श्रीलङ्काको सत्तामा राजपक्ष दाजुभाइको पुनरुदय

श्रीलङ्कामा गोटाबय राजपक्षले तमिल गृहयुद्धलाई विवादास्पद रूपबाट अन्त्य गराउने कामको नेतृत्व गर्ने आफ्ना दाजु पूर्वराष्ट्रपति महिन्दा राजपक्षलाई प्रधानमन्त्रीको शपथ गराएका छन्।

दश वर्षअघि देशको गृहयुद्ध अन्त्य हुनेगरी बर्बर कारबाहीहरू गरिँदा नवनिर्वाचित राष्ट्रपति गोटाबय राजपक्ष रक्षामन्त्री थिए।

राष्ट्रपतिमा निर्वाचित भएपछि गोटाबय राजपक्षविरुद्ध लागेका भ्रष्टाचारका सबै अभियोगहरू फिर्ता गरिएको छ।

राष्ट्रपतिलाई प्राप्त हुने कानुनी उन्मुक्तिका कारण ती अभियोग फिर्ता गरिएको बताइएको छ।

विगत

यसअघिको सरकारले स्थापना गरेको विशेष उच्च अदालतमा गोटाबय राजपक्षलाई राज्यकोषको दुरुपयोग गरेर सङ्ग्रहालय तथा आफ्ना मातापिताको स्मारक बनाएको अभियोग लगाइएको थियो।

विगतमा खोसिएको उनको राहदानी पनि न्यायाधीशहरूले फिर्ता गरेका छन्।

दुवै दाजुभाइलाई विगतमा महिन्दा राजपक्षको राष्ट्रपतिकालमा तमिल विद्रोहीविरुद्ध हासिल भएको सैनिक विजयको श्रेय दिने गरिन्छ।

उक्त विद्रोहलाई १० वर्षअघि बर्बर सैनिक कारबाही गरी अन्त्य गरिएको आरोप पनि उनीहरूलाई लाग्ने गर्छ।

चिन्ता

मानवअधिकारवादी समूहहरूले उनीहरूको पुनरुदयबारे चिन्ता व्यक्त गरेका छन्।

ती समूहले विगतमा राजपक्ष दाजुभाइ सत्तामा हुँदा भएका व्यापक मानवअधिकार हननका घटनाको अभिलेखीकरण गरिएको बताउँदै आएका छन्।

महिन्दा राजपक्ष सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काका राष्ट्रपति रहेका बेला उनका भाइ गोटाबय रक्षा प्रमुख थिए।

दुवै जनाले कुनै गल्ती नगरेको बताउने गरेका छन्।

निर्वाचन

इसाई धर्मावलम्बीको इस्टर पर्वका बेला श्रीलङ्कामा शृङ्खलाबद्ध बम विस्फोटन भएपछि पहिलो पटक निर्वाचन भएको हो।

इस्लामिक स्टेटसँग सम्बद्ध अतिवादीहरूले गत एप्रिल महिनामा केही गिर्जाघर र विलासी होटलहरूमा विस्फोट गराउँदा २५० जनाको ज्यान गएको थियो।

आइतवार सम्पन्न निर्वाचनमा महिन्दा राजपक्ष आफैँ उठ्न पाएका थिएनन्।

श्रीलङ्काको संविधानअनुसार एक व्यक्ति दुई कार्यकालका लागि मात्र राष्ट्रपति बन्न पाउँछन्। महिन्दा राजपक्ष दुई चोटि राष्ट्रपति भइसकेका थिए।

अहिले भएको निर्वाचनलाई विभाजनकारी मानिएको थियो। तर गोटाबय राजपक्षले सजिलै बहुमत प्राप्त गरे।

उनले खासगरी बहुसङ्ख्यक सिंहाला बौद्धमार्गीहरूको मत पाएका थिए।

तर श्रीलङ्काका उत्तर तथा पूर्वी प्रान्तहरूमा उनलाई अधिकांशले मत दिएनन्।

ती क्षेत्रमा तमिल हिन्दू तथा मुसलमान समुदायको बसोबास छ।