इरान विमान दुर्घटना: झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शन

प्रदर्शन

तस्बिर स्रोत, AFP

इरानको राजधानी तेहरानमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरू युक्रेनी विमान खसालिएको विषयमा झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्।

कम्तीमा दुई वटा विश्वविद्यालयमा प्रदर्शन भएको र अश्रुग्याँस प्रहार गरिएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'प्रेरणादायी' प्रदर्शनको समर्थन गर्दै ट्विट गरेका छन्।

इरानले शनिवार "भुलवश" त्यो विमान खसालेको स्वीकार गरेको थियो। तीन दिन अघि भएको सो दुर्घटनामा १७६ जनाले ज्यान गुमाएका थिए।

किएभका लागि उडेको विमान उडेको केही समयमै खसालिएको थियो।

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुई वटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो।

जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानका सैन्य नेता कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकाविरुद्ध हमला गरेको थियो।

विमान दुर्घटना

तस्बिर स्रोत, Getty Images

विमान दुर्घटनामा इरान, क्यानडा, युक्रेन, यूके, अफगानिस्तान र जर्मनीका नागरिकहरूको मृत्यु भएको थियो।

प्रदर्शनमा के भयो?

सुरुमा दुई वटा विश्वविद्यालयका विद्यार्थीहरू मृत्यु भएकाहरूलाई सम्मान प्रकट गर्नका लागि जम्मा भएको बताइएको छ।

सरकारी फार्स समाचार संस्थाले प्रदर्शनबारे समाचार बनाएको थियो जसमा करिब एक हजार प्रदर्शनकारीहरूले नेताहरूविरुद्ध नाराबाजी गरेको र सुलेमानीको तस्बिर च्यातेको बताइएको छ।

विद्यार्थीहरूले विमान खसाल्न जिम्मेवार र उक्त घटना लुकाउनेहरूमाथि मुद्दा चलाइनुपर्ने माग गरेका छन्।

नाराबाजीका क्रममा उनीहरूले इरानका सर्वोच्च नेता आयतूला अलि खामनेईतर्फ लक्षित गर्दै "मुख्य कमान्डर राजीनमा गर" र "झुटो बोल्नेहरूलाई मृत्यु" भन्दै नाराबाजी गरेका थिए।

फार्सका अनुसार सडक अवरुद्ध पारेका प्रदर्शनकारीहरूलाई प्रहरीले 'तितरबितर' पारेको थियो। सामाजिक सञ्जालमा अश्रुग्याँस प्रहार गरिएको भिडिओ देखिएको छ।

सरकारको कदमले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई क्रुद्ध बनाएको छ।

एक जना प्रयोगकर्ताले लेखेका छन्: "म मेरा देशका निकाय, घटनास्थलमा भएका र झुटो बोलेकाहरूलाई कहिले पनि माफी दिने छैन।"

सुलेमानी मारिएपछि भएका प्रदर्शनका तुलनामा भने पछिल्लो प्रदर्शन निकै सानो छ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पले अङ्ग्रेजी र फारसी भाषामा ट्वीट गरेका छन्।

त्यसमा उनले भनेका छन् "इरानका बहादुर तथा पीडित नागरिकहरू: म मेरो कार्यकालको सुरुबाटै तपाईँहरूको पक्षमा उभिएको छु र मेरो सरकार तपाईँहरूको पक्षमा निरन्तर उभिने छ। हामी तपाईँहरूको प्रदर्शनलाई नजिकबाट नियालिरहेका छौँ। तपाईँहरूको साहस प्रेरणादायी छ।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानमा भएको प्रदर्शनको भिडिओ ट्वीट गरेका छन्।

उनले लेखेका छन्, "इरानी नागरिकहरूको आवाज स्पष्ट छ। उनीहरू शासकहरूको झुट, भ्रष्टाचार, अयोग्यता र इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी)को क्रूरताबाट थाकिसकेका छन्। हामी इरानी नागरिकहरूको पक्षमा छौँ जो योभन्दा राम्रो भविष्यको लायक छन्।"