तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: यूकेमा मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो, ‘खोप सेप्टेम्बर सम्ममा’
यूकेमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आइतवार १०,००० नाघेपछि सरकारको चर्को आलोचना शुरू भएको छ।
त्यहाँका एक प्रसिद्ध वैज्ञानिक सर जेरेमी फार्रारले युरोपकै सबैभन्दा प्रभावित मुलुक यूके बन्न सक्ने चेतावनी दिएका छन्।
रोयल कलेज अफ सर्जन्सका उपाध्यक्ष सु हिलले भने यूकेमा ३०,००० जनासम्मको कोरोनाभाइरसका कारण मृत्यु हुनसक्ने बताएकी छन्।
यसैबीच अक्सफोर्ड विश्वविद्यालयका एक प्राध्यापकले सेम्टेम्बरसम्ममा सबैका लागि कोरोनाभाइरसको खोप उपलब्ध हुनसक्ने दाबी गरेका छन्।
सरकारको आलोचना
"मन्त्रीहरू दिनका दिन उभिएका छन्, युद्धको बेलाजस्तो ठूलो कुरा भनेर हामीलाई सम्बोधन गरेका छन् जबकि यो समयमा उनीहरूले अस्पतालका वार्डमा केही प्लास्टिक र कागज [पीपीई] पुर्याउनेजस्ता केही साधारण काम गरेपनि सहयोग हुन्थ्यो," हिलले भनिन्।
भूतपूर्व जनस्वास्थ्य निर्देशक प्राध्यापक जोन एस्टनले सरकारलाई अस्पतालमा मृत्यु हुने मात्रैको सङ्ख्या सार्वजनिक गरेको र हेरचाह केन्द्र वा समुदायमा मृत्यु हुनेहरूको सङ्ख्या नबताएको भन्दै पूर्ण इमान्दार हुन आग्रह गरे।
"सामाजिक सञ्जालमा हामीलाई यकिन तथ्याङ्क नदिइएको भन्दै धेरै चिन्ता व्यक्त भएका छन्। मानिसहरूलाई वयस्कजस्तो व्यवहार गर्नुपर्यो," उनले भने।
चिकित्सक लगायत एनएचएसका दर्जनौँ कर्मचारीहरूको मृत्यु भएको छ र त्यसरी मृत्यु हुनेमा अश्वेत, एशियाली र अल्पसङ्ख्यकको अनुपात बढी रहेको बताइएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
"सेप्टेम्बरसम्ममा खोप"
खोपविज्ञ प्राध्यापक सारा गिल्बर्टले बीबीसी रेडिओ ४ को टुडे कार्यक्रममा कोरोनाभाइरसको खोपको परीक्षण चाँडै शुरू हुने र चाँडै नै उत्पादन प्रकिया थाल्नु पर्ने बताएकी छन्।
उनले सेप्टेम्बरसम्म यस्तो खोप उपलब्ध हुने बताइन्।
"हामीले ठूलो सङ्ख्यामा खोप उत्पादन गर्न थाल्नुपर्छ," उनले बताइन्।
"औषधी निर्माताहरूले परीक्षण अगावै खोप उत्पादन गर्न थाल्नु नौलो कुरो होइन। परीक्षणबाट सफल भएको खोप उपलब्ध नहुने अवस्था कसैले पनि चाहँदैन।"
"हामीलाई खर्बौँको सङ्ख्यामा खोप चाहिन्छ त्यसैले जति छिटो शुरू गर्यो उति छिटो त्यो प्राप्त गर्छौँ।"
"त्यति सङ्ख्यामा सायद हामीले यो वर्ष उत्पादन गर्न सक्दैनौँ होला तर अहिले शुरू गरेन भने आर्को वर्ष पनि सम्भव हुँदैन।"