नारुहितो: जापानका सम्राटको औपचारिक राजगद्दी आरोहण सम्पन्न

नारुहितो

तस्बिर स्रोत, Reuters

जापानका सम्राट नारुहितोले एउटा भव्य समारोहका बीच राजगद्दी आरोहण गरेका छन्।

उनका पिता अकिहितोले राजगद्दी परित्याग गरेपछि ५९ वर्षीय नारुहितो मे महिनामा जापानको सम्राट बनेका थिए।

पूर्वसम्राट अकिहितो पनि आफ्ना छोराको राजगद्दी आरोहण समारोहमा उपस्थित थिए।

विभिन्न परम्परागत विधि सम्पन्न भएपछि बल्ल उनले औपचारिक रूपमा राजगद्दी आरोहण गरेका हुन्।

जापानमा भर्खरै समुद्री आँधी हगिबिसका कारण धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरियो। हगिबिसका कारण जापानमा झन्डै ८० जनाको मृत्यु भएको थियो।

सम्राटहरूले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बसेका थिए। त्यहाँबाट उनले एउटा लिखित मन्तव्य वाचन गरे।

"राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिन्छु," समाचार संस्था रोएटर्सले उनलाई उद्धृत गरेको छ।

जापानका सम्राट

तस्बिर स्रोत, Reuters

सो अवसरमा उनकी पत्नी साम्राज्ञी मासाको सँगै रहेको अर्को आसनमा बसेकी थिइन्। उनले १२ पत्र भएको वस्त्र लगाएको बताइन्छ।

साम्राज्ञी

तस्बिर स्रोत, Reuters

प्रधानमन्त्री शिन्जो आबेले सम्राटलाई बधाई ज्ञापन गर्दै सम्बोधन गरेका थिए।

त्यसपछि उनको नेतृत्वमा उपस्थित मानिसहरूले "बान्जाई!" अर्थात् "सम्राट चिरायु रहून्!" भन्दै नारा लगाएका थिए।

"बान्जाई!"

तस्बिर स्रोत, Reuters

उक्त विशेष समारोहमा जापानको राजकीय शक्तिको सङ्केतका रूपमा लिइने प्राचीन तरबार र रत्न पनि राखिएको थियो।

उक्त समारोहमा यूकेका राजकुमार चार्ल्स तथा अन्य गन्यमान्य व्यक्ति पनि उपस्थित छन्।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि जापानी सम्राटको राजगद्दी आरोहण समारोहमा सहाभागी हुन जापान गएकी छन्।

सम्राटले विदेशबाट आएका शाही प्रतिनिधिहरूका लागि चियापान आयोजना गर्दैछन्।

प्रधानमन्त्रीले सबै अतिथिहरूका लागि रात्रिभोज आयोजना गरेका छन्।

पूर्वसम्राट अकिहितो पनि आफ्ना छोराको राजगद्दी आरोहण समारोहमा उपस्थित थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पूर्वसम्राट अकिहितो पनि आफ्ना छोराको राजगद्दी आरोहण समारोहमा उपस्थित थिए

जापानमा संवैधानिक राजतन्त्र छ र सम्राटको भूमिका प्राय: आलङ्कारिक हुन्छ।

उनले नागरिकहरूसँग अन्तर्क्रिया गर्ने तथा विदेशी पाहुनासँग भेट गर्ने गर्छन्।

राजदरबारमा आइपुग्दै सम्राट नारुहितो

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, राजदरबारमा आइपुग्दै सम्राट नारुहितो
नारुहितोका भाइ युवराज आकिशिनो र युवराज्ञी किको समारोह स्थलमा आइपुग्दै

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, नारुहितोका भाइ युवराज आकिशिनो र युवराज्ञी किको समारोह स्थलमा आइपुग्दै