कोरोनाभाइरस: अमेरिकीहरूलाई आउँदा कठिन दिनका लागि तयार रहन ट्रम्पको आग्रह

ट्रम्पले अमेरिका 'अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको' बताएका छन्।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, ट्रम्पले अमेरिका 'अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको' बताएका छन्।

अमेरिकाले कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा चीनलाई उछिनेको पृष्ठभूमिमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साताको समय 'निकै असहज र चुनौतीपूर्ण हुने' बताएका छन्।

उनले अमेरिका 'अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको' बताएका छन्।

ह्वाइटहाउसले अमेरिकामा महामारीले एक लाखदेखि दुई लाख ४० हजारको बीचमा मानिसहरूको ज्यान लिनसक्ने जनाएको छ।

चीनमा भन्दा धेरैको मृत्यु

विश्वमै सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म तीन हजार छ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

अधिकारीहरूले त्यहाँ तीस दिनको सामाजिक दूरी कायम गर्नेजस्ता कदमले सङ्क्रमितको सङ्ख्या कम गर्ने बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसबाट जोगिन दुई मिटर दूरी कसरी राख्ने?

तर सुरुमा यस भाइरसलाई 'मौसमी रुघाखोकी' भन्दै कम आँकेको र ढिलो कदमहरू चालेको भन्दै ट्रम्प आलोचित बन्दै आएका छन्।

ट्रम्पले भने चीनमा भाइरसको सङ्क्रमण सुरु भएदेखि नै आफू यसको क्रूरताबारे सचेत भएको बताएका छन्।

'आशाको संचार'

पहिलेदेखि नै मानिसहरू नआत्तिउन् भन्ने आफूले चाहेको बताउँदै ट्रम्पले भने: "आशा गरौँ यो महिनाको अन्त्यसम्म यो जानेछ।"

"यस युद्ध जित्न हामी सबैको साझा भूमिका छ।"

अमेरिका

तस्बिर स्रोत, AFP

ह्वाइटहाउसका कोरोनाभाइरस मामिला हेर्ने संयोजक डा डेबोरा ब्रिक्सले यस सङ्कटबाट पार पाउन 'कुनै जादुजस्तो खोप वा चिकित्साविधान नरहेको' बताइन्।

"तर मानिसहरूको व्यवहारमा परिवर्तन ल्याएर आउँदा तीस दिनमा नयाँ मोड दिन सकिन्छ," उनले भनिन्।

ट्रम्पले यसअघि आफूले बताएको एउटा औलोविरूद्धको उपचारपद्धति कोभिड १९ का लागि संभवत 'पूर्णपरिवर्तनकारी' हुनसक्ने भनाइमा पुन: जोड दिएका छन्।

उनले कोरोनाभाइरसविरूद्धको खोपको प्रगति आफूले अधिकारीहरूलाई दैनिक सोध्ने पहिलो प्रश्न रहने गरेको बताए।

नौसेनाद्वारा जीवनरक्षाको आग्रह

लडाकू विमानहरू बोक्ने विश्वको एउटा ठूलो युद्धपोत 'यूएसएस थियडोर रुजवेल्टका कमाण्डरले भाइरस सङ्क्रमणको जोखिम बढेकोले जहाजमा रहेका चार हजारभन्दा बढी नौसैनिकहरूको जीवनरक्षा गर्न आग्रह गरेका छन्।

अमेरिकी नौसेनाको नेतृत्वलाई क्याप्टेन ब्रेट क्रोजिअरले लेखेको चार पृष्ठ लामो एउटा विस्तृत पत्रमा सङ्क्रमणको फैलावटसँग जुझ्नका लागि युद्धपोतमा स्थान अभाव भएको बताइएको छ।

क्याप्टेन क्रोजिअरले भनेका छन्: "हामी युद्धमा छैनौँ। त्यसैले नौसेनिकहरू मर्ने अवस्था आउनु हुँदैन"

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, क्याप्टेन क्रोजिअरले भनेका छन्: "हामी युद्धमा छैनौँ। त्यसैले नौसैनिकहरू मर्ने अवस्था आउनु हुँदैन"

क्रोजिअरले आफ्नो पत्रमा प्रभावित सैनिकहरूलाई पानीजहाजबाट हटाउन र एक्ल्याएर राख्न 'निर्णायक कदम'को माग गरेका छन्।

क्याप्टेन क्रोजिअरले भनेका छन्: "हामी युद्धमा छैनौँ। त्यसैले नौसैनिकहरू मर्ने अवस्था आउनु हुँदैन।"

हाल उक्त जहाज अहिले प्रशान्त महासागरको पश्चिममा पर्ने अमेरिकी भूभाग ग्वाम टापुमा छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर