तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाल मृत्युदर बढ्ने जोखिमपछि खोप कार्यक्रम पुन: सञ्चालनमा ल्याइने
- Author, नेत्र केसी
- Role, बीबीसी न्यूज नेपाली
कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण प्रभावित बनेको बालबालिकाहरूको खोप कार्यक्रमलाई पुन: सञ्चालन गर्न लागिएको अधिकारीहरूले बताएका छन्।
तर दादुरा र रुबेलाका लागि सञ्चालन गरिएका विशेष कार्यक्रम भने लकडाउन खुलेपछि मात्रै अगाडि बढाइने बताइएको छ।
खोप लगाउने कार्य नियमित गर्न नसकिए ठूलो स्रोतसाधन परिचालन गरेर कम गरिएको बाल मृत्युदर प्रभावित हुने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्।
निर्देशन
कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण विभिन्न क्षेत्र जस्तै बालबालिकाहरूलाई नियमित रूपमा दिइनुपर्ने खोप कार्यक्रम पनि प्रभावित भएको अधिकारीहरू बताउँछन्।
६ लाख २० हजार बालबालिकालाई हरेक वर्ष नि:शुल्क रुपमा खोप लगाइने कार्यक्रम केही बाहेक अधिकांश ठाउँमा रोकिएका छन्।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले सम्भावित जोखिमको मुल्याङ्कन गर्दै उक्त कार्यक्रम छिट्टै सञ्चालनमा ल्याउन लागिएको बताए।
उनले भने, "खोप सेवा अत्यावश्यक र आधारभूत सेवाभित्र पर्ने भएकाले यसलाई सञ्चालन गर्नु भनेर मन्त्रालयले भनिसकेको छ। त्यसै अनुसार हामीले हाम्रा सबै स्वास्थ्यकर्मीहरूलाई जिल्ला स्वास्थ्य कार्यालय र आपूर्ति केन्द्रहरू अनि स्थानीय प्रशासनसँग समन्वय गरेर यो सेवा सञ्चालन गर्ने भनेका छौं।"
त्यसरी सेवा दिँदा स्वास्थ्यकर्मीहरूले पनि मास्क लगाउने, दूरी कायम गर्ने, भीडभाड नगरी खोप सेवा सञ्चालन गर्न निर्देशन दिइएको पनि गौतमले बताए।
नेपालमा बच्चा जन्मिएपछि पहिलो १५ महिनाभित्र ११ प्रकारका खोप १२ पटक दिने गरिएको छ।
नियमित खोप कार्यक्रम अगाडि बढाइएपनि हाल रोकिएको दादुरा र रुबेलाविरुद्धको विशेष खोप कार्यक्रम भने तत्काल सञ्चालन नहुने डाक्टर गौतम बताउँछन्।
सरकारी तथ्याङ्क अनुसार सन् १९९० देखि २०१६ सम्मको अवधिमा प्रति १ हजार जिवित जन्मिएका २८ दिनसम्मका बालबालिकाको मृत्युका घटना ६० प्रतिशतले घटेको देखाएको छ।
त्यस्तै १ वर्ष सम्मका बालबालिकाको मृत्युदर ६८ प्रतिशत र ५ वर्ष मुनिका बालबालिकाको मृत्युदर ७३ प्रतिशतले घटेको देखिएको छ।
नियमित रुपमा दिइनु पर्ने खोप प्रभावित हुँदा ओरालो लाग्दै गरेको बाल मृत्युदर बढ्न सक्ने चिन्ता विज्ञहरूको छ।
बालस्वास्थ्य महाशाखाका पूर्व निर्देशक डाक्टर विकास लामिछानेले भने, "धेरै वर्षदेखि नियन्त्रणमा रहेको पोलियो फेरि देखिने सम्भावना रहन्छ। क्षयरोग पनि ठूलो समस्याको रुपमा रहेको छ। बीसीजीको खोप पनि अड्किने, पोलियो, दादुरा पनि रोकियो भने त मेरो विचारमा बालमृत्यु दर घटाउने हाम्रो दिगो विकास लक्ष्यमै असर पर्छ। लामो समयसम्म रोक्न मिल्दैन।"
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