कोरोना भाइरस अमेरिका: एकै दिनमा सर्वाधिक कोभिड-१९ बिरामीको मृत्यु, ट्रम्पद्वारा डब्ल्यूएचओको चर्को आलोचना

तस्बिर स्रोत, Getty Images
संयुक्त राज्य अमेरिकामा मङ्गलवार कोरोनाभाइरस सङ्क्रमणका कारण एकै दिनमा सर्वाधिक १,८०० जनाभन्दा बढीले ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार यससँगै अमेरिकामा कोभिड-१९ भएर मृत्यु हुने मानिसको सङ्ख्या करिब १३,००० पुगेको छ।
अमेरिकामा अहिलेसम्म झन्डै चार लाख मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
विश्वभरि सङ्क्रमित मानिसको सङ्ख्या १४ लाखभन्दा बढी छ। देशहरूमध्ये अमेरिकामा सर्वाधिक सङ्क्रमण देखिएको छ।
एउटा पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका सङ्क्रमणको सबैभन्दा उच्चबिन्दुमा पुगेको हुन सक्ने बताए।
यसअघि एप्रिल ४ मा अमेरिकामा १,३४४ जनाको कोभिड-१९ का कारण मृत्यु भएको थियो। तीन दिनपछि मृतकको सङ्ख्या झन् बढेको हो।
केही राज्यबाट विवरण आउन बाँकी भएकाले उक्त सङ्ख्या अझै बढ्ने बताइन्छ।

तस्बिर स्रोत, Getty Images
यसैबीच अमेरिकी गायक र गीतकार जन प्राइनको परिवारले कोरोनाभाइरससँग सम्बन्धित जटिलताका कारण उनको मृत्यु भएको पुष्टि गरेको छ।
मङ्गलवार ७३ वर्षको उमेरमा उनको निधन भएको थियो।
उनकी पत्नीमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो तर उपचारपछि उनी निको भएकी थिइन्।
गत महिना लक्षणहरू देखिएपछि अस्पताल लगिएका प्राइनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

न्यूयोर्कमा अवस्था के छ?
अहिलेसम्म सर्वाधिक मानवीय क्षति न्यूयोर्कमा भएको छ।
अमेरिकामा कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु भनिएको त्यहाँ मङ्गलवार ७३१ जनाले ज्यान गुमाएका थिए।
न्यूयोर्कका गर्भनरले महामारीको उत्कर्षमा आफ्नो राज्य पुग्न लागेको बताएका छन्। त्यहाँ अस्पताल र सघन उपचार कक्षमा भर्ना लिने क्रम घटेको भनिएको छ।
गभर्नर एन्ड्रू क्वोमोले मानिसहरूलाई घरभित्रै बस्न र व्यक्तिगत दूरी कायम राखिराख्न सुझाव दिएका छन्।
सङ्क्रमण बढ्दै गएको र घरभित्रै बस्ने आदेशका माझ अर्को राज्य विस्कन्सनमा निर्वाचनको निर्धारित कार्यक्रम मङ्गलवार अघि बढेको छ।
राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओबारे के भने?
पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले आफू थप छलफल गर्न अनिच्छुक भएको उल्लेख गर्दै विगतमा भनिएभन्दा केही समय पहिला नै अमेरिकाको अवस्था राम्रो हुन सक्ने बताए।

तस्बिर स्रोत, Getty Images
राष्ट्रपति ट्रम्पको कार्यदलका अनुसार कोरोनाभाइरस महामारीका कारण २,४०,००० मानिसले अमेरिकामा ज्यान गुमाउन सक्ने अनुमान गरेको थियो।
उनले अमेरिका सङ्क्रमणको उत्कर्षमा पुगेको हुन सक्ने पनि बताए।
राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनको आलोचना गर्दै उसले गलत सुझाव दिएको र आफूलाई चीनमा बढी केन्द्रित गरेको आरोप लगाएका थिए।
उनले भने, "डब्ल्यूएचओले स्थितिलाई वास्तवमै सम्हाल्न नसकिने बनाइदियो। (उसलाई) कारणवश सबैभन्दा बढी स्रोत अमेरिकाले उपलब्ध गराइरहेको छ तर (उक्त सङ्गठन) चीनमुखी छ।"
उनले अमेरिकाले डब्ल्यूएचओलाई उपलब्ध गराउँदै आएको रकम रोक्ने पनि बताए।
यसैबीच कोरोनाभाइरस महामारीको उद्गमस्थल मानिएको चीनको वुहानमा ११ साता लामो लकडाउन अन्त्य गरिएको छ।









