केपी शर्मा ओली: दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन प्रधानमन्त्री अस्पताल भर्ना

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओली सोमवार अस्पतालमा भर्ना हुन लागेका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली सोमबार साँझ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण भर्ना हुनेछन्।

शिक्षण अस्पतालमा कार्यरत एक वरिष्ठ चिकित्सकले भने अहिलेसम्म औपचारिक जानकारी नगराइए पनि सोमवार साँझ प्रधानमन्त्री ओली अस्पताल भर्ना हुने खबर आफूले पनि पाएको जानकारी दिए।

मिर्गौला लिने र दिने दुवै व्यक्ति प्रत्यारोपण गर्ने दुई दिनअघि नै भर्ना हुनुपर्ने र उनीहरूको अवस्थाअनुसार औषधि चलाउनु पर्ने चिकित्सकहरूको भनाइ छ।

तदनुरूप ओली सोमवार अस्पताल भर्ना हुने बुझिएको छ। शल्यक्रिया बुधवार हुने उनको सचिवालयाले जनाएको छ।

मोदीको शुभकामना

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई सफल शल्यक्रियाको शुभकामना दिएका छन्।

त्यसको प्रत्युत्तरमा ओलीले उनलाई धन्यवाद दिएका छन्।

दोस्रो प्रत्यारोपण

सामान्यतया मिर्गौला दिने मान्छेलाई त्यति समस्या हुँदैन।

"तर प्रत्येक ६०००-७००० जनामध्ये एकमा भने समस्या आउन सक्ने हुन्छ," विश्वव्यापी तथ्याङ्कतिर सङ्केत एक चिकित्सकले भने, "चिकित्साशास्त्रमा यो तथ्याङ्कलाई राम्रै मान्नुपर्छ।"

नेपालमा सन् २००८ बाट मिर्गौला प्रत्यारोपण हुन थालेको र शिक्षण अस्पतालमा दोस्रो पटक गरिने प्रत्यारोपण पनि भइसकेको विज्ञहरू बताउँछन्।

'लाइभ डोनर'का हकमा अन्य देशमा जस्तै नेपालमा पनि सफल हुने सम्भावना ९५ प्रतिशत भन्दा उच्च रहेको अहिलेसम्मको तथ्याङ्कले देखाएको बीबीसीले कुरा गरेका ती चिकित्सकले बताए।

यसपालिको प्रत्यारोपणमा विदेशी चिकित्सक सहभागी हुने वा नहुने कुरा अहिले खुलाइएको छैन।

ओलीको यसअघि २०६४ सालमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो।

त्यस बेला उनलाई बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्।

प्रत्यारोपणपछि उनले नियमित रूपमा स्वस्थ्य परीक्षण गराउँदै आएका छन्।

यस पटक पनि प्रधानमन्त्री ओलीलाई उनको नाता पर्ने एक महिलाले मिर्गौला दिन लागेको उनको सचिवालयका एक सदस्यले बीबीसीलाई बताए।

सम्पन्न व्यक्तिले आर्थिक प्रलोभनमा पारेर प्रत्यारोपणका लागि अङ्गदाता खोज्ने प्रवृत्ति देखिएकाले मानवअङ्गको किनबेच नियन्त्रण गर्न नेपालमा आफन्तहरूबाट मात्र अङ्ग लिन पाइने कानुनी व्यवस्था छ।

कति समय आराम?

मिर्गौला प्रत्यारोपण भएका बिरामी सामान्य अवस्थामा फर्किन झन्डै दुई हप्ता लाग्ने चिकित्सकहरू बताउँछन्।

नियमति कामकाजमा फर्किन झन्डै डेढदेखि दुई महिना लाग्ने उनीहरूको भनाइ छ।

तर ती कुरा बिरामी अनुसार फरक हुने पनि उनी बताउँछन्।

तर ओलीले भने आफू पाँच दिन अस्पताल बस्ने र काममा फर्किने बताउँदै आएका छन्।

जटिलता के हुन्?

मिर्गौलाले काम नगर्दा मानिसहरूमा सुनिने, अरुचि हुने, रक्ताल्पता हुने, शरीरमा अम्लीय पदार्थ बढ्ने, सास फेर्न गाह्रो हुने आदि समस्या देखिने चिकित्सकहरू बताउँछन्।

मिर्गौला 'फेल' भएको अवस्थामा प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ। प्रत्यारोपण नहुँदासम्म डायालिसिस गर्नुपर्छ।

एक पटक मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। उनीहरूले नियमित औषधि पनि सेवन गर्नुपर्छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मिर्गौलारोग विशेषज्ञ डा. महेशराज सिग्देलका अनुसार खासगरी तीन किसिमका औषधि दिइने गरिन्छ।

एक पटक प्रत्यारोपण गराएका व्यक्तिको अन्य रोगसँग लड्ने प्रतिरोधी क्षमता पनि कमजोर हुँदै जाने चिकित्सकहरू बताउँछन्।

मिर्गौलामा समस्या किन देखा पर्छ?

मधुमेह, उच्च रक्तचाप, पत्थरी, सङ्क्रमणजस्ता कारणले मिर्गौलासम्बन्धी रोग देखा पर्छ। कतिपयमा यो रोग वंशाणुगत पनि हुन्छ।

प्रा. डा. दिव्या सिंहका अनुसार मोटोपन बढी भएका मानिसमा यसको उच्च जोखिम हुन्छ। उनी प्रधानमन्त्री ओलीकी निजी चिकित्सक पनि हुन्।

यो रोगबाट बच्न धेरै गुलियो र चिल्लो भएका खानेकुरा कम खान सिंह सुझाउँछिन्।

त्यसबाहेक व्यवस्थित आहार गर्नुपर्ने हुन्छ।

कुन उमेरमा बढी जोखिम?

प्राय: ४० वर्षमाथिका मानिसमा मिर्गौलाको समस्या बढी हुने पाइए पनि सबै उमेर समूहमा समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्।

मूत्रनलीमा अवरोध सिर्जना भएर, विभिन्न खाले सङ्क्रमण बल्झिएर, घाँटी खराब भई बारम्बार टन्सिलको समस्या भएर बालबालिकालाई मिर्गौलाको समस्या देखिन सक्ने सम्भावना रहन्छ।

मिर्गौलाको अवस्था कस्तो छ भन्ने कुरा रगत, पिसाब आदिको परीक्षणबाट थाहा पाउन सकिने चिकित्सकहरू बताउँछन्।