कोरोना भाइरस: पश्चिम पहाडका उच्च जोखिमका ७०० नमुना परीक्षण, 'सबै नतिजा' शनिवार

तस्बिर स्रोत, RSS
भारतबाट ठूलो सङ्ख्यामा भित्रिएका नेपालीहरू कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको ठानेर हेलिकप्टर र स्काई ट्रकबाट ल्याइएका पश्चिम पहाडका चार जिल्लाका नमुना काठमाण्डूमा परीक्षण गरिएको छ
यो परीक्षणको नतिजा शनिवारसम्म आइपुग्ने अधिकारीहरूले बताएका छन्।
नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डू ल्याइएका ७०० भन्दा बढी नमुनाको परीक्षण सुरु गरिएको अधिकारीहरूले जनाएका छन्।
सुदूरपश्चिमका दुई र कर्णाली प्रदेशका दुई जिल्लाबाट नेपाली सेना र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्वास्थ्यकर्मीहरूले ती नमुना सङ्कलन गरेका हुन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाका अनुसार कर्णाली प्रदेशबाट ८५ र सुदूरपश्चिम प्रदेशको डडेल्धुराबाट १९९ र बैतडीबाट ४२५ जना गरी ७०९ जनाको नमुना ल्याइएको छ।
किन रोजियो ती ठाउँ?
भारतबाट ठूलो सङ्ख्यामा आएकाले ती जिल्लालाई छनौट गरिएको अधिकारीहरूको भनाइ छ।
ती जिल्लाहरूमा रहेका क्वारन्टीनमा रहेकाहरूको नमुना परीक्षणका निम्ति ल्याइएको हो।
प्रवक्ता डा. देवकोटाले भने, "भौगोलिक विकटता भएकाले हेलिकप्टरबाट ल्याउनु परेको हो। एकैपटक धेरै मानिस आएकाले सम्भावित जोखिममा रहेको पनि भन्न सकिन्छ।"
अछामका चार ठाउँबाट पनि नमुना ल्याइएको बताइएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार ती नमुना परीक्षण सुरु भइसकेको र शनिवारसम्म नै नतिजा आउने छ।

तस्बिर स्रोत, RSS
परीक्षण नतिजामा चासो
प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार चारवटा जिल्लाहरू सहितबाट प्रयोगशालामा शुक्रवारसम्म झन्डै ९०० वटा नमुना आएको छ।
उनले भने, "शनिवारसम्ममा ती सबैको नतिजा आउँछ।"
स्वास्थ्य अधिकारीहरूले ती नमुनाको नतिजालाई अलि बढी नै चासोका साथ हेरिएको जनाएका छन्।
एकजना अधिकारीले भने, "ती नतिजाबाट हाम्रो सम्भावित जोखिमको दायरा आकलन गर्न धेरै हदसम्म सहयोग गर्छ।"
राष्ट्रिय प्रयोगशालामा तीन दिनयता सरदर ४५० वटा जति नमुना परीक्षण भइरहेका छन्।
सूचना अधिकारी गुप्ताका अनुसार बिहान सात बजेबाट मध्यरातसम्म परीक्षण गर्ने गरिएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

चिनियाँ किटबाट पनि परीक्षण
आवश्यकताका आधारमा एक दिनमा १,००० वटा नमुना परीक्षण गर्न सक्ने प्रयोगशालाको क्षमता रहेको अधिकारीहरूले जनाएका छन्।
निकै विवादित बनेको चीनबाट ल्याइएका किटबाट पनि परीक्षण थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
क्वारन्टीनमा रहेकाहरूको परीक्षणका निम्ति हरेक प्रदेशमा ५,००० र्यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी किट वितरण सम्पन्न भएको छ।
त्यसको प्रयोग गरेर कैलालीमा ३३९, कञ्चनपुरमा १३७, कपिलबस्तुमा २१, बाग्लुङमा १९ वटा परीक्षण गरिएको र कसैमा सङ्क्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उक्त परीक्षणको निम्ति म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई तालिम दिइएको बताइएको छ।
क्वारन्टीनमा आठ हजार
देशभरी रहेका क्वारन्टीनमा ८,८६० जना छन्।
जोखिममा रहेका ठानिएकाहरू अलग्गिएर राख्ने विधि आइसोलेशनमा रहनेको सङ्ख्या १२५ छ।
विराटनगरमा शुक्रवारबाट सुरु भएसँगै देशभरी ११ स्थानमा कोरोनाभाइरस परीक्षण सुविधा उपलब्ध भएको छ।
अहिलेसम्म नेपालमा नौजनामा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ। जसमध्ये एकजना निको भइसकेका छन्।
बाँकी आठजनामध्ये चारजनाको सुदूरपश्चिम तथा बाग्लुङ र काठमाण्डूमा दुई-दुईजनाको उपचार भइरहेको छ।
सबैको स्वास्थ्य सामान्य रहेको बताइएको छ।








