तस्बिरको क्याप्शन, हस्तवीर थापा र चित्रमाया थापा। तस्बिर सौजन्य: कमला राना

कमजोर स्वास्थ्य अवस्था

पुर्ख्यौली घर स्याङ्जा भएका भूतपूर्व गोर्खा सैनिक ८१ वर्षीय हस्तवीर थापा आफ्नी श्रीमती चित्रमाया थापालाई लिएर सन् २०१६ मा यूके आइपुगे।

उनी मधुमेह, उच्च रक्तचाप, रक्तअल्पता लगायतका स्वास्थ्य समस्याबाट पीडित छन्। ७८ वर्षीया चित्रमाया पनि बेलायत आइसकेपछि मिर्गौला रोगबाट पीडित भइन्।

लन्डनको फेल्थममा बसोबास गर्ने उनी हप्तामा ३ पटक पश्चिम लन्डनको एक अस्पतालमा डायालिसिस गर्न जान्छिन्।

थापा दम्पत्ति दुवै अशक्त भएकाले सोही घरमा बस्ने एक नेपाली परिवारले साँझ, बिहान उनीहरूलाई तातो खाना पुर्‍याइदिन्छन्।

त्यसबापत आफूले केही रकम दिने गरेको चित्रमायाले बताइन्।

संयोग नै भनौँ, सोही घरमा एक नेपाली नर्स कमला राना पनि बस्छिन्।

उनले कार्यालयको व्यस्तताबाट समय निकालेर थापा दम्पतीलाई चिकित्सककहाँ पुर्‍याइदिने र अस्पतालमा समय मिलाइदिने जस्ता काम गर्छिन्।

"उहाँहरू दुवै जनाको स्थिति निकै नाजुक छ, कोरोनाभाइरसले जोखिम झन् बढाएको छ। उहाँहरू मलाई आफ्नै हजुरबुवा, हजुरआमा जस्तो लाग्छ, त्यसैले मैले सक्दो सहयोग गरिरहेकी छु," कमलाले भनिन्।

उच्च मृत्युदर

अश्वेत, एशियाली तथा जातीय अल्पसङ्ख्यक (बिएएमइ) समुदायमा कोरोनाभाइरसका कारण मृत्युदर किन उच्च छ भन्नेबारे ब्रिटिश सरकारले एउटा अध्ययन गर्न लगाएको छ।

हालै एउटा ब्रिटिश अखबारमा एक लेख लेख्दै लन्डनका मेयर सादिक खानले ब्रिटेनमा (बिएएमइ) कुल जनसङ्ख्याको १४ प्रतिशत मात्रै भए पनि अस्पतालहरूमा भर्ना भएका कोरोनाभाइरसका गम्भीर बिरामीहरूमध्ये एक तिहाइ बिएएमइ समुदायको भएको बताए।

नेपाल पत्रकार महासङ्घ यूके शाखाले हालै गरेको एक सर्वेक्षणले ६५ वर्षमाथिका अधिकांश भूतपूर्व गोर्खा सैनिकहरूले भाषाका कारणले स्वास्थ्य सुविधा प्राप्त गर्न कठिनाइ बेहोर्नु परेको देखाएको छ।

कोरोनाभाइरस सङ्क्रमित भएपछि एक साता अस्पतालमा उपचार गरेर फर्केका ब्रिटिश सांसद वीरेन्द्र शर्मा पनि यस्तो समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउँछन्।

"विश्वव्यापी महामारीको अहिले जस्तो अवस्थामा सबै आवश्यक भाषाहरूमा परामर्श दिइनु पर्छ र जटिल तथा अत्यावश्यक सेवा चाहिने मानिसहरूलाई दोभाषे उपलब्ध गराइनु पर्छ," अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका अध्यक्षसमेत रहेका सांसद शर्माले भने।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

विभिन्न किसिमका रोग

हाल ब्रिटेनमा बसोबास गरिरहेका ६५ वर्ष माथिका भूतपूर्व गोर्खा वृद्धवृद्धाहरू विभिन्न रोगहरूबाट पनि ग्रसित रहेको चिकित्सकहरू बताउँछन्।

नेप्लिज डक्टर्स एसोसियशन यूकेका अध्यक्ष डाक्टर रमेश खोजुले भने, "भूतपूर्व गोर्खा सैनिक र उहाँहरूका परिवारका वृद्धवृद्धामा मधुमेह, उच्च रक्तचाप, मिर्गौला, मुटुसम्बन्धी रोग छ। कतिपय परिवारका सदस्य सेक्युरिटी वा यातायात क्षेत्रमा काम गरिरहनु भएको छ। संयुक्त परिवारमा बस्ने, एकान्तवासमा बस्न सम्भव नहुने जस्ता कारणले पनि अन्य व्यक्तिबाट उहाँहरूमा भाइरस सरेको हुन सक्छ।"

