कोरोना भाइरस: विदेशमा काम गुमाएका नेपालीहरूको घर फर्कने अनिश्चितता

    • Author, सृजना श्रेष्ठ
    • Role, बीबीसी संवाददाता

कोरोनाभाइरसले विभिन्न व्यवसाय बन्द हुन पुग्दा विदेशमा रहेका कैयौँ नेपालीलाई प्रत्यक्ष प्रभाव परेको छ र वैदेशिक रोजगारका लागि विदेश पुगेका थुप्रै नेपालीले रोजगारी गुमाएका छन्।

बेतलबी बिदामा राखिएका वा रोजगारी गुमाएका नेपालीहरू लकडाउनका कारण स्वदेश फर्कन सकेका छैनन्।

बीबीसी न्यूज नेपालीको सम्पर्कमा आएका विभिन्न देशमा कार्यरत थुप्रै नेपाली कामदारहरूले रोजगारी गुमाउने अवस्थामा रहेको बताएका छन्।

उनीहरूले कतिपयलाई कम्पनीले घर जान भनेको र केहीले रोजगारी नै गुमाएको अवस्था छ तर घर फर्कन नसकेको जानकारी दिएका छन्।

'घर जान भनियो तर एअरपोर्ट बन्द छ'

माल्दिभ्सको हलिडे इन होटलमा 'वेट्रेस'को रूपमा काम गर्ने २१ वर्षीया मन्जिता लिम्बुले जागिर गुमाएकी छिन्।

लिम्बु भन्छिन्, "काम गरिरहेको होटल केही महिनाको लागि बन्द हुँदैछ र कम्पनीले मलाई घर फर्कन भनेको छ। तर लकडाउनका कारण म घर फर्कन सक्ने अवस्था छैन।"

उनका अनुसार अन्य देशका नागरिकहरूले उनीहरूका सरकारले उद्दार गर्ने बताएका छन्। केही दिनमा त्यहाँ नेपालीहरू मात्र बाँकी भइने हो कि भन्ने चिन्ताले पनि उनीहरूलाई सताएको छ।

मल्दिभ्सकै अर्को रिसोर्टमा काम गर्ने काभ्रेका बालाकुमार जोशीलाई पनि कामबाट तीन महिनाका लागि बिदा दिइएको र जागिरको कुनै सुनिश्चितता नभएको स्थितिमा नेपाल फर्कनुपर्ने बाध्यता छ।

"मैले काम गर्ने रिसोर्टमा पर्यटकहरू छैनन् त्यसैले कम्पनीले केही महिनाको लागि घर फर्कनु भनेको छ। तर सरकारले जहाज नपठाएसम्म म जान सक्दिन।"

देश फर्कन समस्या

यसैगरि संयुक्त अरब इमिरेट्स यूएइ मा विगत छ महिनदेखि कार्यरत सन्दीप महर्जनलाई कम्पनीले कामबाट निकालिदिएको छ।

"काम नै नभएपछि समस्या हुन्छ, यहाँ किन बस्ने? हाम्रो लागि नेपालमा समेत एअरपोर्ट बन्द छ, स्वदेश नै फर्कन नपाउने यो कस्तो अवस्था हो?" २८ वर्षीय महर्जनले भने।

सरकारले कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै २० मार्च मध्यरातदेखि लागु हुनेगरि १५ एप्रिलसम्म कोरोना सङ्क्रमित देशबाट हवाई आगमनमा प्रतिबन्ध लगाएको छ।

विभिन्न देशमा रहेका नेपालीहरू प्रतिबन्धका कारण नेपाल फर्कन सकिरहेका छैनन् र प्रतिबन्ध खुल्ने आशामा बसिरहेका छन्।

संसारभर फैलिएको कोरोनाभाइरसका कारण नेपालसहित धेरै देशहरू लकडाउनमा छन् र उडानहरू बन्द छन्।

कहाँ कति नेपाली छन्?

मलेसिया, साउदी अरब, यूएई, कतार र कोरियालगायत विभिन्न देशमा ४० लाख भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीमा रहेको बताइन्छ।

नेपाली कामदार जाने गरेका गन्तव्य मुलुकहरूमध्ये कतार, कुवेत र साउदी अरबमा कोरोनाभाइरस चर्को सङ्क्रमण देखिएको छ।

वैदेशिक रोजगारमा रहेका कति नेपालीहरूलाई कामबाट बिदा दिइएको छ वा जागिरबाट निकालिएको छ भन्ने तथ्याङ्क नभए पनि होटल तथा स्वागत सत्कार (हस्पिटालिटी) क्षेत्रमा काम गर्ने नेपालीहरू सबैभन्दा प्रभावित भएको बताइएको छ।

नेपाल माल्दिभ्स मैत्री समाजका संयोजक मेघनाथ भुसाल भन्छन्, "कोरोनाभाइरसका कारण माल्दिभ्समा धेरै रिसोर्टहरू बन्द भएका छन् जसले गर्दा करिव २,००० नेपाली कामदारहरूले काम गुमाएका छन्।"

कामदारलाई फर्काउने योजना छ?

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका उपाध्यक्ष कमल तामाङले अहिलेको जटिल अवस्थामा कोही पनि नेपाली कामदारहरू कामबाट निकालिएर अलपत्र नपरेको दाबी गरेका छन्।

"अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन किनकी कम्पनी मार्फत् गएका कामदारहरू कोही पनि कामबाट निकालिएर अलपत्र परेका छैनन्। धेरै जसो कम्पनीहरूले आंशिक रूपमा भएपनि तलब दिएर कामदारहरूलाई राखेका छन्," तामाङले भने।

गन्तव्य मुलुकहरूमा रहेका नेपाली दूतावाससँग सङ्घ निरन्तर सम्पर्कमा रहिरहेको र अलपत्र परेका केही खबर नपाएको अवस्थामा समस्यामा परेका नेपालीहरूलाई उद्धार गर्न छलफल गरिरहेको जानकारी उनले दिए।

यस्तो स्थितिमा नेपाली कामदारहरूलाई स्वदेश फर्काउन सरकारले के तयारी गरिरहेको छ भन्ने बीबीसीको प्रश्नमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, "प्रधानमन्त्रीको सम्बोधनमा उहाँले जे भन्नुभयो, त्यही नै हो। त्यसमा मैले केही थप्न जरूरी छ जस्तो लाग्दैन।"

प्रम ओलीले के भने?

मङ्गलवार देशवासीको नाममा गरिएको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए:

"नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरूसँग मैले टेलिफोन सम्वाद सुरु गरेको छु।"

"परराष्ट्र मन्त्रालयले निरन्तर आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ। मेरो आग्रह छ सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ, सङ्कटका काला बादल हटेर जानेछन्।"