तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा दादुराको प्रकोप बढ्दै, सन् २०२० मा मात्रै १२५ बालबालिकामा सङ्क्रमण
- Author, उमाकान्त खनाल
- Role, बीबीसी न्यूज नेपाली, झापा
कोरोनाभाइरसको विश्वव्यापी महामारीका माझ नेपाललगायत अन्य ३६ देशका बालबालिकामा हुने दादुरा रोग ब्युँतिने विवरण आइरहँदा सन् २०२० मा मात्र दादुराका १२५ बिरामी फेला परेको स्वास्थ्य सेवा विभागले बताएको छ।
गत फागुन र चैत महिनामा सञ्चालित 'दादुरा-रुवेला खोप अभियान' पनि पूर्ण हुन नपाएकाले दादुराका बिरामी अझ बढ्ने जनस्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
विभागका अनुसार अभियानमा तीस लाख बालबालिकामा खोप लगाउने भनिएकोमा चैत १० पछि अभियान रोकिँदा १० लाख बालबालिकाले खोप लगाउन पाएनन्।
त्यसपछि गरिएको बन्दाबन्दीले सम्पूर्ण खोप कार्यक्रम नै प्रभावित भएको विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए।
चार जिल्लामा दादुराका बिरामी
सन् २०२० मा दादुराका बिरामीहरू ललितपुर, सर्लाही, झापा र धादिङ जिल्लामा पाइएको डा. गौतमले जानकारी दिए।
यो साढे तीन महिनाको समयमा १२५ जना दादुराका बिरामी फेला परेको उनले बताए।
उनका अनुसार सन् २०१९ मा देशभर दादुराका बिरामीको सङ्ख्या ४३० रहेका थिए।
खोप रोकिएका कारण आगामी दिनमा बालबालिकामा दादुरालगायत क्षयरोग र पोलियोजस्ता रोगहरू बढ्न सक्ने डा. गौतमले बताए।
उनले भने, "हामीले अत्यावश्यक सेवा रोक्न त मिल्दैन। तर मानिसहरु बालबालिका लिएर खोप लगाउन आउन नपाउने र यातायातका साधन पनि नचलेपछि खोप सेवा बन्द भएको हो। यसले रोगको जोखिम बढ्छ नै।"
बन्दाबन्दीले खोप रोक्यो
नेपालमा कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले जारी राखेको लकडाउनका कारण बालबालिकामा लगाइने सबै प्रकारका खोप कार्यक्रम रोकिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेलले बताए।
पौडेलले भने, "कतै जानसक्ने अवस्था छैन। बालबालिकामा कोरोना सङ्क्रमणको जोखिम पनि हुने भएकाले खोप लगाउने काम सम्भव भएको छैन।"
अहिले स्वास्थ्य मन्त्रालय तथा सेवा विभाग पनि कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाममा केन्द्रित रहेकाले खोप कार्यक्रम सञ्चालन गर्न गाह्रो भएको पौडेलको भनाइ छ।
उनले भने, "दादुरा-रुवेला अभियान त सफल भयो। तर अहिले नियमित खोप रोकियो। गएको मङ्सिरसम्म पैसा नआएर रोकियो, अहिले बन्दाबन्दीले रोकियो।"
उनका अनुसार नेपालमा बर्सेनि छ लाखभन्दा बढी बालबालिकालाई दादुराको खोप दिनुपर्छ।
खोपको 'चेन' बिग्रियो
चाहिएको खोपको परिणाम आपूर्ति हुन नसक्ने तथा स्वास्थ्यकर्मीलाई वितरण गरिने रकम अभावका कारण पनि विगतमा खोप कार्यक्रम प्रभावित हुँदै आएको थियो।
स्थानीय तहलाई आधारभूत स्वास्थ्य सेवा जिम्मा लगाएपछि कति बालबालिकालाई कुन-कुन खोप लगाइँदैछ भन्ने तथ्याङ्क पाउन मुस्किल परेका बेला बन्दाबन्दी भएपछि रोकिएको खोपको 'चेन' बिग्रने स्थितिमा पुगेको जनस्वास्थ्य विज्ञ भोगेन्द्र डोटेल बताउँछन्।
विश्वका सबै देश कोभिड १९ रोक्न लागिरहेको अवस्थामा एकैपटक धेरै खोप माग हुँदा नपाइने चिन्ता भएको उनले बताए।
उनले भने, "अन्य मुलुकमा पनि खोपको उस्तै अवस्था होला। हामीले अन्य देशबाट खोप आयात गर्छौं। ती देशमा उत्पादन बन्द भयो वा उत्पादनमा कमी आयो भने हामीलाई धेरै गाह्रो हुन्छ।"
अहिले नै खोपको श्रृङ्खला बिग्रेको अवस्था भएको र खोप नपाउने अवस्था आए सङ्क्रामक रोगको प्रकोप झन् भयावह हुने उनको भनाइ छ।