भारतमा महिला पशुचिकित्सकको बलात्कार र हत्याले उब्जायो आक्रोश

जनआक्रोश

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हैदराबादमा प्रहरी चौकी अगाडि हजारौँ मानिसले प्रदर्शन गरेका छन्।

भारतमा दक्षिणी शहर हैदराबादमा एकजना २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कार र हत्या भएको ठानिएपछि त्यसले उब्जाएको आक्रोश झन् झन् चर्किरहेको छ।

शहरको एक प्रहरी चौकी सामु हजारौँ मानिसले प्रदर्शन गर्दै जवाफदेहीताको माग गरे।

प्रहरीले तीन अधिकारीहरूलाई निलम्बन गरेको छ।

कारबाहीको माग

ती महिलाको परिवारका सदस्यले भेट्न आएका राजनीतिज्ञ एवं प्रहरी अधिकारीलाई फर्काइदिएका छन्। उनीहरूले छिटो कारबाहीको माग गरेका छन्।

विभिन्न चर्चित घटनामा जनआक्रोश व्यापक देखिएपनि भारतमा महिलाविरुद्ध बलात्कार एवं अन्य हिंसा उच्च स्तरमा रहेको बताइन्छ।

जनआक्रोश

तस्बिर स्रोत, Reuters

बुधवार कामबाट फर्कने क्रममा हराएकी ती महिलाको जलेको शरीर भेटिएको थियो।

प्रहरीले उनको हत्या अगाडि सामूहिक बलात्कार भएको बताएको छ।

घटनाको सन्दर्भमा चार पुरुषलाई पक्राउ गरिएको छ।

तीमध्ये दुई पुरुषका आमाले ती दोषी पाइए सजाय दिलाउन आह्वान गरेका छन्।

"तिनलाई जस्तोसुकै सजाय दिए हुन्छ। मेरो पनि छोरी छ," एकजना आमाले समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पीटिआइ)लाई बताइन्।

कस्तो छ जनआक्रोश?

शनिवार हैदराबाद नगरको बाहिरीक्षेत्रमा स्थित एक प्रहरी चौकीबाहिर हजारौँ मानिस भेला भए।

तिनले दोषीलाई मृत्युदण्डको माग गरे।

जनआक्रोश

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हैदराबाद घटनालाई लिएर शनिवार दिल्लीमा प्रदर्शन भएको छ।

देशका अन्य भागमा पनि विरोध प्रदर्शन तथा पीडितको निम्ति प्रार्थना गरिएका छन्। भारतीय कानुनबमोजिम ती महिलाको नाम खुलाउन पाइँदैन।

ती महिलाको बसोबास रहेको शम्शावादमा समुदायले टोलमा प्रवेश गर्ने मूलगेट बन्द गरिदिएका छन्। उनीहरूले प्लेकार्ड बोकेका छन् जसमा लेखिएका छन् - "सञ्चारमाध्यम आउन पर्दैन, प्रहरी पर्दैन, बाहिरिया पर्दैन - कुनै सहानुभूति चाहिँदैन, केवल कारबाही र न्याय चाहिन्छ।"

चर्चित नेताहरूले पनि घटनाबारे आफ्ना प्रतिक्रिया दिइरहेका छन्।

मुख्य विपक्षी दल कङ्ग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी वाद्राले यस्ता घटनाबाट आम मनमस्तिष्क परिवर्तित हुनुपर्ने बताइन्।

जनआक्रोश

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, अमृतसरमा आइतवार भएको जस्तो प्रदर्शन अन्यत्र पनि भएका छन्।

महिलामाथि भइरहेका बर्बर हिंसालाई सहज स्वीकार्न बन्द गर्नुपर्ने उनले बताएकी छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

पीडित महिलाको परिवारले उनी हराइरहेको भनेर जानकारी दिएपनि तदारुकताका साथ त्यसको तत्काल कारबाही नगरेको आरोप लागेका तीन प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ।

आफूहरूले गुनासो गर्दा ती अधिकारीले उक्त महिला कसैसँग भागेको हुनसक्ने बताएको आफन्तहरूले राष्ट्रिय महिला आयोगलाई बताएका छन्।

कसरी भयो घटना?

बुधवार साँझ स्थानीय समय ६ बजेतिर ती महिला आफ्नो स्कूटरमा डाक्टरकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन्।

पछि उनले आफ्नो स्कूटर पन्चट भएको, र एक ट्रक ड्राइभर मद्दत गर्न अघि सरेको जानकारी परिवारलाई फोनबाट दिएकी थिइन्। उनले आफू कुनै टल प्लाजा - सडकमा आवागमनका लागि पैसा तिर्ने ठाउँ - मा पर्खिरहेको बताएकी थिइन्।

त्यसको केही समयपछि उनलाई फोनमा सम्पर्क गर्ने प्रयास विफल भए।

बिहीवार बिहान उनको मृत शरीर सडकको 'फ्लाइओभर' मुन्तिर एक दूध व्यापारीले भेटेका थिए।

भारतको कानुनबमोजिम मृत्युपश्चात् पनि बलात्कारको पीडितको नाम खुलाउन पाइँदैन। तर शुक्रवार ती महिलाको नाम ट्विटर ट्रेन्डमा थियो जब दशौँ हजार मानिसले आक्रोशपूर्ण ट्वीट गर्दै न्यायको माग गरे।

सन् २०१२ को डिसेम्बरमा राजधानी दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएयता भारतमा महिलाविरुद्धका यौन हिंसा चर्चाको केन्द्रमा रहँदै आएका छन्। तर त्यस्ता हिंसाका घटना कम भएका सङ्केत देखा परेका छैनन्।

अपराधबारे पछिल्ला सरकारी आँकडामा सन् २०१७ मा भारतभर प्रहरीले ३३,६५८ बलात्कारको घटना - अर्थात् प्रतिदिन ९२ - रेकर्ड गरिएको उल्लेख छ।