नेपाल-भारत सीमा: काँडेतार लगाउने वडाध्यक्ष भन्छन्- 'मैले बाटो देखाएँ, केन्द्रले समाधान खोजोस्'

लिपुलेकलाई लिएर नेपाल र भारतबीच फेरि एकपटक सीमा विवाद चर्किएका बेला कतिपयले सिमानामा पर्खाल वा काँडेतार लगाउनु पर्ने माग समेत गरेका छन्।

पछिल्लो समयमा कतिपय सांसदहरूले त संसद्‌मै पनि यस्तो माग राख्दै आएका छन्।

नेपाल र भारतबीच खुला सिमाना रहेकाले कतिपय अन्य देशहरू बीचका सीमामा जस्तो पर्खाल वा काँडेतार लगाइएको छैन।

कतिपय स्थानमा त नेपाल र भारतबीचको सीमामा पुगे पनि नेपाली र भारतीय भूमि कुन हो भन्ने सहजै छुट्ट्याउन समेत मुस्किल पर्छ।

तर पर्सा जिल्लाको ठोरी गाउँपालिकाको एउटा वडाका अध्यक्षले भने भारतसँग सिमाना जोडिएको आफ्नो वडाको क्षेत्रमा काँडेतार लगाएको खबर आएको छ।

ठोरी गाउँपालिका वडा नम्बर- ३ का वडाध्यक्ष सूर्यबहादुर लामाले आफ्नो वडाको भारतसँग सीमा जोडिएको साढे पाँच किलोमिटर क्षेत्रमध्ये साढे चार किलोमिटरमा यस्तो काँडेतार लगाइसकेको बताए।

उनीसँग विष्णु पोखरेलले गरेको कुराकानीको सार:

म वडाअध्यक्ष हुनुभन्दा पहिलेदेखि नै यस क्षेत्रमा रहेका समस्याबारे जानकार छु।

म यहाँकै बासिन्दा भएकाले विगत ८/९ वर्षदेखि भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार हामीले भोगिरहेका छौँ।

यहाँ नजिकै वडामा ठुटे खोला भन्ने एउटा खोला पर्छ।

त्यो खोलाको पानीका विषयमा पनि नेपाली र भारतीय पक्षबीच विवाद हुँदै आएको छ।

दुर्व्यवहार

दशगजाभन्दा ३०० मिटर नेपाली भूमिमा पसेर भारतीयले बाँध बनाएकाले यहाँ बनेको एउटा पुल नै सञ्चालनमा आउन पाएको छैन।

वर्षाका बेलामा कसैलाई सर्पले टोक्यो भने पनि दौडाएर लग्न सहज बाटो छैन।

म जनप्रतिनिधि हुनुभन्दा अगाडिदेखि नै यी समस्यासँग जुझ्दै आएको हुँ।

मेरो वडामा ८ हजार जति जनसङ्ख्या रहेको छ। अधिकांशले भारतीय पक्षबाट दुर्व्यवहार भोगेको छ।

भारततर्फ जङ्गल पनि छ। त्यसले गर्दा नेपालतर्फ खेती लगाएका बेला जङ्गली जनावारले आएर बाली नष्ट गरिदिन्छन्।

यी दुवै समस्याको समाधानका लागि मैले यहाँ काँडेतार लगाउने निधो गरेको हुँ।

काँडेतार लगाउन सुरु

हामीले २०७४ साल मंसिरदेखि यहाँ काँडेतार लगाउन सुरु गर्‍यौँ।

हाम्रो वडाको साढे पाँच किलोमिटर क्षेत्रले भारतीय सीमा छुन्छ।

त्यसैले यो क्षेत्रमा काँडेतार लगाएर सुरुवात गरौँ भन्ने लाग्यो।

मैले सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीका अधिकारीहरूसँग पनि छलफल गरेर दशगजा भन्दा उत्तर नेपालको भूमिमा काँडेतार लगाउने काम सुरु गरेको हुँ।

दशगजामा २९, साढे २९ फिट दूरी हुने रहेछ। हामीले ३० फिटजति छाडेर काँडेतार लगायौँ।

अहिलेसम्म साढे चार किलोमिटरमा यस्तो काँडेतार लगाउने काम सकिएको छ।

बजेट विनियोजन

गाउँपालिका प्रमुखसँग कुराकानी गरेर हामीले लगातार तीन वर्ष यसका लागि बजेट विनियोजन नै गरेर काम अघि बढाएका हौँ।

अहिले लकडाउनका बेला पनि हामीले काँडेतार लगाउने कामलाई निरन्तरता दिएका थियौँ।

तर केही दिन अघि भारतीय सुरक्षाकर्मीले आफ्नै तरिकाले नेपालले काँडेतार लगाउन पाउँदैन भनेर रोकिदिएका छन्।

त्यसको पनि चाँडै समाधान निस्केला भन्ने आशामा हामी छौँ।

जसरी हाम्रो भूमि मिचिएको कुरा आउँछ मलाई त सीमामा पर्खाल नै लगाउन पाए हुन्थ्यो जस्तो लाग्छ।

यो केन्द्र सरकारले समाधान गर्ने विषय हो। राज्यले हेर्नुपर्ने हो। तर नेताहरू आफू आफू झगडा गरेर मात्र बसेको देखिन्छ।

केन्द्र सरकारलाई सुझाव

केन्द्र सरकारले त केही गरेन तर हामी चुप लागेर बस्न त मिलेन।

'राज्यले नगरे पनि आफूले देखाइदिम् न त' भनेर मैले यो काम गरेको हुँ।

काँडेतार भए पनि देखाइदियो भने कमसेकम यहाँको जनताले त 'यस्तो गरेछ है' भन्ने होस् भनेर काँडेतार लगाएको हो मैले।

तर यसमा जनताको राय छैन भन्ने होइन। उहाँहरूकै सहमतिमा गरेको हो। उहाँहरूकै माग अनुसार नै हो।

सीमा क्षेत्रमा रहेका जनप्रतिनिधिहरू सचेत भए भने सीमा मिचिने कुरा केही कम हुनसक्छ।

तर केन्द्र सरकारले यस्ता समस्या सधैँका लागि समाधान गर्न पहल गर्नुपर्छ।

मैले काँडेतार लगाएर राज्यलाई बाटो देखाए। अब सधैँका लागि समाधान त राज्य (केन्द्र)ले गर्नुपर्‍यो नि!