कोरोनाभाइरस: चीनबाट आएका सामग्री 'वितरण गर्न सुरु', बुटवलमा मृत्यु भएका बिरामीको नमुना परीक्षण हुन बाँकी

चिनियाँ सहयोग

तस्बिर स्रोत, twitterPRCAmbNepal

कोरोनाभाइरसको सङ्क्रमण नेपालमा देखिएयताकै धेरै परिमाणमा रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक मानिएका स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयले पाएको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार ती सामग्री आइतवारदेखि नै विभिन्न प्रदेशलाई वितरण गर्न थालिएको छ।

प्रयोगशालाको विस्तार गरेर कोरोनाभाइरस परीक्षण क्षमता बढाउन आवश्यक सामग्रीका साथै उपचार र निगरानीमा खटिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षामा प्रयोग गर्ने परिधान (पीपीई) को माग बढेको बेला मन्त्रालयले ती सामग्री पाएको हो।

सरकारले खरिद गरेका सामान सम्बन्धित कम्पनीले मन्त्रालयलाई बुझाएका छन्। चीनको सहयोगमा आएका सामग्री चिनियाँ राजदूत होउ याङ्छीले नेपालका स्वास्थ्यमन्त्री तथा अन्य अधिकारीहरूलाई हस्तान्तरण गरेकी छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

शनिवार राति आएको विमानमा चीनको सिचुवान प्रान्त सरकार, सिचुवान इन्भेस्टमेन्ट ग्रूप र बेइजिङस्थित नेपाली दूतावासमा प्राप्त सामान थियो।

सोही उडानमा चीनको प्रख्यात प्रविधि कम्पनी अलिबाबाको फाउन्डेशन र ज्याकमा फाउन्डेशनले पठाएको सामग्री रहेको बताइएको छ।

नेपालले किनेको सामग्री कहिले आउँछ?

नेपालले चीनको एक कम्पनीबाट किनेको एक करोड तीन लाख अमेरिकी डलर बराबरको सामग्रीमध्ये केही समान मात्रै आएको र बाँकी सामान यो साता (एप्रिल २ र ५ तारिखमा) ल्याइने बताइएको छ।

चिनियाँ सहयोग

तस्बिर स्रोत, twitterPRCAmbNepal

चीनबाट ल्याइएका समान १९ प्रकारका छन्।

तिनमा मेडिकल उपकरण, कोरोनाभाइरस जाँच गर्ने किट र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षामा प्रयोग गर्ने परिधान (पीपीई) तथा मास्क लगायतका सामान रहेको बताइएको छ।

मन्त्रालयले ती सामान नेपाली सेनाको सहयोगमा सबै प्रदेशमा पठाइने जनाएको छ।

सरकारले खरिद गरेका सामग्री र त्यसको मूल्यलाई लिएर अनेक टीकाटिप्पणी भइरहेका छन्। कतिपयले बढी मूल्यमा सामान खरिद गरिएको र त्यसमा अनियमितता भएको आशङ्का गरेका छन्।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले खरिद मूल्यमा कुनै अनियमितता नभएको दाबी गरे।

उनले हाल विश्व बजारमा स्वास्थ्य सामग्रीको अभाव रहेको र त्यसको असर मूल्यमा पनि देखिएको बताए। चिनियाँ दूतावासले सहयोग गरेको सामग्रीको बिल देखाउँदै उनले त्यसमा भन्दा आफूले खरिद गरेको मूल्य सस्तो परेको दाबी गरे।

के छ नेपालको स्थिति?

अहिलेसम्म सीमित परीक्षण किट र एउटा मात्रै प्रयोगशाला प्रयोगमा थिए।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार अपराह्णसम्म ९१७ वटा नमुना परीक्षण गरिएको छ। तीमध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ।

अहिले सरकारले नेपालभित्रै कोरोनाभाइरस परीक्षण क्षमतालाई विस्तार गरेर दुई ठाउँमा पुर्‍याएको छ र अझै तीन ठाउँमा विस्तार गर्ने निर्णय गरिसकेको छ।

अहिले सङ्क्रमित व्यक्तिमध्ये चार जनाको उपचार भइरहेको छ भने एक जना निको भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार चार बिरामीसहित १२ जना विभिन्न अस्पतालमा आइसोलेशनमा छन्।

यो Facebook पोस्ट छोड्नुहोस्

सामग्री उपलब्ध छैन

थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।

Facebook पोस्ट समाप्त

विदेशबाट केही साताअघि नेपाल फर्किएर विभिन्न लक्षणसहित बुटवलस्थित एक अस्पतलाममा क्वारन्टीनमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ।

तर उनलाई कोभिड-१९ भए वा नभएको पुष्टि भएको छैन।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती व्यक्तिको शरीरबाट सङ्कलित नमुनाको परीक्षण हुन बाँकी भएको र त्यसपछि मृत्युको कारण स्पष्ट हुने बताएका छन्।

सङ्क्रमणको पुष्टि भएका सबै जना विदेशबाट फर्किएका नेपाली नागरिक हुन्।

को हुन् मृतक?

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार ३४ वर्षीय मृतक रूपन्देहीस्थित सैनामैनाका निवासी थिए र उनी दुबईमा ट्याक्सी चलाउने गर्थे।

उनी चैत्र ६ नेपाल आएर भोलिपल्ट घर फर्किएको बुझिएको अस्पतालले जनाएको छ।

घर आएपछि ज्वरो आएकाले उनले स्थानीय औषधि पसलबाट औषधि किनेर सेवन गरेको तर ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या बढेपछि उनलाई चैत्र १३ गते अस्पताल लगिएको अस्पतालले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

"स्क्रीनिङपछि आइसोलेशन वार्डमा भर्ना गरिएकोमा हिजोसम्म स्वास्थ्य स्थिर रहेको" तर "आज बिहानबाट एक्कासि श्वासप्रश्वासमा समस्या आएको र उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको" उल्लेख छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

के छ नयाँ स्वास्थ्यकर्मी भर्ना गर्ने तयारी?

स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको सङ्क्रमणका बेला काम गर्ने गरी तीन महिनाका लागि विशेषज्ञ चिकित्सकदेखि स्टाफ नर्ससम्मको आवेदन माग गरेको थियो।

तर आइतवार अन्तिम दिनसम्ममा पनि १४ जना विशेषज्ञ चिकित्सक मागेकोमा एक जनाको मात्रै आवेदन परेको स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ।

शाखाका सहसचिव प्रमोद सिम्खडाले दिएको जानकारी अनुसार २० जना मेडिकल अधिकृत मागेकोमा ४४ जनाको आवेदन परेको छ। त्यस्तै १०० स्टाफ नर्सका लागि ३६३ जनाले आवेदन दिएका छन्।

विगतको तुलनामा यो ज्यादै न्यून भएको बताइएको छ।

अडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस प्रकोपबीच मानसिक स्वास्थ्यको ख्याल यसरी गर्न सकिन्छ