तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: ब्रिटेनमा पनि ‘लकडाउन', नियम नमान्नेलाई जरिबाना
कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या लगातार बढेपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडिकडाउ गर्न 'लकडाउन' को घोषणा गरेका छन्।
नागरिकहरू घरभित्रै रहून् भनेर दुई जनाभन्दा धेरैको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ।
प्रधानमन्त्री जोन्सनले यूकेमा भाइरसको सङ्क्रमण रोक्ने प्रयासमा नयाँ नियन्त्रणका उपाय अघि सारेका छन्।
तत्काल लागु हुनेगरी अब त्यहाँ मानिसहरूले आवश्यक किनमेल, दैनिक व्यायाम, औषधोपचार तथा अत्यावश्यक काममा जान आउनबाहेक घरबाहिर निस्किन पाउनेछैनन्।
प्रधानमन्त्री जोन्सनले यी नियम अटेर गर्नेविरुद्ध प्रहरीले जरिबाना गराउन सक्ने पनि बताए। जर्मनीमा जस्तै यूकेमा पनि घरबाहिर दुई जनाभन्दा धेरैको जमघटलाई निषेधित गरिएको छ।
जोन्सनले आफूले घोषणा गरेका जस्ता उपाय घोषणा गर्न कुनै प्रधानमन्त्रीलाई पनि रहर नहुने भन्दै तीन सातामा यी नियमको समीक्षा गरिने बताए।
सङ्क्रमण बढ्दो
कोरोनाभाइरस सङ्क्रमणका कारण ब्रिटेनमा गत २४ घण्टामा थप ५५ जनाको ज्यान गएको छ। त्यहाँ कुल ३३५ जनाले ज्यान गुमाएका छन्।
यसअघि ब्रिटेनमा सरकारले भौतिक दूरी कायम गर्न मानिसहरूलाई गरेको आग्रहको पूर्ण पालना नभएकोमा मन्त्री तथा अधिकारीहरू चिन्तित थिए।
बीबीसीका स्वास्थ्य संवाददाता निक ट्रिगल भन्छन्ः सप्ताहान्तमा घमाइलो मौसम भएपछि मानिसहरू पार्कमा जमघट भएका थिए।
त्यस्तै यात्रुहरूको घुइँचो रेलवे स्टेशनमा पनि देखिएको थियो।
युरोपमा सबभन्दा धेरै प्रभावित इटलीमा बितेको २४ घण्टामा त्यहाँ ६०० जनाभन्दा बढीको ज्यान गएको छ। उक्त सङ्ख्या गत दुई दिनको भन्दा कम हो।
इटलीमा कोरोनाभाइरस सङ्क्रमणका कारण हालसम्म ६,००० जनाभन्दा धेरैको ज्यान गइसकेको छ।
सर्वाधिक बिरामी भेटिएको चीनमा भन्दा इटलीमा झन्डै दोबर सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएका छन्।
यसअघि स्पेनले दैनिक ज्यान गुमाउनेको सङ्ख्या ४६२ पुगेको बताएको थियो।
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्