तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिनियाँपछि रुसी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने प्रयास, सैन्य सहकार्यमा मस्कोको चासो
अघिल्लो महिना चिनियाँ राष्ट्रपतिलाई काठमाण्डूमा निम्त्याएको नेपालले अर्को शक्तिराष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण गराउने प्रयास अगाडि बढाएको छ।
मस्कोमा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभसँगको भेटमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले पुटिनलाई पठाएको निम्तो हस्तान्तरण गरेका हुन्।
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य रहेको रुसका प्रधानमन्त्री दिमित्री मेडभेडेभलाई नेपाल भ्रमण गर्न प्रधानमन्त्री केपी ओलीले अलग्गै निम्तो गरेका छन्।
ती निम्ताबारे प्रतिक्रिया दिँदै रुसी विदेशमन्त्री लाभ्रोभले पत्रकार सम्मेलनमा भनेका छन्: "हामी यी आमन्त्रणहरूलाई रचनात्मक रूपमा विचार गर्नेछौँ। हामीले कूटनीतिक माध्यमहरूबाट भ्रमणको मिति तय गर्ने सहमति गरेका छौँ।"
शक्तिराष्ट्रको प्रतिस्पर्धामाझ मस्कोलाई निम्तो
हालैका वर्षहरूमा आफ्ना दुई छिमेकीसहित अन्य देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई आफ्नो देशमा निम्त्याउन नेपालले कूटनीतिक पहलहरू अघि बढाएको छ।
सत्तामा रहेको वामपन्थी सरकारको निम्तोमा २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले अघिल्लो महिना काठमाण्डूको भ्रमण गरेका थिए।
त्यसक्रममा नेपाल र बेइजिङ्गबीच महत्त्वपूर्ण सम्झौताहरू भएका थिए। दुवै देशले द्विपक्षीय सम्बन्धलाई रणनीतिक तहमा लैजाने र नेपालमा रेललगायतका पूर्वाधार निर्माण अघि बढाउन सहमति गरेका थिए।
सन् २०१८ मा नेपाल र अमेरिकाबीच वाशीङटन डिसीमा १७ वर्षपछि परराष्ट्रमन्त्रीको तहमा कुराकानी भएको थियो। त्यतिबेला आफ्नो इन्डो प्यासिफिक रणनीतिमा नेपालले महत्त्वपूर्ण स्थान ओगट्ने धारणा अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको थियो।
कतिपयले लामो सङ्क्रमणकालपछि स्थायी सरकार पाएको नेपालले हालैका वर्षमा आफ्नो कूटनीतिक प्रभाव देखाउन थालेको सूचकका रूपमा यस्ता भ्रमण र भेटघाटलाई अर्थ्याउने गरेका छन्।
नेपालमा उच्चस्तरीय भ्रमणको शृङ्खला सन् २०१४ मा सुरु भएको थियो जतिबेला १७ वर्षको अन्तरालपछि भारतीय प्रधानमन्त्रीले काठमाण्डू भ्रमण गरेका थिए।
त्यसयता नाकाबन्दीसहितका कारणले नेपाल-भारत सम्बन्धमा तीव्र उतारचढाव देखिएपनि प्रधानमन्त्री नरेन्द्र मोदी तीन पटक नेपाल आइसकेका छन्।
नेपालमा शक्तिराष्ट्रहरूको सामरिक प्रतिस्पर्धा बढिरहेको भन्ने टिप्पणीका माझ रुसी नेतृत्वलाई नेपाल भ्रमण गराउने तयारी सरकारले गरेको हो।
ज्ञवालीसँगको भेटमा लाभ्रोभले के भने?
परराष्ट्रमन्त्री ज्ञवालीसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा लाभ्रोभले सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सम्झना गर्दै नेपाल रुसको दक्षिण एशियाकै पुरानो साझेदार भएको बताएका थिए।
उनले ऊर्जा, सुरक्षा र पर्यटनका क्षेत्रमा नेपाल र रुसबीच थप सहकार्य हुन सक्ने बताए।
सुरक्षा सहकार्यको सन्दर्भमा उनले नेपालको उच्च भौगोलिक क्षेत्रमा रुसी उड्ययन क्षेत्रको राम्रो अनुभव रहेको भन्दै रुसी एमआई १७ हेलिकप्टरहरू नेपालमा सञ्चालन भइरहेको उल्लेख गरेका थिए।
नेपाली सेनाले सशस्त्र द्वन्द्वका भएका फौजी कारबाहीदेखि विनाशकारी भूकम्प तथा बाढीजस्ता प्रकोपमा विपद् व्यवस्थापनका कामका लागि सो हेलिकोप्टरको प्रयोग गर्ने गरेको छ।
उनले उड्ययन क्षेत्रमा थप सहकार्यको योजना रहेको पनि बताए।
त्यसपछि उनले सैन्य क्षेत्रमा नेपाल-रुस सहकार्यको प्रसङ्ग निकाले।
उनले भने, "प्राविधिक सैन्य सहकार्यको पनि राम्रो सम्भावना रहेको छ। यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने हामीले निर्णय गरेका छौँ।"
उक्त प्राविधिक सहकार्यको क्षेत्रबारे प्रस्ट खुलाइएको छैन्।
नेपाली सेनाले विगतमा सोभियत सङ्घ हुँदा केही सहकार्य रहेपनि हाल रुससँग कुनै किसिमको रक्षा साझेदारी नभएको जनाएको छ।
हाल नेपाली सेनासँग रहेका चारवटा एमआई १७ हेलिकोप्टरहरू रुससँग प्रत्यक्ष खरिद गरिएका नभई कजखस्तान लगायतका देशबाट खरिद गरिएको बताइन्छ।
यसै साता नेपालका लागि नयाँ रुसी राजदूत एलेक्से ए नोभिकोभले जङ्गी अड्डामा प्रधानसेनापती पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए।
नेपालको परम्परागत साझेदार भारतबाहेक चीन र अमेरिका सहितका शक्तिराष्ट्रहरूले नेपाली सेनासँगको सहकार्य बढाउँदै लगेका बेला मस्कोको भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
रुसी विदेशमन्त्रीले कानून कार्यान्वयन, आप्रवासन, विपद् व्यवस्थापन र नेपाल अनि रुसका टेलिभिजन च्यानलहरूबीच सहकार्य बढाउने विषयबारे पनि सम्झौता गरिने उल्लेख गरे।
अघिल्लो महिना ऊर्जामन्त्री वर्षमान पुन रुसको भ्रमणमा आएको उल्लेख गर्दै लाभ्रोभले नेपाल र मस्कोबीच ठूलो मात्रामा व्यापार नभएपनि जलविद्युत्को क्षेत्रमा संयुक्त रूपमा काम गर्न सकिने सम्भावना रहेको उल्लेख गरेका थिए।
उनले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा रुसका तर्फबाट खेलकुद र संस्कृति हेर्ने निकायका प्रतिनिधिलाई काठमाण्डू पठाउने प्रयास गर्ने पनि बताएका छन्।
अघिल्लो वर्ष ११ हजार रुसी पर्यटकले नेपालको भ्रमण गरेका थिए र नेपाल भ्रमण गर्ने रुसी पर्यटकको सङ्ख्या बढ्दै गइरहेको अधिकारीहरूले बताउने गरेका छन्।
परराष्ट्रमन्त्री ज्ञवाली के भन्छन्?
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा दुई दशकपछि स्थिर सरकार सत्तामा रहेको भन्दै परिवर्तित परिस्थितिमा दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका थिए।
उनले रुसले अन्तर्राष्ट्रिय मामिलामा महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै रुसको ऊर्जासहितका व्यापार र लगानीको क्षेत्रमा सहकार्यको सम्भावना औँल्याएका थिए।
नेपालको विदेश नीतिबारे चर्चा गर्ने क्रममा उनले सीमा जोडिएका छिमेकी भारत र चीनसँगको सम्बन्ध नेपालको प्राथमिकतामा रहेको उनले उल्लेख गरेका थिए।
साथै रुसजस्ता महत्त्वपूर्ण शक्तिराष्ट्र अनि विकास साझेदारहरूलाई पनि नेपालले आफ्नो विदेश नीतिमा प्राथमिकता राखेको मन्त्री ज्ञवालीको भनाइ छ।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले सगरमाथा संवाद नामक रणनीतिक छलफल आयोजना गर्न लागेको भन्दै यसपटक जलवायु परिवर्तनको मुद्दामा उक्त सम्मेलन केन्द्रित हुने जानकारी दिएका थिए।
उनले उक्त कार्यक्रममा रुसबाट उच्च तहको प्रतिनिधित्व हुने अपेक्षा पनि व्यक्त गरेका छन्।
यसअघि सन् २००५ मा शाही शासनका समयमा नेपाल र रुसबीच परराष्ट्रमन्त्रीको तहमा वार्ता भएको थियो।
उक्त वार्तापछि तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालमा चालिएको शाही कदमप्रति मस्कोको समर्थन रहेको धारणा सार्वजनिक गरेका थिए।
तर रुसी विदेश मन्त्रालयले उक्त भेटवार्ताका बारेमा जारी गरेको विज्ञप्तिमा मन्त्री पाण्डेले भनेका ती कुरा नसमेटिएपछि ढाँट्न खोजेको भन्दै मन्त्री पाण्डेको आलोचना भएको थियो।
संयोगले त्यसबेला पनि लाभ्रोभ नै रुसी विदेशमन्त्री रहेका थिए।
त्यसभन्दा अघि सन् १९९१ मा नेपाली परराष्ट्रमन्त्रीले रुसको औपचारिक भ्रमण गरेको रुसी विदेश मन्त्रालयको भनाइ छ।