कोरोना भाइरस: विश्वभरि मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या एक लाखनजिक

कोरोनाभाइरस

तस्बिर स्रोत, Reuters

कोरोनाभाइरसका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या एक लाखनजिक पुगेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

उसका अनुसार विश्वभरि सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १६ लाख नाघेको छ।

उक्त विश्वविद्यालयका अनुसार कोरोभाइरसका कारण इटलीमा सबैभन्दा बढी मृत्युका घटना भएका छन्।

त्यहाँ १८ हजारभन्दा बढीको ज्यान गएको छ भने करिब डेढ लाख मानिसमा सङ्क्रमण पुष्टि भएको छ।

त्यसपछि अमेरिकामा १६ हजार ७०३ जना व्यक्तिले कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाएका छन्।

तर सङ्क्रमणको हिसाबले अमेरिका तालिकामा सबैभन्दा अगाडि छ, जहाँ चार लाख ६० हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको पाइएको छ।

तेस्रो बढी मृत्युको घटना स्पेनमा भएको छ, जहाँ १५ हजार ८४३ जनाले ज्यान गुमाएका छन्।

त्यहाँ कोरोनाभाइरसबाट सङ्क्रमित मानिसहरूको सङ्ख्या करिब एक लाख ५७ हजार छ। त्यसपछि फ्रान्समा धेरै मानिसको मृत्यु भएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा १२ हजार २२८ जनाको मृत्यु भएको छ भने करिब एक लाख १९ हजार व्यक्तिमा सङ्क्रमण भएको पाइएको छ।

कोरोनाभाइरस

तस्बिर स्रोत, Reuters

मृतकको हिसाबले यूके पाँचौँ स्थानमा छ, जहाँ करिब आठ हजार मानिसको मृत्यु भएको छ। सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या करिब ६६ हजार छ।

भारतमा सङ्क्रमित हुनेहरूको सङ्ख्या करिब सात हजार छ भने २२९ जनाको मृत्यु भएको छ।

द नेदरल्यान्ड्सका अधिकारीहरूले कोरोनाभाइरसका कारण मृत्यु हुनेहरूको सङ्ख्या सोचेभन्दा दुई गुणाले बढी हुन सक्ने बताएका छन्।

एप्रिल महिनाको पहिलो सात दिनमा एउटा औसत हप्ताको भन्दा दुई हजार बढी मानिसको ज्यान गएको तथ्याङ्कले देखाउँछ।

ती सबै मृत्यु कोरोनाभाइरस महामारीकै कारणले भएको हुन सक्छ। त्यो सङ्ख्या अभिलेख गरिएको कोभिड-१९ बाट मृत्यु हुनेहरूको सङ्ख्याभन्दा दुई गुणाले बढी हो।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर