तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१३ औँ दक्षिण एशियाली खेलकुद: स्वर्ण पदक विजेतालाई नौ लाख पुरस्कार घोषणा
१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई सरकारले नगद पुरस्कारको घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख, रजत पदक जित्नेलाई छ लाख र काश्य पदक जित्नेलाई तीन लाख पुरस्कार दिने घोषणा गरेका छन्।
एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई ११ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको छ।
नेपाल सरकारले खेलाडीहरूलाई प्रदान गर्ने घोषणा गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार रकम हो।
सागमा एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीहरूमा पौडीकी गौरिका सिंह (चार स्वर्ण), करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुभाष तामाङ (दुई स्वर्ण) छन्।
त्यस्तै समूहगत खेलमा स्वर्ण जित्ने खेलाडीहरूले जनही पाँच लाख रुपैयाँ पाउने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन्।
त्यस्तै प्रशिक्षकलाई पनि पाँच लाख रुपैयाँ दिइने बताइएको छ।
तर समूहगत खेलमा रजत र काश्य पदक विजेताले पाउने रकम भने खुलाइएको छैन।
टीम व्यवस्थापक र सङ्घलाई कति दिने भन्ने विषयमा भने अझै स्पष्ट पारिएको छैन।
सदस्य सचिव सिलवालले भने, "अन्य कुराहरू कार्यविधि बनाएर तयार गरिनेछ। "
नेपालले १३ औं दक्षिण एशियाली खेलकुदमा ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदक जितेको छ।