हैदराबाद घटनाको भारतीय संसद्‌मा निन्दा, बलात्कारीलाई कठोर सजायको माग

जया बच्चन

तस्बिर स्रोत, Twitter/@ANINEWS

भारतकी एक सांसदले हैदराबादमा २७ वर्षीया महिला पशुचिकित्सकलाई बलात्कार र हत्या गर्ने पुरुषहरूलाई 'भिडले मारिदिनुपर्छ' भनेकी छन्।

"मलाई थाहा छ यो क्रूर हो, तर यस्ता मानिसलाई सार्वजनिक स्थानमा ल्याएर मारिनुपर्छ," जया बच्चनले संसद्‌मा बोल्दै भनिन्।

विभिन्न राजनीतिक दलका अन्य कैयौँ सांसदहरूले पनि उक्त क्रूर सामूहिक बलात्कार र हत्याको निन्दा गरे।

हराइरहेकी पीडित महिलाको जलेको शरीर गत साता फेला परेपछि भारतभरि विरोध प्रदर्शन भएका छन्।

प्रहरीका अनुसार उक्त घटनामा चार पुरुषलाई पक्राउ गरिएको छ।

विरोध प्रदर्शन

तस्बिर स्रोत, AFP

महिलाविरुद्ध हिंसाका विभिन्न चर्चित घटनामा सार्वजनिक रूपमा चर्को आक्रोश देखिए पनि भारतमा बलात्कार तथा हिंसा निकै उच्च छ।

सोमवार सडकको आक्रोश संसद्‌मा पनि प्रतिविम्बित भयो। कैयौँ सांसदले महिलाका निम्ति देश सुरक्षित बनाउन सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरे।

बलिवुडकी पूर्वनायिका जया बच्चन महिला अधिकारका विषयमा प्रखर वक्ता मानिन्छिन्। उनले सांसदहरूको तर्फबाट ती प्रश्न र कडा कारबाहीको मागको नेतृत्व गरेकी थिइन्।

"मलाई लाग्छ समय आएको छ …. जनता चाहन्छन् कि सरकारले उचित र दृढ उत्तर देओस्," उनले भनिन्।

यही महिना फाँसीको माग

दक्षिणी राज्य तमिलनाडुकी एक सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाका निम्ति सुरक्षित नभएको भन्दै भनिन्, "ती चार पुरुष जसले यो अपराध गरे तिनलाई डिसेम्बर ३१ अगावै फाँसी दिनुपर्छ। ढिलो न्याय दिनु भनेको न्याय नदिनु हो।"

विरोध प्रदर्शन

तस्बिर स्रोत, Reuters

रक्षामन्त्री राजनाथ सिंहले भने, "यो घटना सम्पूर्ण देशका लागि लज्जास्पद भएको छ। सबैको मन दुखेको छ।" उनले घटनाको निन्दा गर्ने उचित शब्द आफूसँग नभएको समेत बताए।

सन् २०१२ मा दिल्लीमा एक महिलाको बसभित्र भएको सामूहिक बलात्कार र हत्याको घटनापश्चात् ल्याइएका कडा कानुनले महिलाविरुद्धका अपराध कम गराउने अपेक्षा गरिएको उनले बताए।

तर त्यसो नभएकाले सिंहले भने, "सरकार महिलाविरुद्धका अपराधको मुद्दामा संसद्‌मा छलफल गर्न तयार छ। साथै त्यस्ता घटना रोक्न कडा कानुनको सम्भावना विचार गर्न पनि तयार छ।"

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाबारे अझै केही टिप्पणी गरेका छैनन्।

के भएको थियो हैदराबादमा?

गत साता बुधवार साँझ स्थानीय समयानुसार ६ बजेतिर २७ वर्षीया ती महिला आफ्नो स्कूटरमा डाक्टरकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन्।

पछि उनले आफ्नो स्कूटर पन्चट भएको, र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको जानकारी बहिनीलाई फोनबाट दिएकी थिइन्।

उनले आफू एउटा टल प्लाजा (सडकमा आवागमनका लागि पैसा तिर्ने ठाउँ) मा पर्खिरहेको बताएकी थिइन्।

त्यसको केही समयपछि उनलाई फोनमा सम्पर्क गर्ने प्रयासहरू विफल भए।

बिहीवार बिहान उनको शव सडकको 'फ्लाईओभर' मुन्तिर एक दूध व्यापारीले भेटेका थिए।

भारतको कानुनबमोजिम मृत्युपश्चात् पनि बलात्कारको पीडितको नाम खुलाउन पाइँदैन।

तर शुक्रवार ती महिलाको नाम ट्विटर ट्रेन्डमा थियो जब दशौँ हजार मानिसले आक्रोशपूर्ण ट्वीट गर्दै न्यायको माग गरे।