कोरोना भाइरस चीन: वुहानमा १० दिनमा लाखौँको कोरोनाभाइरस परीक्षण हुन सक्ला?

वुहान सहर

तस्बिर स्रोत, Getty Images

चीनको वुहान सहरले त्यहाँका सबै एक करोड १० लाख बासिन्दाको कोरोनाभाइरस परीक्षण गर्ने योजनाको खाका तयार पारेको छ।

त्यो योजना हाल प्रारम्भिक चरणमा नै रहेको बुझिएको छ।

चिनियाँ सरकारी सञ्चार माध्यमहरूका अनुसार वुहानभरि १० दिनभित्र परीक्षण गरिसक्ने बताइएको छ।

वुहानमा सप्ताहान्तमा फेरि छ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि यसरी परीक्षण विस्तार गर्न लागिएको हो।

कोरोनाभाइरसको सुरुको सङ्क्रमण भेटिएको वुहानमै हो।

त्यसपछि उक्त सहर ११ हप्तासम्म कडा लकडाउनको अवस्थामा थियो र गत ८ एप्रिलदेखि बिस्तारै खुला भएको थियो।

लकडाउन खुला

विद्यालयहरू खुल्ने, व्यापार व्यवसायमा चहलपहल बढ्ने र सार्वजनिक यातायात चल्न थालेपछि सो सहरमा जनजीवन सामान्य हुन थालेको थियो।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

तर एउटै आवासीय परिसरमा नयाँ सामूहिक सङ्क्रमणको अवस्था देखा परेपछि अवस्था सामान्य नहुने चिन्ता व्यक्त भएको छ।

इन्टरनेटमा व्यापक दस्तावेजलाई उद्धृत गर्दै द पेपर नामक पत्रिकाले जनाए अनुसार वुहान सहरको प्रत्येक क्षेत्रलाई मङ्गलवारसम्म १० दिने परीक्षण योजना तयार पार्न भनिएको थियो।

तर वरिष्ठ स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै ग्लोबल टाइम्स समाचारपत्रले जनाए अनुसार त्यसरी सम्पूर्ण सहरलाई नै परीक्षण गर्नु खर्चिलो हुनुका साथै सम्भव नहुने बताएको छ।

वुहान विश्वविद्यालयको झोंगनान अस्पतालको सघन उपचार एकाइका निर्देशक पेङ्ग झीयोङ् भन्छन्, "त्यस्तो परीक्षण स्वास्थ्य कर्मचारी, जोखिममा रहेका मानिसहरू र सङ्क्रमितहरूसँग नजिकको सम्पर्क भएकाहरूप्रति लक्षित गर्न सकिन्छ।"

वुहान सहरमा महिला

तस्बिर स्रोत, Getty Images

परीक्षणको सम्भाव्यता

वुहान विश्वविद्यालयका अर्का निर्देशकका अनुसार वुहानको जनसङ्ख्यामध्ये तीसदेखि पचास लाखको परीक्षण भइसकेको छ र बाँकी साठीदेखि असीलाख जनालाई १० दिनको अवधिमा परीक्षण गर्न 'सम्भव' देखिन्छ।

चीनको इन्टरनेटको सामाजिक सञ्जाल वेइबोका प्रयोगकर्ताहरूले केही दिनको समयमा त्यति धेरै मानिसहरूमा कोरोनाभाइरस परीक्षण गर्न सकिएला कि नसकिएला भनेर विभिन्न प्रश्नहरू उठाएका छन्।

एकजना टिप्पणकारले भनेका छन्, "त्यति धेरै मानिसहरूको परीक्षण गर्न असम्भव नै छ।" उनले खर्चबारे पनि प्रश्न उठाएका छन्।

अर्का टिप्पणीकर्ताले वुहानमा लकडाउन हटाउनुभन्दा अघि नै यस्तो परीक्षण हुनुपर्थ्यो भनेर लेखेका छन्।

चीनमा सोमवार एकजनामा मात्र नयाँ सङ्क्रमण देखिएको पुष्टि भएको थियो। चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२,९१९ पुगेको छ भने ४,६३३ जनाको ज्यान गएको छ।