तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१३ औँ दक्षिण एशियाली खेलकुद: महिला क्रिकेटमा अञ्जली चन्दको विश्व कीर्तिमान, माल्दिभ्स पराजित
नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्ससँगको प्रतिस्पर्धामा जम्मा पाँच बल मात्र खेलेर जित हासिल गरेको छ।
१३ औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत पोखरा रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराएको हो।
माल्दिभ्सलाई नेपालले १०.१ ओभरमा १६ रनमा अलआउट गरेको थियो।
त्यसपछि जितका लागि आवश्यक रन नेपालले जम्मा पाँच बल खेलेरै हासिल गर्यो।
काजल श्रेष्ठ १३ रन बनाएर नटआउट रहिन्।
चन्दको कीर्तिमानी बलिङ
टी २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा पहिलो खेल खेलिरहेकी नेपालकी अञ्जली चन्दले २.१ ओभर बलिङ् गर्दै कुनै रन नदिई छ विकेट लिएकी छन्।
"प्लेअर अफ द म्याच" घोषित चन्दको यो बलिङ् प्रदर्शन टी २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सबैभन्दा उत्कृष्ट हो।
उनले आफ्नो दोस्रो बलमै विकेट लिएकी थिइन् र पहिलो ओभरमा ३ विकेट हात पारिन्।
आफ्नो दोस्रो ओभरको अन्तिम दुई बल र तेस्रो ओभरको पहिलो बलमा विकेट लिएर उनले ह्याट्रिक पनि पूरा गरिन्।
हालसम्म टी २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा छजना खेलाडीले एकै खेलमा ६ विकेट लिएका छन्।
चन्दको प्रदर्शन अगाडि उत्कृष्ट प्रदर्शन मलेशियाकी मास इलिसाको थियो जसले चीनविरुद्ध गएको जनवरीमा भएको खेलमा ३ रन दिएर ६ विकेट लिएकी थिइन्।
आफ्नो पहिलो खेलमा उत्कृष्ट बलिङ गरेको बोत्स्वानाकी बोत्सोगो एमपेडीको ८ रन दिएर ६ विकेट लिएको कीर्तिमान पनि पछाडि पारिन्।
माल्दिभ्सको कमजोर खेल
सोमवारको खेलमा माल्दिभ्सले टस जितेर ब्याटिङ रोजेको थियो।
माल्दिभ्सको रन सङ्ख्या टी २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा छैटौँ सानो स्कोर हो।
पाँच बलमा जित चाहिँ विश्व कीर्तिमान होइन। यसै वर्ष जुन महिनामा रुवाण्डाले मालीलाई आठ रनमा अलआउट गर्दै चार बलमा र तान्जानियाले मालीलाई ११ रनमा अलआउट गर्दै ४ बलमै जित हासिल गरेको थियो।
नेपालको तर्फबाट करुणा भण्डारीले २ विकेट लिइन्।
माल्दिभ्सका नौजना शून्य रनमै आउट भएका थिए। हाम्जा नियाजले नौ र हाफ्सा अब्दुलाहले चार रन बनाएका थिए।