कोरोनाभाइरस: चीनमा रहेका नेपालीका आफन्तको गुनासो 'सरकार उद्धार गर्ने मनस्थितिमा देखिएन'

कोरोनाभाइरस अति प्रभावित हुबे प्रान्तमा रहेका नेपालीका आफन्तहरूले "सरकार त्यहाँबाट नेपालीहरूको उद्धार गर्ने मनस्थितिमा नरहेको पाइएको" बताएका छन्।

बिहीवार र शुक्रवार गरी एकजना राज्यमन्त्री र दुईजना मन्त्रीहरूसँगको भेटघाट तथा प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएपछि अभिभावकहरूले त्यस्तो बताएका हुन्।

उनीहरूले बिहीवार स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई भेटेका थिए भने शुक्रवार गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेका छन्।

हुबेमा रहेका नेपालीका आफन्तले निराशा व्यक्त गरिरहेका बेला सरकारका प्रवक्ताले चाहिँ त्यहाँबाट नेपालीहरूको उद्धार गर्नका लागि सरकारी संयन्त्रहरू सक्रिय रहेको बताएका छन्।

हुबेमा रहेका आफ्ना छोराछोरीको अवस्थाबारे चिन्ता व्यक्त गर्दै आएका अभिभावकहरूले बिहीवार स्वास्थ्य राज्यमन्त्रीलाई भेटेर नेपालीहरूलाई सङ्क्रमित हुनु अघि नै उद्धार गर्न माग गरेका थिए।

'ल्याउने मनस्थिति देखिएन'

शुक्रवार गृह र पराराष्ट्रमन्त्रीसँगको भेटमा सहभागी एकजना नेपाली अभिभावक मोहन खतिवडाले भने, "धेरै ढिलो हुँदा केही दुखान्त खबर पनि सुन्नुपर्ने अवस्था आउनसक्छ भनेर हामीले खबरदारी गर्न खोजेका थियौँ। हामीलाई प्रत्येक पटक निराश बनाइदैँछ।"

बीबीसीको सम्पर्कमा आएका चीनको वुहानमा अध्ययनरत नेपाली विद्यार्थीहरूले अरू देशका साथीहरू स्वदेश फर्केपछि आफूहरूलाई झन् मनोवैज्ञानिक त्रास भएको बताउने गरेका छन्।

बेइजिङस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहनेहरूसँग गत शनिवार आवेदन माग गरेको थियो।

आइतवारसम्मका लागि समय दिएर आवेदन माग गरिएकोमा हुबे प्रान्तमा रहेका १८० जना नेपालीहरूले स्वेदश फर्किनका लागि निवेदन दिएका थिए।

तर सरकारले उनीहरू फर्किने समयको टुङ्गो नलाउँदा छटपटी भएको वुहानमा रहेका नेपालीहरूले बताएका छन्।

'सरकार गम्भीर छैन'

त्यहाँ दैनिक उपभोग्य वस्तुको अभाव भइरहेकाले त्यसबाट आफूहरू निकै चिन्तित रहेको नेपालमा रहेका आफन्तहरूले बताइरहेका छन्।

शुक्रवार गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेकामध्ये अर्की एकजना अभिभावक विमला श्रेष्ठले भनिन्, "हामी लिएर आउँदैछौँ, गर्दैछौँ भन्नुभएको छ, खै! उहाँहरूले त्यस्तो गम्भीररूपमा लिएको जस्तो नै लागेन।"

सरकारी अधिकारीहरूले चाहिँ चीनमा रहेका नेपालीहरूलाई लिएर आफूहरू संवेदनशील रहेको भन्दै अभिभावकहरूलाई आश्वस्त पार्ने प्रयास गर्दै आएका छन्।

अभिभावकहरूले व्यक्त गरिरहेका चिन्ताबारे सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा भन्छन्, "चीनमा रहेका नेपालीहरूको उद्धार गर्नका लागि विशेष चासोसाथ निर्देशन दिएपछि हाम्रा संयन्त्रहरू सक्रिय छन्। यसको न्यूनतम व्यवस्था मिलाएपछि ल्याउनलाई कुनै गाह्रो छैन।"

सरकारको भनाइ

कतिपयले नेपाली नागरिकहरूलाई अहिले उद्धार नगर्न चीनले दबाब दिएको हुनसक्ने आशंका गरिरहेका बेला मन्त्री बाँस्कोटाले त्यसलाई खण्डन गर्दै भने, "हामीलाई नेपालीहरूलाई नल्याउनका लागि कसैको पनि दबाब छैन।"

नेपाली नागरिकहरूलाई स्वदेश ल्याइएपछि चिकित्सकीय निगरानीमा राख्नका लागि काठमाण्डू उपत्यकाभित्र चार स्थान चयन गरिएको बिहीवार अधिकारीहरूले बताएका थिए।

कोरोनाभाइरसका कारण हालसम्म चीनमा मात्रै ६३० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने ३१ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।

नेपालमा भने चीनबाट फर्केका एकजनामा मात्र यस्तो सङ्क्रमण भेटिएको छ। उनी पनि निको भइसकेको अधिकारीहरूले जनाएका छन्।