कोरोना भाइरस नेपाल: थप तीनजना सहित सङ्क्रमित ४५ पुगे, सातजना निको

तस्बिर स्रोत, MOHP
नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेर ४५ पुगेको स्वास्थ्य मन्त्रालयले बुधवार जनाएको छ।
"धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना जाँचमा थप तीनजनामा सङ्क्रमण पाइएको छ," मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
बुधवार पत्ता लागेका सङ्क्रमितहरू २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष रहेको बताइएको छ।
हाल क्वारन्टीनमा बसिरहेका उनीहरूलाई विराटनगरस्थित कोशी अस्पतालमा लगिने डा. देवकोटाले बताएका छन्।
ती तीनजना सुरुमा उदयपुरमा सङ्क्रमित भेटिएको १२ जनाको टोलीसँगै रहेकाहरू भएको प्रादेशिक अधिकारीहरूले बताएका छन्।
"उनीहरूलाई सुरुमा सङ्क्रमण नदेखिएपनि क्वारन्टीनमा अनि त्यसपछि धरानको अस्पतालमा पठाइएको थियो। अहिले उनीहरूमा पनि सङ्क्रमण भेटियो," प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बीबीसीलाई बताए।
यो सहित उदयपुरमा मात्रै सङ्क्रमितहरूको सङ्ख्या २७ जना पुगेको छ।
सातजना निको भए
देशभर कोरोनाभाइरस सङ्क्रमितमध्ये सातजना निको भइसकेको प्रवक्ता देवकोटाले बताएका छन्।
मङ्गलवार र बुधवार गरी सेती अस्पताल कैलालीबाट दुई जना अनि बुधवार टेकु अस्पतालबाट एकजना डिस्चार्ज भएको उनले बताए।
साथै बुधवार सङ्क्रमित पाइएका तीनजना सहित हाल सबै सङ्क्रमितको अवस्था सामान्य रहेको डा. देवकोटाले जानकारी दिएका छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ









