तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पोखरामा १३औँ दक्षिण एशियाली खेलकुदको तयारी
- Author, नारायण कार्की
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
जब पर्यो राति अनि बूढी ताती भन्ने नेपाली उखान चरितार्थ गरेझैँ पर्यटकीय नगरी पोखरामा १३ औँ दक्षिण एशियाली खेलकुद (साग) का लागि केही दिनदेखि युद्धस्तरमा तयारी भइरहेको छ।
साग खेलकुदको शुरूवात करिब ३५ वर्षअघि नेपालबाटै भएको हो।
त्यतिबेला सबै खेल राजधानी काठमाण्डू केन्द्रित थिए भने यसपटक गण्डकी प्रदेशको राजधानी पोखरा र प्रदेश नं. २ को जनकपुरले पनि एक तिहाइ खेल आयोजना गर्ने अवसर पाएका छन् ।
साग प्रतियोगितामा समावेश गरिएकामध्ये आठ खेल पोखरामा र एक मात्र खेल कुस्ती जनकपुरमा हुँदैछ।
पोखरामा आठवटा खेल- महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ह्यान्डबल, महिला-पुरुष ब्याडमिन्टन, बीच भलिबल, ट्रायथलन र वेटलिफ्टिङ हुँदैछन् ।
बीच भलिबल फेवा तालको किनार बाराही घाटमा र ट्रायथलन पनि फेवा किनारबाटै शुरू हुनेछ।
वेटलिफ्टिङ स्थानीय माटेपानी भन्ने ठाउँमा रहेको एक पार्टी प्यालेसमा हुने नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा साग खेलकुद स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका सदस्य तेजबहादुर गुरुङले बताए।
उनका अनुसार आठवटा खेल विधामा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ। महिला खेलाडी ३९६ जना र पुरुष खेलाडी २६४ जना छन्।
महिला फुटबल र महिला क्रिकेटजस्ता टीम खेल यहाँ हुने भएकाले महिला खेलाडीको सङ्ख्या बढी भएको हो।
खेलाडी, खेल प्रशिक्षक, खेलकुदका पदाधिकारी गरी पोखरामा करिब हजारजना विदेशीको उपस्थिति हुने बताइएको छ र यसबाट खेल गतिविधिका साथै पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।
पाराग्लाइडिङको विकास पोखराबाटै भएको र पोखरामा यो खेल हुँदा राम्रै सङ्ख्यामा पदक जित्ने नेपालको आशामाथि भने तुषारापात भएको छ।
गत वर्षमात्र भएको एशियाली खेलकुदमा नेपालले पदक जितेको एकमात्र खेल पाराग्लाइडिङ नै थियो।
तर यो खेलमा सहभागी हुने देशको न्यूनतम सङ्ख्या तीन नपुगेका कारण अन्ततः यो खेल रद्द हुन पुगेको छ।
यो खेलमा नेपाल र पाकिस्तानले मात्र सहभागिता जनाउने जानकारी दिएका थिए।
महिला फुटबल खेलस्थल पोखरा रङ्गशाला निर्माणमा भएको ढिलाइले कतै महिला फुटबल पोखराबाट अन्यत्र सर्ने त होइन भन्ने आशङ्का भइरहेको अवस्थाको भने अब अन्त्य भएको छ।
खेल पूर्वाधार हेर्ने जिम्मेवारी पाएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुड यो आशङ्कालाइ चिर्ने गरी केही हप्तायता युद्धस्तरमा काम भइहेको बताउँछन्।
फुटबलको कृत्रिम मैदान बनाउने हिसाबले पहिले काम भएको र पछि प्राकृतिक मैदान बनाउने गरी योजना परिवर्तन भएकाले काममा ढिलाइ भएको ठेकेदार कम्पनीका आयोजना प्रमुख दीपक बराल स्वीकार्छन्।
भारतबाट ल्याइएको दूबो मर्ने समस्या र प्यारापिट निर्माण सामग्री समयमा नआउनु पनि ढिलाइको कारण भएको बताइएको छ।
रङ्गशालाको क्षमता २० हजार हुने भए पनि साग खेलका लागि कम्तीमा नौ हजार क्षमताको प्यारापिट निर्माण हुने परिषद्का सदस्य गुरुङ बताउँछन्।
ह्यान्डबल ब्याडमिन्टन र बीच भलिबलको खेलस्थलको निर्माण पनि अन्तिम चरणमा छ ।
धेरै वर्षसम्म असरल्ल अवस्थामा रहेको पोखरा रङ्गशाला साग खेलकुद हुने भएपछि एक अर्ब २८ करोड रुपैयाँ खर्च गरेर निर्माण भइरहेको छ।
सम्पूर्ण निर्माण कार्य आगामी चार महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।
राजधानीमा मङ्सिर १५ गते उद्घाटन समारोह हुने भए पनि पोखरामा भने मङ्सिर १६ गते शुभारम्भ कार्यक्रम हुनेछ जसमा गन्डकी प्रदेशका ११ वटै जिल्ला र सातवटै सार्क मुलुकहरूको सांस्कृतिक झाँकीहरु एवं खेलाडीहरूको मार्चपास हुनेछ।
पोखरामा हुने सम्पूर्ण खेलबारे जानकारी दिने मोबाइल एप पनि शुरू गरिएको व्यवस्थापन समितिका सदस्य तेजबहादुर गुरुङले बताए।
खेल पर्यटनको राम्रै विकास भएको पोखरामा हुने साग खेलकुद प्रतियोगिताले खेल पर्यटन मात्र नभई समग्र पर्यटनको विकासमा टेवा पुग्ने पर्यटन व्यवसायीहरूको अपेक्षा छ ।
सन् १९८४ र १९९९ पछि नेपालले तेस्रो पटक साग खेलकुदको आयोजना गर्न लागेको हो। यसमा कुल ३१७ स्वर्ण, त्यति नै रजत र ४८१ वटा कास्यका लागि सार्क मुलुकका खेलाडीहरूले प्रतिस्पर्धा गर्दैछन्।
पोखरामा हुने आठवटा खेलमा ५०/५० स्वर्ण र रजत तथा ५६ वटा कास्य पदकका लागि खेलाडीहरूबीच तीव्र प्रतिस्पर्धा हुनेछ।
प्रत्येक साग खेलमा खेलको सङ्ख्या पनि थपिँदो छ। यस पटकको खेलमा पनि कराँते, क्रिकेट, फेन्सिङ, गल्फ र बीच भलिबल गरी पाँचवटा खेल थपिएको छ।
सबै खेलमा सहभागिता जनाउने एकमात्र आयोजक राष्ट्र नेपाल हो।