तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा २०को मृत्यु
टर्कीको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पमा परेर २० जनाको ज्यान गएको छ भने सैयौँको सङ्ख्यामा मानिसहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।
रिक्टर स्केलमा ६.८ म्याग्निट्यूड नापिएको उक्त भूकम्पका कारण भवनहरू भत्किएका छन्।
भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको बताइएको छ।
टर्कीमा भूकम्पलाई स्वाभाविक मानिन्छ। सन् १९९९ मा गएको ठूलो भूकम्पमा परेर करिब १७ हजारले ज्यान गुमाएका थिए।
स्थानीय समय अनुसार ८ बजेर ५५ मिनेटमा भूकम्प महसुस गरिएको बताइएको छ।
टर्कीको डिजास्टर एण्ड इमरजेन्सी म्यानेजमेन्ट अथोरिटीका अनुसार हालसम्म ६० पटक परकम्प गएको छ।
भूकम्प प्रभावित क्षेत्रमा ४०० भन्दा बढी उद्धारकर्ताहरू बिछौना र टेन्ट बोकेर जाँदै छन्। सरकारले भूकम्पले प्रभावित घरमा नजान सर्वसाधारणहरूलाई आग्रह गरेको छ।
"त्यो निकै डरलाग्दो थियो। हामी माथि सामान खस्यो। र हामी बाहिर भाग्यौँ," एएफपी समाचार संस्थाले ४७ वर्षीय मेलाहन्ट क्यानले भनेको उल्लेख गरेको छ।
भूकम्प गएको क्षेत्र राजधानी अङ्काराबाट करिब ५५० किलोमिटर पूर्वतिर पर्छ र त्यो क्षेत्रको जनसङ्ख्या त्यति धेरै छैन जस कारण क्षति र मृत्यु हुनेको सङ्ख्याबारे थप विवरण आउन समय लाग्न सक्ने बताइएको छ।