कोरोना भाइरस नेपाल: लकडाउन भए पनि पुल निर्माण र नदी नियन्त्रणको 'काम भइरहेको छ'

लकडाउनका कारण थुप्रै विकास निर्माण परियोजना अलपत्र परेको बेला विभिन्न अत्यावश्यकीय परियोजनामा यसै साताबाट काम सुरु गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले बताएका छन्।
नेपालमा कोरोनाभाइरस महामारी फैलिन नदिन सरकारले एक महिनादेखि लकडाउन लगाएको छ।
त्यसैले धेरै प्राविधिक तथा मजदुरहरू घर फर्किएका छन्।
तर वर्षाअगावै सक्नुपर्ने परियोजनामा उपलब्ध जनशक्तिबाटै काम थालिएको मन्त्री नेम्बाङले बताएका हुन्।
देशभरि स्थायी र अस्थायी कामदार गरी १५ लाख मजदुर रहेकोमा अहिले निर्माणस्थलमा एक लाखभन्दा कम मजदुर बाँकी रहेको अनुमान निर्माण व्यवसायी महासङ्घको छ।
स्वास्थ्यलाई प्राथमिकता
पुल निर्माण तथा नदी नियन्त्रणजस्ता वर्षाअगाडि नै सक्नुपर्ने काम थाल्ने विषयमा कोरोनाभाइरसको नियन्त्रण र रोकथामका लागि बनेको उच्च स्तरीय संयन्त्रमा पनि कुरा उठेको बताइएको छ।

तस्बिर स्रोत, RSS
"बैठकको निर्देशनअनुसार नै काम अगाडि बढाउने भनेर ५०/६० वटा योजना सञ्चालन गर्ने विषयमा प्रमुख जिल्ला अधिकारीहरूसँग अनुमति लिने काम भइरहेको छ। कतिपय ठाउँमा काम सुरु पनि भइसक्यो," मन्त्री नेम्बाङले भने।
तर यसरी काम अगाडि बढाउँदा मजदुरको स्वास्थ्यलाई प्राथमिकतामा राखिने र उनीहरूले स्वास्थ्यसम्बन्धी नियम पालना गरे नगरेको अनुगमन गर्ने विषयमा निर्णय भएको उनले बताए।
"सामान्य अवस्थामा जस्तै काम गर्ने अवस्था छैन। मजदुरहरूलाई ठूलो सङ्ख्यामा काममा लगाउन सक्ने अवस्था पनि छैन। तर वर्षामा बाढी आउने वा आवतजावतमै असर पर्न सक्ने ठाउँमा चाहिँ काम गरौँ भनेर निर्णय भएको छ," मन्त्री नेम्बाङले भने।
सहजीकरणका लागि निर्देशन
मन्त्रालयले निर्माण व्यवसायीसँग पटकपटक छलफल गरेको निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले बताए।
"मजदुरलाई काम लगाउनका लागि पहिला त उनीहरू मानसिक रूपमा पनि तयार हुनुपर्यो। त्यसपछि उनीहरूको सुरक्षाको सुनिश्चितता हुनुपर्यो। हामीले यिनै विषय उठाएका थियौँ," सिंहले भने।

तस्बिर स्रोत, RSS
"त्यसमा सरकार सकारात्मक देखिएको थियो। अहिले करिब ४०/५० वटा योजनाका काम सुरु भइरहेका छन्।"
कतिपय स्थानमा स्थानीय बासिन्दाले नै काम गर्ने भएकाले समस्या नहुने सिंहले बताए।
मजदुरहरूमा कोरोनाभाइरसको सङ्क्रमण देखा पर्न सक्ने सम्भावना रहेको भन्दै उनीहरूलाई आवश्यक सतर्कताको व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको मन्त्री नेम्बाङले बताए।
"गाडी वा खाद्यान्न वा सुरक्षा व्यवस्थापनको सहजीकरण गरिदिन गृह मन्त्रालयमार्फत् जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने कुरा भएको छ," नेम्बाङले भने।
"अहिले यी सबै कुराको चाँजोपाँजो मिलाउँदैछौँ। अबको एक सातामा करिब डेढ सय परियोजना अघि बढ्छन्।"
सुरु भएका कामको मूल्याङ्कन गरेर थप परियोजनाहरूको विषयमा निर्णय हुने उनले बताए।
सडक निर्माणको काम पूर्वनिर्धारित
लकडाउनको अवस्थामा काठमाण्डू उपत्यकाका कतिपय ठाउँमा सडक कालोपत्रे गर्ने र रङ्गरोगनको काम पनि भइरहेको छ।

"सडक निर्माणलगायतका कामहरू गर्ने समय यही नै हो। तर यसपालि लकडाउनले गर्दा रातिको समय कुर्नुपर्ने अवस्था छैन। यातायात व्यवस्थामा असर नपुर्याई काम गर्न सहज भएको छ," उनले भने।
तर ठूला जलविद्युत् परियोजना भने सामान्य रूपमा गर्न अहिले सम्भव नहुने उनले बताए।
निर्माण व्यवसायी महासङ्घका अध्यक्ष सिंह पनि अब लकडाउन खुले पनि पुरानै अवस्थामा फर्किएर निर्माणका कामले गति अर्को हिउँद नभई लिन नसक्ने बताउँछन्।
प्रभावित परियोजना
लकडाउनका कारण थोरै मात्रै काम बाँकी रहेको भनिएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम प्रभावित बनेको छ।
थोरै मात्रै काम बाँकी रहेको भनिएको मेलम्ची खानेपानी आयोजना पनि प्रभावित भएको छ।
त्यस्तै राष्ट्रिय गौरवका आयोजनामा माथिल्लो त्रिशूली, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मध्य पहाडी लोकमार्ग र हुलाकी लोकमार्ग परियोजना प्रभावित भएको बताइएको छ।
ती परियोजनाका लागि निर्माण सामग्री तथा उपकरण चीन तथा भारतबाट अहिलेको अवस्थामा नेपाल आउन नसक्ने कारण काम प्रभावित भएको उनीहरू बताउँछन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा









