कोरोना भाइरस: स्पेन र इटलीमा मृतकको सङ्ख्या घट्दै, लकडाउन खुकुलो पारिँदै

स्पेन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, स्पेनमा खेल्दै गरेका बालबालिका

कोरोनाभाइरस महामारीबाट अत्यन्त प्रभावित मध्येको एउटा देश स्पेनले गएको २४ घण्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार २ सय ८८ मानिसहरूको मृत्यु भयो। जुन गत मार्च २० तारिखयताकै सबैभन्दा कम हो।

शनिवार त्यहाँ ३ सय ७८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो।

स्वास्थ्य मन्त्रालयले हालसम्म २३ हजार १ सय ९० जनाको मृत्यु भइसकेको जनाएको छ।

बालबालिकालाई राहत

अधिकारीहरूले कोरोनाभाइरस महामारी फैलिएयता पहिलो पटक स्पेनमा एकैदिन ३ सय भन्दा कम मानिसहरूको मृत्यु भएको जनाएका छन्।

यसले भाइरस नियन्त्रण सकारात्मक दिशातर्फ गइरहेको देखाएको उनीहरूको भनाइ छ।

छ सातापछि बालबालिकालाई घरबाट बाहिर निस्कने अनुमति दिएपछि आइतवार स्पेनमा कैयौँ बालबालिकाहरू आफ्नो घरबाट बाहिर निस्किएका छन्।

लकडाउनलाई खुकुलो पार्दै स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्ममा एक घण्टाका लागि घर बाहिर जान अनुमति दिएको छ।

line
Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

गत मार्च १४ देखि उनीहरूले घरबाट बाहिर निस्कन पाएका थिएनन्।

यद्यपि अझै पनि कतिपय प्रतिबन्धहरू जारी नै छन्।

बालबालिकालाई सार्वजनिक पार्क तथा घरभन्दा एक किलोमिटर पर जान भने रोक लगाइएको छ।

कतिपय अभिभावकहरूले विशेषगरी सुपरमार्केटजस्ता सङ्क्रमणको खतरा धेरै रहेको स्थानमा बालबालिकालाई पठाउन चाहेका छैनन्।

इटलीमा लकडाउन खुकुलो पारिँदै

यसैबीच इटलीका प्रधानमन्त्री जुजेपे कोन्टेले दोस्रो चरणको लकडाउनलाई खुकुलो पार्ने क्रम सुरू गरिने बताएका छन्।

टेलिभिजन सम्बोधनमा उनले मे ४ देखि दैनिक जीवनका कतिपय प्रतिबन्धहरू हटाइने बताए।

उनका अनुसार मानिसहरूले मास्क लगाएर सानो संख्यामा आफन्तहरूको घरमा जान पाउनेछन्।

इटली

तस्बिर स्रोत, EPA

पार्कहरू खोलिनेछन् तर विद्यालयहरूले सेप्टेम्बरसम्म कक्षा सुरु गर्ने छैनन्।

इटलीले विश्वकै सबैभन्दा लामो लकडाउन सामना गरेको छ भने युरोपेली देशहरूमा सबैभन्दा धेरैको मृत्यु इटलीमै भएको छ।

इटलीमा अमेरिकापश्चात् सबैभन्दा धेरै २६ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ।

तर हाल त्यहाँ लगातार मृतकको सङ्ख्यामा कमी आइरहेको छ।