कोरोना भाइरस: समुदायमा कोभिड-१९ सङ्क्रमण नभएको न्यूजील्यान्डको दाबी

न्यूजील्यान्ड

तस्बिर स्रोत, AFP

न्यूजील्यान्डले समुदायमा हुने स्थानीय सङ्क्रमण रोकेको बताउँदै कोरोनाभाइरसलाई निर्मूल पारेको बताएको छ।

केही दिनसम्म दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या एक अङ्कमा मात्रै बढेपछि प्रधानमन्त्री जसिन्डा आर्डनले भाइरस अहिले निर्मूल भएको बताएकी छन्।

तर अधिकारीहरूले यो घोषणाबाट उत्साहित नहुन चेतावनी दिँदै यसको अर्थ नयाँ कोरोनाभाइरस सङ्क्रमण अन्त्य भएको अर्थ ननिकाल्न भनेका छन्।

न्यूजील्यान्डले कडा खाले सामाजिक प्रतिबन्धहरू हटाउनु केही घण्टा अगाडि यो घोषणा भएको हो।

मङ्गलवारबाट स्वास्थ्य सेवा, शिक्षा र अन्य व्यवसायहरू सुचारू हुने गरी प्रतिबन्ध हटाइएको हो।

धेरै मानिसहरू अझै पनि घरमै बस्नुपर्ने र सामाजिक जमघट गर्न नहुने नियमहरू भने कायम छ।

"हामी अर्थतन्त्रलाई खोल्दैछौँ तर मानिसको सामाजिक जीवन खोल्दै छैनौँ," सरकारको नियमित पत्रकार सम्मेलनमा आर्डनले भनिन्।

न्यूजील्यान्डमा १,५०० जनाभन्दा कमलाई सङ्क्रमण छ भने १९ जनाको मात्रै मृत्यु भएको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

'खराब अवस्थाबाट बचियो'

न्यूजील्यान्डका स्वास्थ्य महानिर्देशक एस्ले ब्लूमफिल्डले हालैका दिनमा भएका कम सङ्क्रमणले 'निर्मूल पार्ने लक्ष्य प्राप्त गरेको विश्वास गर्ने' आधार बनेको बताए।

तर उनले यसको अर्थ नयाँ सङ्क्रमण नै नहुने लगाउन नहुने बताउँदै 'यसको अर्थ नयाँ सङ्क्रमण कहाँबाट आइरहेका भने थाहा हुने अवस्था बनाएको' बताए।

आर्डनले न्यूजील्यान्डमा परीक्षण नभएको ठूलो सङ्ख्याको समुदायमा सङ्क्रमण नभएको बताउँदै यो युद्ध जितेको बताइन्।

प्रधानमन्त्री जसिन्डा आर्डन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रधानमन्त्री जसिन्डा आर्डनले भाइरस अहिले निर्मूल भएको बताएकी छन्

तर उनले यही अवस्था राखिरहन देश सावधान अवस्थामा रहनुपर्ने बताइन्।

न्यूजील्यान्डले केही दर्जन सङ्क्रमण मात्रै हुँदा कडा प्रतिबन्धहरू लागु गरेको थियो।

महामारीको रूप लिनु अगाडि नै न्यूजील्यान्डले सीमा नाकाहरू बन्द गरेर वृहत् परीक्षण शुरू गरेको थियो।

आर्डनले त्यति नगरेको भए आफ्नो देशमा दैनिक १,००० नयाँ सङ्क्रमणको अवस्था आइपर्ने थियो भनेकी छन्।