तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कासिम सुलेमानीः शवयात्रामा ठूलो सङ्ख्यामा सहभागिता
इराकको राजधानी बगदादमा अमेरिकी हवाई हमलामा शुक्रवार मारिएका इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको शवयात्रामा ठूलो भिड सहभागी भएको छ।
सुलेमानी इरानको मध्यपूर्व मामिलाका मुख्य शिल्पी थिए र इरानले उनको हत्याको 'कडा बदला' लिने प्रतिज्ञा गरेको छ।
शनिवार बगदादमा जम्मा भएको समूहले सुलेमानीको शोक मनाउने पहिलो दिनको शुरूवात गरेको हो।
सुलेमानीको निधनमा तीन दिनसम्म शोक मनाउने घोषणा गरिएको छ।
अन्तिम संस्कार
उनको शवलाई इरान लगिनेछ र उनको गृहनगर केरमानमा मङ्गलवार अन्तिम संस्कार गरिने बताइएको छ।
उक्त भिड बगदादमा मारिएका अबु महदी अल-मुहन्दीसको निधनको पनि शोक मनाउन जम्मा भएको थियो।
मुहन्दीसले इरानी समर्थन रहेको कतैब हेजबुल्लाह समूहको नेतृत्व गर्थे र इरानसँग मिलेका मिलिशिया समूहहरूको छाता समूहको पनि नेतृत्व गर्थे।
शोकमग्न मानिसहरू बगदादमा शवयात्रा शुरू हुनुअगावै बिहानैदेखि जम्मा हुन थालेका थिए।
उनीहरूले इराकी र मिलिशियाका झण्डा फहराउँदै "अमेरिका मुर्दाबाद" को नारा लगाएका थिए।
शवयात्रामा सहभागीहरूले सुलेमानीको र कैयौँले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको तस्बिर बोकेका थिए।
केही इराकीहरूले बगदादमा सुलेमानीको हत्यापछि खुसियाली मनाउँदै प्रदर्शन गरेका विवरण पनि आएका थिए।
हालैका महिनामा इराकमा गरिएका शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने योजना बुनेको सुलेमानीमाथि आरोप थियो।
कासिम सुलेमानी को थिए?
६२ वर्षीय सुलेमानी सर्वोच्च नेता आयतोल्लाह खामेनी पछिका दोश्रो शक्तिशाली नेताका रूपमा लिइन्थे।
इरानको रिभोलुशनरी गार्ड कर्प्सको उच्चतम एकाइ द क्विड फोर्सले आयोतोल्लाह खामेनीलाई रिपोर्ट गर्थ्यो र सुलेमानीलाई राष्ट्रिय नायकका रूपमा लिइन्थ्यो।
क्विडमा उनको २१ वर्षे नेतृत्वकालमा इरानले हेजबुल्लाहलाई बलियो बनाएको छ र लेबननमा इरानी समर्थक लडाकू समूहलाई विस्तृत बनाएको मानिन्छ।
इराक र सिरियामा उसको सैन्य उपस्थिति बढाएको र सिरियाको लामो गृहयुद्धमा लडाकू समूहविरुद्ध कारबाहीको योजना कार्यान्वयनमा ल्याएको जस पनि दिइन्छ।