कोरोना भाइरस लकडाउन: नेपालमा खेती गर्दै आएका भारतीयले सीमा पार गर्न खोज्दा 'सुरक्षामा चुनौती'

    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी न्यूज नेपाली, झापा

नेपालमा जग्गा भाडामा लिएर खेती गर्न दिनहुँ नेपाल आउन खोज्ने भारतीय नागरिकहरूका कारण बन्दाबन्दीका बेला सीमा सुरक्षामा चुनौती थपिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

पूर्वदेखि पश्चिम तराईसम्मका नेपालका सीमावर्ती क्षेत्र नजिकका जग्गामा कैयौँ भारतीय नागरिकले खेती गर्दै आएका छन्।

उनीहरू भारतबाटै दिनहुँ नेपाल आएर खेती गर्ने गरेको प्रदेशका कृषि मन्त्रालयले जनाएका छन्।

तर नेपालमा जारी बन्दाबन्दीका कारण नेपालमा खेती गर्न आउन खोज्ने उनीहरूलाई सीमाबाटै फर्काइने गरिएकाले कतिपय स्थानमा नेपाली सुरक्षाकर्मीमाथि भारतीय नागरिकबाट दुर्व्यवहारसमेत हुने गरेको नेपाली सुरक्षा अधिकारीहरू बताउँछन्।

प्रदेश नं १ र २ मा बढी किचलो

करिब दुई साताअघि झापाको कचनकवल गाउँपालिकाको सीमावर्ती क्षेत्रमा नेपालमा खेती गर्न आउन खोज्ने भारतीय नागरिक नेपाल छिर्न नपाएपछि सीमामा विवाद उत्पन्न भयो। अन्तत: उनीहरू फर्काइए।

गत आइतवार पनि कचनकवल गाउँपालिकाकै सीमावर्ती क्षेत्रमा उनीहरू फेरि आइपुगे।

नेपाली सुरक्षाकर्मीले रोकेपछि खेती गर्दा प्रयोग गरिने ‍औजार नेपालतिर फाल्दा सुरक्षाकर्मीलाई लागेका खबर स्थानीय सञ्चारमाध्यममा आए।

सोमवार राति भारतबाट नेपाल छिर्न भारतीय नागरिकलाई झापा गाउँपालिकाको सीमा क्षेत्रमा सुरक्षाकर्मीले रोक्ने खोज्दा जबरजस्ती गरेपछि सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गर्नुपरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।

झापा गाउँपालिकाका केही वडाका जमिनमा भारतीय नागरिकले खेती गर्दै आएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह बताउँछन्।

झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार त्यसरी नेपाल छिर्न खोज्नेहरूले सीमामा समस्या उत्पन्न गराएका छन्।

कोइरालाले भने, "कतिपयले मकै लगाएका छन्। मल हाल्नुपर्‍यो, गोड्नुपर्‍यो भनेर नेपाल आउन खोज्छन्। तर भारतीय पक्षसँग कुरा गरेर अहिलेसम्म चाहिँ समस्या समाधान गरिरहेका छौँ।"

प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहका अनुसार अहिले भारतका केही राज्यमा बन्दाबन्दी खुकुलो बनाइदिएकाले नेपाल छिर्न खोज्नेहरूले समस्या उत्पन्न गराइदिएको बताए।

प्रदेश नं २ का दक्षिणी भागमा खेती गर्न आउने भारतीय नागरिकहरूबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारीहरूमाथि दुर्व्यवहारसमेत भएको सिंहले बताए।

उनले भने, "सशस्त्र प्रहरीका एक नायब निरीक्षकमाथि दुर्व्यवहार भयो। नेपाल प्रहरीका कर्मचारीहरूसँग पनि दुर्व्यवहारका घटना भइरहेका छन्।"

नेपालमा खेती गर्ने भारतीय कति छन्?

जिल्ला प्रहरी कार्यालय झापाको अनौपचारिक अनुमान अनुसार झापाका कचनकवल तथा झापा गाउँपालिकाका करिब पाँच सय बिघा जमिनमा भारतीय नागरिकले खेती गर्दै आएका छन्।

तर आधिकारिक रूपमा उनीहरूको तथ्याङ्क न सङ्घीय सरकारसँग छ न प्रदेश सरकारहरूसँग।

प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयहरूका अनुसार भारतसँग सीमा जोडिएका प्रदेशहरूमा भारतीय नागरिकले नेपालमा आएर खेती गर्ने गरेको भए पनि उनीहरुको तथ्याङ्क कुनै पनि प्रदेश सरकारले राखेको छैन।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माका अनुसार उक्त प्रदेशका सीमावर्ती क्षेत्रमा धेरै भारतीय नागरिकले खेती गर्ने गरेका छन्।

उनले भने, "उनीहरूको खेती छ, तर कति छन् खेती गर्ने भन्ने तथ्याङ्क छैन।"

प्रदेश नं २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार भारतीयहरूले व्यक्तिगत रुपमा नै जग्गा मालिकसँग सम्झौता गरेर नेपालमा खेती गर्ने गरेका छन्।

मन्त्रालयका सूचना अधिकारी रजनीश मिश्रले भने, "जसको जमिन हो उहाँसँग नै उनीहरूको सम्झौता हुने भएकाले हामीसँग त्यस्को तथ्याङ्क नै हुँदैन।"

कतिपय स्थानीय तहले त्यस्ता तथ्याङ्क राख्ने गरेको र प्रदेशमा कति भारतीय नागरिकले नेपालमा खेती गर्छन् भन्ने थाहा नभएको प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले बताए।

नेपाली पनि भारततिर जान खोज्छन्

कतिपय सीमावर्ती क्षेत्रका नेपालीहरू पनि सीमा बन्दका बेला भारततिर जान खोज्ने गरेको नेपाल प्रहरीका अधिकारीहरूले बताएका छन्।

प्रदेश नं २ मा नेपालबाट भारतीय बजारहरूमा दूध बेच्न लैजाने गरिएकाले अहिले पनि दूध बेच्नेहरू भारततिर जान खोजिरहेका प्रदेश नं २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताए।

उनले भने, "भारतबाट नेपालमा खेती गर्न आउने र नेपालबाट दूध बेच्न भारततिर जान खोज्नेबाट सीमा समस्या भएको हो।"

नेपाल-भारतबीच भन्ने गरिएको 'रोटी-बेटी'को सम्बन्धका कारण बन्दाबन्दीमा पनि नेपालबाट भारत र भारतबाट नेपाल आउन खोज्नेहरूका कारण सीमामा कडाइ गर्न चुनौती थपिएको सिंहले बताए।

नेपालका नागरिकले कतिपय भारतीय स्थानमा खेती गर्ने गरेको तर उनीहरू अहिले भारततिर जान नखोजेको सीमावर्ती कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले बताइन्।

उनले भनिन्, "हाम्रो गाउँपालिकाको वडा नं १ का धेरै मानिसहरूले भारततिर खेती गरेका छन्। तर कोरोनाभाइरसको सङ्क्रमणको त्रासका कारण उनीहरू भारततिर जान चाहेका छैनन्।"