तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्प महाभियोग: शक्ति दुरुपयोग गरेको आरोपमा अनुसन्धान गर्न पहिलो पटक सार्वजनिक सुनुवाइ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको छ।
उनीमाथि आउँदो वर्ष पुन: निर्वाचित हुने सम्भावना बढाउन युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोप छ।
ट्रम्पले भने त्यसलाई अस्वीकार गरेका छन्।
अहिलेसम्म गोप्य रूपमा राखिएका सबै प्रमाणहरू अब प्रत्यक्ष रूपमा प्रसारण गरिनेछन्।
बयान दिने पहिलो व्यक्ति युक्रेनस्थित कार्यवाहक अमेरिकी राजदूत बिल टेलर छन्।
बीबीसीका उत्तर अमेरिका सम्पादक जोन सोपेल भन्छन्, "अहिलेसम्म यो क्यापिटल हिलको भवनभित्र गोप्य रूपमा सञ्चालन गरिएको प्रक्रिया थियो। आज यो सुनुवाइ सार्वजनिक प्रक्रिया भएको छ।"
बन्द कोठाको सुनुवाइमा टेलरले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडन र उनका छोराविरुद्ध कियभले भ्रष्टाचारसम्बन्धी अनुसन्धान सुरु नगर्दासम्मको लागि युक्रेनलाई दिने अमेरिकी सहयोग रोकेको बताएका थिए।
अमेरिकी डेमोक्र्याटहरूले उनी र अन्य प्रत्यक्षदर्शीहरूले सार्वजनिक रूपमा आरोपहरू दोहर्याउने आशा गरेका छन्।
यसअघि के भयो?
रिपब्लिकन र डेमोक्र्याट दुवै पक्षले यो प्रक्रियाभरि उत्तेजक भाषा प्रयोग गर्दै आएका छन्।
रिपब्लिकनहरूले ट्रम्पले कार्यभार सम्हालेकै दिनदेखि उनलाई 'कू' गर्ने प्रयास गरेको आरोप डेमोक्र्याटहरूमाथि लगाएका छन्।
संसद्को तल्लो सदनको जासुसीसम्बन्धी समितिका अध्यक्ष डेमोक्र्याटिक नेता एडम शिफले यसअघि ट्रम्पले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीबीचको फोन संवादलाई 'परम्परागत गुन्डाहरूबीच भएको कुराकानी'को सङ्ज्ञा दिएका थिए।
सुनुवाइमा संलग्न उक्त समितिका रिपब्लिकन सदस्य एरिक साल्वेलले मङ्गलवार त्यस्तै भाषा प्रयोग गरे।
उनले भने - प्रत्यक्षदर्शीहरूका निम्ति अमेरिकी जनताअगाडि प्रस्तुत हुने र उनीहरूको यो धन्दामा जे देखियो त्यो सबैलाई भन्ने बेला आएको छ।
महाभियोग कति टाढा?
महाभियोग कंग्रेसले राष्ट्रपतिलाई पदबाट हटाउन सक्ने दुईवटा राजनीतिक प्रक्रियाको पहिलो भाग हो।
यदि तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरेमा त्यसमा माथिल्लो सदनले सुनुवाइ गर्नुपर्ने बाध्यता हुनेछ।
तर माथिल्लो सदनमा त्यो पारित गर्न दुईतिहाइ बहुमत आवश्यक पर्नेछ।
यो मुद्दामा ट्रम्पको दलको पकड रहेको उक्त सदनबाट त्यो पारित हुने सम्भावना कमजोर देखिन्छ।
केवल दुई राष्ट्रपतिलाई अमेरिकाको इतिहासमा महाभियोग लगाइएको थियो।
तर दुवै जनाविरुद्ध न अभियोग पुष्टि भयो न उनीहरू पदमुक्त भए।