डोनल्ड ट्रम्प महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति, अब मुद्दा सिनेटमा

भिडिओ क्याप्शन सुरु हुँदैछ, मतदान हुँदा महाभियोग लगाउने पक्षमा २३० मत र विपक्षमा १९७ मत परेको थियो।

डोनल्ड ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्।

अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ।

तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरेको र कंग्रेसलाई अवरुद्ध तुल्याएको आरोपको पक्षमा मतदान गरेको छ।

पहिलो विषयमा मतदान हुँदा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो।

ट्रम्प

तस्बिर स्रोत, Reuters

मत पार्टीको लाइन अनुसार नै खसेको थियो किनकि अधिकांश डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मत हालेका थिए।

वासिङ्टन डीसीमा मतदान चल्दै गर्दा राष्ट्रपति ट्रम्प ब्याटल क्रीक, मिशिगनमा उपराष्ट्रपति माइक पेन्ससँगै चुनावी सभालाई सम्बोधन गर्दै थिए।

त्यहाँ उनले भने: "हामी मिशिगनमा रोजगारीहरु ल्याउँदैछौँ। कंग्रेसका अतिवादीहरू ईर्ष्या र घृणाले ग्रसित छन्।"

ह्वाइट हाउसले एक वक्तव्य निकाल्दै सिनेटमा हुने सुनुवाइका क्रममा राष्ट्रपति "निर्दोष साबित हुने कुरामा विश्वस्त रहेको बताएको छ।

पहिलो दफा अनुसार मतदान भएलगत्तै ट्रम्पविरुद्ध महाभियोग लागेको छ र उनी एन्ड्रु जोनसन र बिल क्लिन्टनपछि अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन्। अब महाभियोगको विषयमा माथिल्लो सदन सिनेट प्रवेश गर्दैछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन सम्भव छ?