ट्रम्प महाभियोग: अमेरिकी सिनेटद्वारा राष्ट्रपतिलाई सफाइ

भिडिओ क्याप्शन सुरु हुँदैछ, आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्।

अमेरिकालाई तिक्ततापूर्ण ढङ्गबाट विभाजित गर्नेगरी सुरु भएको महाभियोग प्रक्रियाबाट अन्तत: राष्ट्रपति डोनल्ड ट्रम्पले सफाइ पाएका छन्।

ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी जोगिएका हुन्।

शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२-४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३-४७ मत पाएका थिए।

अभियोग

विपक्षी डेमोक्र्याटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग लगाएका थिए।

आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन्।

रिपब्लिकन बहुमत रहेको माथिल्लो सदनमा महाभियोग पारित हुन दुई तिहाइ मत आवश्यक पर्थ्यो।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, रिपब्लिकन बहुमत रहेको माथिल्लो सदनमा महाभियोग पारित हुन दुई तिहाइ मत आवश्यक पर्थ्यो।

बुधवारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो।

डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो।

'पूर्ण रूपबाट दोषमुक्त'

नोभेम्बर ३ मा हुन लागेको राष्ट्रपतिय निर्वाचनमार्फत् दोस्रो कार्यकाल ह्वाटहाउसमा आउन खोजिरहेका ट्रम्पले आफूले गतल गरेको कुरालाई अस्वीकार गर्दै आएका छन्।

ट्रम्पको चुनावी अभियानले एक वक्तव्यमा भनेको छ: "राष्ट्रपति ट्रम्प पूर्ण रूपबाट दोषमुक्त भएका छन् र यो अब अमेरिकी नागरिकको काममा फर्कने समय हो।"

ट्म्प

तस्बिर स्रोत, Getty Images

"केही नगर्ने डेमोक्र्याटहरूलाई थाहा छ कि उनीहरूले ट्रम्पलाई उछिन्न सक्दैनन् त्यसैले उनीहरूले महाभियोग लगाएका थिए।"

माथिल्लो सदनमा महाभियोग पारित हुन दुई तिहाई मत आवश्यक पर्थ्यो।

तर संसद्‌को तल्लो सदनकी डेमोक्र्याटिक सभामुख न्यान्सी पेलोसीले भने ट्रम्प 'अझै अमेरिकी प्रजातन्त्रको लागि खतरा रहेको' भन्दै सिनेटका रिपब्लिकनहरूले 'कानुनहिनतालाई सामान्यीकरण' गरेको प्रतिक्रिया दिएकी छन्।

संसदमा के भयो?

सन् २०१२ मा राष्ट्रपति पदका उम्मेद्वार भइसकेका मिट रोम्नी मात्र त्यस्ता रिपब्लिकन सांसद हुन् जसले ट्रम्पमाथि लागेको शक्तिको दुरूपयोग अभियोगमा उनीविरूद्ध मत हालेका थिए।

डेमोक्र्याटहरूले आशा गरे बमोजिम दुईजना मध्यमार्गी रिपब्लिकनहरू सुसन कोलिन्स र लीसा मोर्वास्कीले ट्रम्प विरूद्ध लाग्न रोम्नीलाई साथ दिएनन्।

पछिल्ला दिनमा केही रिपब्लिकन सांसदहरूले ट्रम्पको व्यवहारको आलोचना गर्ने गरेता पनि त्यो महाभियोग नै लगाउने तहको नभएको बताउँदै आएका छन्।

राष्ट्रपति एन्ड्रिउ जनसन र बिल क्लिन्टन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकामा हालसम्म दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन्। सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टन तर ती दुवैजनालाई सिनेटले दोषमुक्त गरिदिएको थियो।

रिपब्लिकनहरूले आफ्नो पक्षमा उभिने अपेक्षा गरेका तीन डेमोक्र्याटिक सांसदहरूले भने ट्रम्प विरूद्ध नै मतदान गरे।

सिनेटमा डेमोक्र्याटतर्फका माइनोरिटी नेता चक सुमरले रिपब्लिकनहरूले सुनुवाइका क्रममा साक्षी झिकाउन अस्वीकार गरेकोले उक्त सफाइलाई 'मूल्यविहीन' बताए।

अमेरिकामा हालसम्म ट्रम्पबाहेक अन्य दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन्।

सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्धको आरोप सिनेटले खारेज गरिदिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन सम्भव छ?