कोरोनाभाइरस: मर्सिडिज फर्मूला वानले कोभिड-१९का बिरामीको लागि सास फेर्न सघाउने उपकरण बनाउँदै

तस्बिर स्रोत, JAMES TYE/UCL
- Author, फर्गस वाल्श
- Role, चिकित्सा संवाददाता
कोरोनाभाइरस सङ्क्रमण भएका गम्भीर बिरामीलाई सघन उपचार कक्षमा लैजानु पर्ने अवस्थाको अन्त्य गर्न सक्ने सास फेर्न सघाउने केही उपकरण एक हप्ताभन्दा कम समयमा बनाइएको छ।
यूनिभर्सिटी कलेज लन्डनका इन्जिनियरहरूले त्यहाँको अस्पताल र मोटरकार निर्माता कम्पनी मर्सिडिजको फर्मूला वानसँग मिलेर त्यो यन्त्र बनाएका हुन्। त्यसले फोक्सोमा अक्सिजन पठाउने भेन्टिलेटर भन्ने यन्त्र प्रयोग नगरिकनै फोक्सोमा अक्सिजन पठाउन सक्छ।
कन्टिनिअस पोजिटिभ एअरवे प्रेसर (सीपीएपी) नाम गरेका उपकरणहरू यसअघि पनि अस्पतालहरूमा प्रयोग हुने गरेको छ। तर तिनको पर्याप्त आपूर्ति हुन सकेको छैन।
चीन र इटलीमा कोभिड-१९का बिरामीको उपचारमा ती उपकरणको प्रयोग गरिएको छ।
अहिले बनाइएका ४० वटा नयाँ सीपीएपी उपकरण युनिभर्सिटी कलेज अफ लण्डनको अस्पताल र अन्य तीन अस्पतालमा पठाइएको छ। अहिले जारी परीक्षण सफल भए मर्सिडिज एएमपी एचपीपीले प्रतिदिन १,००० का दरले त्यस्तो उपकरण बनाउन सक्नेछ।
ब्रिटेनको औषधि तथा स्वास्थ्यउपचार सामग्री नियामक निकाय एमएचआरएले तिनको प्रयोग गर्न आवश्यक स्वीकृति दिइसकेको छ।
द्रुत प्रतिक्रिया
युनिभर्सिटी कलेज लण्डनको हेल्थकेयर इन्जिनियरिङकी प्राध्यापक रेबेका शिप्लेले बीबीसीसँग भनिन्: "चिकित्सा उपकरण निर्माण गर्न सामान्य अवस्थामा वर्षौँ लाग्छ तर यसपटक हामीले केही दिनमै बनाउने उपाय निकालेका छौँ। अहिले नै चलनचल्तीमा रहेको उपकरणलाई फेरि चलाएर छिटो र धेरै उत्पादन गर्न सक्ने भएका छौँ।"
त्यसक्रममा बिरामीले प्रयोग नगरेको सीपीएपी उपकरणको नक्कल गरेर त्यसको प्रारूप र ढाँचामा सुधार गरेर धेरै मानिसले प्रयोग गर्ने गरि उत्पादन गर्न लागिएको बताइएको छ।
इटलीको लोम्बार्दी क्षेत्रमा सीपीएपी उपकरण लगाइएका कोरोनाभाइरस सङ्क्रमित बिरामीहरू मध्ये ५० प्रतिशतलाई शरीरमा यान्त्रिक भेन्टिलेशन दिने भेन्टिलेटरको आवश्यकता नपरेका विवरण प्राप्त भएका छन्।
युनिभर्सिटी कलेज लन्डन अस्पतालकी सघन उपचार परामर्शदाता प्राध्यापक मेर्भिन सिङ्गर भन्छिन्: "यी उपकरणले सामान्य अक्सिजन मास्क र बिरामीलाई लठ्याएर दिइने यान्त्रिक भेन्टिलेशनको बीचमा रहेर काम गर्छन्।
"यी उपकरणले भेन्टिलेटर भन्ने उपकरण अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्ने वातावरण बनाउन सहयोग गर्छन्।"
सीपीएपीले कसरी काम गर्छ?

तस्बिर स्रोत, JAMES TYE/UCL
सीपीएपीले बिरामीको मुख र नाकबाट हावा र अक्सिजनको निरन्तर प्रवाह गर्छन्।
दबावसहित त्यसो गर्दा फोक्सो खुला रहन्छ र त्यहाँबाट छिर्ने अक्सिजनको परिमाण बढ्न जान्छ।
कोभिड-१९ का बिरामीहरूमा फोक्सोभित्र रहने अक्सिजन लिने स्याक भनिने स्याना कोठाहरू बन्द भएर श्वासप्रश्वासमा समस्या हुने गरेको पाइएको छ। तर सीपीएपी उपकरण प्रयोग गर्दा बिरामीलाई सास लिन पनि बल प्रयोग गर्नु पर्दैन।
तर बिरामीको मास्कमा चुहावट हुँदा त्यहाँबाट भाइरस निस्किने र स्वास्थ्यकर्मीमा फैलिनसक्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मास्क वरीपरी हावा नचुहिने कुनै सीलको प्रयोग गरेमा त्यो जोखिम कम हुने उनीहरूको भनाइ छ।
सीपीएपी प्रयोग
इटलीको लोम्बार्दीमा २,००० भन्दा बढी कोभिड-१९का बिरामीहरूले अहिले सीपीएपी प्रयोग गरिरहेका छन्।
मर्सिडिजका एक अधिकारी एयान्डी कोवेलले भने, "फर्मूला वानले अहिले सहयोगी हात बढाएको छ। हामी स्रोत साधन प्रयोग गरेर उच्च कोटीका सीपीएपी उपकरण छोटो समयमा उत्पादन गर्न लागिरहेका छौँ।"
त्यो उपकरणको लागि आवश्यक अक्सिजन अनुगमन गर्ने मोनिटरको उत्पादनको लागि अर्को सानो उद्योग अक्स्फोर्ड ओप्ट्रोनिक्सले सहकार्य गरिरहेको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरसकसरी जोगिने?
- सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ










