तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: क्वारन्टीनबाट निरोगी भएर सकुशल घर फर्कन पाउँदा १७५ जना नेपाली 'एकदमै खुसी'
चीनबाट फर्किएका नेपालीमध्ये एकले कोरोनाभाइरसको सङ्क्रमणमुक्त अवस्थामा घर फर्कन पाउँदा खुसी लागेको बताएका छन्।
भक्तपुरको खरिपाटीमा दुई साता क्वारन्टीनमा राखिएका १७५ जनालाई कोरोनाभाइरसको सङ्क्रमण नभएको पुष्टि भएपछि सोमवार उनीहरू बाहिर निस्कन स्वतन्त्र भएका हुन्।
दुई साताभन्दा अघि विशेष विमानमार्फत सरकारले चीनको वुहानबाट उद्धार गरेर ल्याएका उनीहरुमा सङ्क्रमण नभएको प्रयोगशाला परीक्षणमा पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कसैमा पनि सङ्क्रमण नदेखिएकाले खरिपाटी क्वारन्टीनमा बसिरहेकाहरू सोमवार आफ्नो घर फर्कन सक्ने बताए।
क्वारन्टीनपछि घर
क्वारन्टीनमा बसेका बिराटचोक, मोरङका सौरभ लुइटेल घर फर्कन पाउँदा खुसी लागेको बताउँछन्।
उनले भने, "वुहानको जुन माहोलबाट आइयो [त्यसपछि] सबैजना निरोगी भएर सकुशल घर फर्कन पाउँदा एकदमै खुसी लागेको छ।"
"यहाँ [क्वारन्टीनमा] बस्दै गर्दा एउटा परिवार जस्तो मिलेर बस्न पायौँ।"
लुइटेल यसै वर्ष स्नात्तकोत्तर अध्ययन गर्न चीनको वुहानको वाजोङ कृषि विश्वविद्यालयमा गएका थिए। संसार प्रकोप बनेको कोरोनाभाइरसको केन्द्रविन्दु उक्त सहर रहँदै आएको छ।
कोरोनाभाइरस सङ्क्रमणपछि वुहानमा बाहिर निस्कन पनि डरमर्दो अवस्था भएको उल्लेख गर्दै उनले नेपाल फर्किएपछि क्वारन्टीनमा बस्दा पारिवारिक वातावरण रहेको बताए।
"हामी सबै हुँदा एकदमै सहज भयो र मैत्रीपूर्ण वातावरण रह्यो," उनी भन्छन्।
चीनबाट फर्किएपनि कसैलाई सङ्क्रमण देखा पर्न सक्छ भन्ने चिन्ता भएपनि प्रयोगशाला परीक्षणमा सबै 'नेगेटिभ' देखिएपछि आफूलाई ढुक्क लागेको उनले बताए।
उनले खरिपाटीमा आफूहरूलाई सरकारले उचित रेखदेख र बसोबासको प्रबन्ध मिलाएको भन्दै सरकारको प्रशंसा गरेका छन्।
कोरोनाभाइरस प्रकरणले दिएको शिक्षा
एउटा नयाँ प्रकृतिको भाइरसको सङ्क्रमण फैलिएका कारण आफू बालीरोग अध्ययन गर्न पुगेको ठाउँबाट विस्थापित हुनुपरेको अनुभवले आफूलाई जीवनमा चुनौतीसँग जुध्न बलियो बनाएको लुइटेलले ठानेका छन्।
उनी भन्छन्, "जीवनमा हर कुराको अनुभव गर्नुपर्छ भन्ने आम भनाइ नै छ। त्यसले बलियो बनाउँछ भने जस्तै यस्तो अप्ठेरो अनुभव गर्न पाउँदा एक किसिमको शिक्षा पाएको जस्तो लागेको छ।"
उनले थपे, "यसरी पार पाइएला जस्तो लागेको थिएन। हामीलाई उद्धार गरेर ल्याइयो अनि हामीमध्ये कसैलाई पनि सङ्क्रमण देखिएन। यो नै सबैभन्दा ठूलो कुरा हो।"
चीन फर्कने योजना
सर्वसाधारणहरूलाई कोरोनाभाइरसको सङ्क्रमणबाट नअत्तालिन सुझाव दिँदै लुइटेल मास्क प्रयोग गर्न, साबुनले नियमित हात धुन र भिडभाडमा नजान सुझाव दिन्छन्।
उनले भविष्यमा आउनसक्ने जोखिमलाई ध्यान दिँदै पूर्वतयारीमा सबैले बस्नुपर्ने उल्लेख गर्छन्।
लुइटेल कोरोनाभाइरसको प्रकोप मत्थर भएपछि आफू पुन: अध्ययनका लागि चीन फर्कने बताउँछन्।
खरिपाटीबाट निस्किएर मोरङ घर जाने योजना बनाएका लुइटेल भन्छन्, "अब सबै कुरा साम्य भएपछि म पढ्नलाई चीन नै फर्किन्छु।"