ब्रिटेनले सन् २००९ मा ब्रिटिश सेनामा कम्तीमा चार वर्ष काम गरेका भूतपूर्व गोर्खा सैनिकहरूलाई बेलायतमा बसेबास गर्न दिने घोषणा गरेपछि हजारौँ भूतपूर्व गोर्खा सैनिक र तिनका परिवार बसाइसराइ गरेर ब्रिटेन आएका छन्।

ती मध्ये ६५ वर्षभन्दा माथिका भूतपूर्व गोर्खा सैनिकको सङ्ख्या सात हजार भन्दा बढी रहेको गोर्खा वेलफेयर ट्रस्टले जनाएको छ।

"भूतपूर्व गोर्खा सैनिक कैयौँले पौष्टिक खाना पनि खानुहुन्न। आफूले पाएको भत्ताबाट बचाएर नेपालमा आफ्ना छोरा छोरीलाई पठाउनु हुन्छ। त्यसैले अहिले कोरोनाभाइरसले उहाँहरूमाथि निकै ठूलो जोखिम थपिदिएको छ," गोर्खा सत्याग्रह अभियानका एकजना अभियन्ता ज्ञानराज राईले भने।

समुदायको पहल

भूतपूर्व गोर्खा सैनिकहरूलाई सघाउन ब्रिटेनस्थित नेपालीहरूका विभिन्न सङ्घसंस्थाले पनि पहल गरिरहेका छन्। गैर आवासीय नेपाली सङ्घ यूकेले हेल्पलाइन स्थापना गर्यो भने कतिपय सङ्घसंस्थाहरूले स्वयम्‌सेवी समूहहरू गठन गरेका छन्।

"हामीले वयोवृद्ध भूतपूर्व गोर्खा सैनिकहरूका लागि सामान किनमेल गरी घरको ढोकामा लगेर राखि दिने, अस्पताल वा चिकित्सककोमा समय मिलाउन फोन गर्ने जस्ता काम गरिरहेका छौं," ग्रेटर रसमूर नेप्लिज कम्युनिटीका अध्यक्ष रामधन राईले भने।

यसैबीच लन्डनस्थित नेपाली दूतावासले पनि ब्रिटिश सरकारलाई जोखिममा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको जीवन सुरक्षामा सघाउन अनुरोध गर्दै एक पत्र लेख्यो।

"ब्रिटिश परराष्ट्र मन्त्रालयले सो विषयबारे ब्रिटिश रक्षा मन्त्रालयलगायत सम्बन्धित निकायहरूलाई आवश्यक कदम उठाउन भनिसकेको हामीलाई जानकारी गराएको छ," लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता तथा उपनियोग प्रमुख शरदराज आरणले भने।

'चुप लागेर नबस्नुहोस्'

अहिलेसम्म कुनै औषधि पत्ता नलागेको र खोप पनि विकास भइनसकेको कोरोनाभइरसको सङ्क्रमणबाट जोगिन व्यक्तिगत सरसफाइका उपायहरू अपनाउने, सम्भव भएसम्म घरमै बस्ने, बाहिर निस्कनु परे भौतिक दुरी कायम गर्ने जस्ता सरकारले दिएका निर्देशनहरू पालना गर्नुपर्ने विज्ञहरू बताउँछन्।

"आफू वा आफ्नो परिवारका सदस्यमा कोरोनाभाइरसका लक्षणहरू देखा पर्नासाथ एनएचएस १११ मा फोन गरि हाल्नुहोस्। भाषाको कारणले समस्या परेको छ भने हाम्रो वेब साइट (www.ndauk.org.uk) मा गएर हामीलाई फोन गर्नुहोस् वा तपाईंले चिन्नु भएको सङ्घसंस्थाका पदाधिकारीहरूलाई फोन गर्नुहोस्," डा. खोजुले भने।

त्यस्तै ब्रिटेनका स्थानीय निकायहरूले उच्च जोखिममा रहेका सबै मानिसहरूलाई संस्थागत रुपमा सहयोग गरिरहेको तर नेपाली/गोर्खा समुदायका कतिपय वृद्धवृद्धासम्म अझै त्यो जानकारी पुग्न नसकेको लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष्य गुरुङले बताए।

आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्‍याउने सवालमा धेरै नेपाली/गोर्खाहरू पछाडि रहेको कतिपयको ठम्याइ छ।

त्यसैले दिलमाया र थापा दम्पती जस्ता उच्च जोखिममा रहेका हजारौँ भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारको जीवन रक्षा गर्न स्थानीय काउन्सिल, जनप्रतिनिधिहरूका साथै नेपाली सङ्घसंस्था र नेपाली दूतावासको थप सक्रियता आवश्यक देखिएको जानकारहरू बताउँछन्।