नेपाल वायु सेवा निगम: जहाज अवतरणक्रममा नेपालगञ्जमा दुर्घटनाग्रस्त, सबैजना 'सकुशल'

- Author, बिमला चौधरी
- Role, बीबीसी न्यूज नेपाली, नेपालगञ्ज
नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दा धावनमार्ग भन्दा बाहिर गएपछि दुर्घटनाग्रस्त भएको छ।
कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी उपचारका लागि आवश्यक पर्ने सामग्री लिएर काठमाण्डूबाट आएको नेपाल वायु सेवा निगमको जहाज शनिवार मध्यान्ह अवतरणका क्रममा उछिट्टिएर विमानस्थलको धावनमार्गभन्दा बाहिर गएको हो।
जहाजमा रहेका चालक दलका सदस्य सहित पाँचै जना यात्री सकुशल रहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।
जहाज के कारणले दुर्घटना भएको हो भन्नेबारे बुझ्न नेपाल वायु सेवा निगमको ईन्जिनियर टोली शनिवारै नेपालगञ्ज आउन लागेको बताइएको छ।
त्यस्तै चालक दल र नेपालगञ्जबाट काठमाण्डू पठाउन तयार पारिएको कोरोनाभाइरस सम्बन्धी स्याम्पल लिन नेपाल एअरलाइन्सको अर्को जहाज आउन लागेको जानकारी नेपालगञ्ज विमानस्थलका अधिकारीले दिएका छन्।
दुर्घटनाको छानविन पछि मात्र घाँसे मैदानबाट विमान हटाएर मर्मत गरिने भनिएको छ।

नाइन एन एकेयु कलसाइन भएको उक्त विमान अवतरणको क्रममा धावनमार्गबाट केही मिटर पर उछिट्टिएको थियो।
विमान दुर्घटना भए लगत्तै उद्धार टिम खटिएको र विमानमा रहेका चालक दल लगायत पाँच जनाको तत्काल उद्धार गरिएको ठाकुरले बताए।
विमानमा सवारलाई केही नभए पनि विमानको बाहिरी भागमा सामान्य क्षति पुगेको नेपालगञ्ज विमानस्थलले जनाएको छ।
'उछिट्टियो'
कोरोनाभाइरस नियन्त्रणका गर्नका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर उक्त विमान नेपालगञ्ज आएको बताइएको छ।
उक्त विमानमा कोरोनाभाइरस परीक्षणका लागि नेपालगञ्जबाट स्वाब पठाउने योजना पनि रहेको बताईएको छ।
विमानले भुईँ छुनुभन्दा अघि नै उछिट्टिएर धावनमार्ग भन्दा ४०, ४५ मिटर पर विमानस्थलको दक्षिण तर्फको घाँसे मैदानमा गएको बताईएको छ।
जहाजमा दुई जना पाईलट, एकजना एअर होस्टेस र दुईजना डक्टर सवार रहेको विमानस्थलका प्रमुख ठाकुरले जानकारी जानकारी दिए।
कोरोनाभाइरस सङ्क्रमणका लागि भन्दै देशभर बन्दाबन्दी गरिएपछि घरेलु र अन्तर्राष्ट्रिय दुवैखाले उडानहरू अहिले बन्द गरिएका छन्।
तर नेपाल वायु सेवा निगमका जहाजहरू कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी कामका लागि उडान गर्ने गरिएको बताइएको छ।









