कोरोना भाइरस: नेपाललाई सहयोग गर्नेमा चीन अग्र स्थानमा, 'सहायता सामानसहित चिनियाँ विमान आउँदै'

तस्बिर स्रोत, Getty Images
कोरोनाभाइरस सङ्क्रमणविरुद्ध लड्न नेपाललाई अहिलेसम्म सबैभन्दा धेरै सहयोग गरेको देश चीनबाट जनमुक्ति सेनाको विमान सहायता सामान बोकेर बुधवार काठमाण्डू ओर्लिने अधिकारीहरूले बताएका छन्।
नेपाली सेनालाई चीनले सहयोग गरेको स्वास्थ्य सामग्रीहरूका साथ चीनको वायुसेनाको एउटा विमान नेपाल आउने भएको छ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने, "नेपाली सेनालाई सहायतास्वरूप दिने स्वास्थ्य सामग्री लिएर चिनियाँ वायुसेनाको ठूलो विमान काठमाण्डू आउँदैछ।"
नेपाली सेनाले त्यसबारे औपचारिक जानकारी भने दिएको छैन।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चिनियाँ जनमुक्ति सेनाको विमान स्वास्थ्य सुरक्षा सामग्री लिएर काठमाण्डू आउन लागेको हो।
त्यसमा स्वास्थ्यकर्मीलाई आवश्यक पीपीईजस्ता सुरक्षा सामग्री रहेको बताइएको छ।
सहयोग गर्नेमा चीन अगाडि
अधिकारीहरूका अनुसार कोरोनाभाइरसविरुद्धको जारी सङ्घर्षमा सरकारी स्तरबाट नेपाललाई सहयोग गर्नेमा चीन सबैभन्दा अग्र स्थानमा छ।
चीनको केन्द्रका साथै प्रान्तीय सरकार र अन्य विभिन्न सहरहरूले पनि अलग अलग सहयोग पठाएका छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

अरू सहयोगी को-को?
दक्षिणी छिमेकी भारतले हालसम्म २३ टन सामग्री सहयोग गरेको छ।
त्यहाँबाट नेपाल सरकारले जीटुजी विधिमार्फत् किन्ने भनिएको औषधिहरू पनि अबको तीन दिनपछि नेपाल आउन थाल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तस्बिर स्रोत, AFP
कोरोनाभाइरस सङ्क्रमण पहिलो पटक देखिएको चीन महामारी रोकथाममा सफल देखिएको छ भने भारतमा सङ्क्रमण बढ्दो क्रममा देखिन्छ।
त्यस्तै कतार, युएई र स्विस सरकारले पनि नेपाललाई सहयोग सामग्रीहरू दिएका छन्।
महानिर्देशक श्रेष्ठका अनुसार जर्मनीले सहायता संस्थामार्फत् सहयोग गरेको छ। त्यस्तै ब्रिटेन सरकारले विश्व स्वास्थ्य सङ्गठनमार्फत् सहयोग गरिरहेको छ भने अमेरिकी राजदूतावासले पनि केही सामानहरू दिएको छ।
सेनाले पनि ल्याउँदै
त्यसबाहेक नेपालले आफै पनि चीनबाट ठूलो मात्रामा स्वास्थ्य सामग्री, उपकरण र औषधि खरिद गरेको छ।
ती सामान स्थल र हवाइमार्गबाट नेपाल ल्याइँदैछ।
सडकमार्गबाट सामान चीनबाट हिँडिसकेको छ भने हवाईजहाजबाट ल्याइने सामान यो साताबाट आउन थाल्ने अपेक्षा नेपाली सेनाले गरेको छ।
भन्सार जाँचपास लगायतका काम सकिएर अन्य प्रक्रिया टुङ्गो लगाएपछि हवाईजहाजमार्फत् सामान ल्याइने बताइएको छ।








